पेस्तोलसहित दुई जना पक्राउ

  नयाँ बुलन्द
112 Shares

पथरी : सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मोरङको कानेपोखरी गाउँपालिका–६ शिवालय चोकबाट पेस्तोलसहित दुई जनालाई मंगलबार राति पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी चौकी रमाइलोको संयुक्त टोलीले राति ११.१५ बजेतिर ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार क्षेत्रीले आफ्नै घरभित्र लुकाइछिपाई राखेको अवस्थामा पेस्तोल फेला परेको थियो ।

घरभित्रै पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली पुगेको थियो । पौडेलले घरमा छापा मार्ने क्रममा मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको जानकारी दिए । क्षेत्रीले दिएको बयानका आधारमा प्रहरीले स्थानीय ३० वर्षीय पूर्णबहादुर बोहोरालाई पनि बिहानका राति १ बजेतिर पक्राउ गरेको छ । तर हतियारसँग जोडिएको क्षेत्री र बोहोराबीचको सम्बन्धका बारेमा भने प्रहरीले केही खुलाएको छैन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पक्राउ गरिएका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको बताए । उनका अनुसार हतियार कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने बारेमा अनुसन्धानपछि मात्रै थप खुल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार