दर्शक र श्रोताको खोजीमा रहेकी चर्चित गायिका विष्णु माझी कहाँ छिन् त यतिबेला ?

  नयाँ बुलन्द  271 पटक हेरिएको

 

इलाम : रातो साडी लगाएकी युवती। आँखाभरि आँसु बनाएर रोइरहेकी छन्। आँसु पुछ्दै दुवै हातको नाडीलाई बाँधेझैं गरेर खोल्छिन्। फेरि सुकसुकाउँदै हाउभाउ गर्छिन्।

जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेँसी मेलैमा।

एक हप्ता अगाडि ‘सपना म्युजिक इन्ड्रस्ट्रिज’ युट्युब च्यानलमार्फत् आएको यो गीत टिकटकमा भाइरल छ। सरल र सरस लाग्ने यो गीतको मेलोडीमा नयाँ पुस्ताका युवायुवतीले स्वरमा स्वर मिलाइरहेका छन्:-

साँच्ची आमा ढाँट्या छैन

तिम्रो वचन काट्या छैन।

जेलैमा हो जेलैमा चरी जेलैमा

मै छोरी रुँदैरुँदै बेँसी मेलैमा

गीतमा बिहे गरेर गएकी छोरीले माइतीलाई सम्झिएकी छे। जस्तै पीडा हुँदा पनि आफ्नी आमाको वचन नकाटेको तर विवाहपछि युवतीले भोग्नुपरेको कथाको सन्दर्भ गीतमा जोडिएको छ।

के समाज आज पनि यस्तै छ? छैन, भन्न पनि सकिन्न। किनकि नयाँ पुस्ताका युवती यस्तो दु:खान्त गीतमा टिकटक बनाउन हिच्किचाएका छैनन्। चेलीको वेदनाले भरिएको यस गीतमा अभिनय गर्दै टिकटक बनाउनेहरू अहिले गीतकी गायिका विष्णु माझीलाई खोजिरहेका छन्।

फ्यानले विष्णुलाई सार्वजनिक हुन अनुरोध गरेका छन्। तर उनी लापत्ता छिन्। डेढ दशकदेखि हराएझैं लाग्ने गायिका माझीको गीत जब बजारमा आउँछ बेग्लै चर्चा हुन्छ। उसो त, उनैले गाएको गीत ‘सालको पात टपरी…’ ७ करोडभन्दा बढी पटक युट्युबमा हेरिसकिएको छ।

सालको पात टपरी… बोलको गीत आएपछि मिडियाले माझीलाई धेरैपटक खोज्यो। उनको बारेमा जान्न खोज्यो। न त उनी मिडियामा आइन्, न त उनी सार्वजनिक कार्यक्रममा देखा परिन्। चरी जेलैमा… बोलको गीत सार्वजनिक भएँसँगै उनलाई खोज्नेको भीड झन् ठूलो बनेको छ। दर्शक/श्रोता उनलाई बाहिर आउन अनुरोध गरिराखेकै छन्।

प्रायः झी घरबाट बाहिर निस्किँदा कालो रङको कुर्तासुरुवाल लगाएर टाउको, नाक, मुखलाई पनि कालो मजेत्रोले छोप्छिन्। उनी घरबाट निस्किनु भनेको स्टुडियो पुग्नु हो। स्टुडियोमा पुगेपछि अन्य मानिससँग त्यति खुल्दिनन्। स्टुडियोभित्र पसेपछि मात्रै मुखमा बाँधेको मजेत्रो खोल्छिन्। र गीत गाइसकेर उनी फर्किन्छिन्। गीत गाएर फर्किने ठाउँ उनको घरै हुन्छ। उनी राजधानीको कुन ठाउँमा बस्छिन् भन्ने कुरा धेरै कमलाई थाहा छ।

माझी अहिलेसम्म सार्वजनिक स्टेजका कार्यक्रममा सहभागी भएकी छैनन्। राजधानीमै हुने कार्यक्रममा पनि उनको सहभागिता हुन्न।
आफ्ना गीतमा विष्णु माझीको स्वर खोज्नेहरूले कल गर्छन्। तर उनका श्रीमान् बोल्छन्। उनैले ‘डिल’ गर्छन्। कुन स्टुडियो, कति पैसा, कति बजे सबै सुन्दरले तय गर्छन्।

विष्णु माझीसँग यस्तै दर्जनौं गीत गाएका छन् गायक राजु परियारले। तर परियारले खुलेर कुरा गर्ने मौका नपाएको बताए। भन्छन्, ‘उनको निजी जीवनका बारेमा खासै बोल्ने कुरा हुँदैन। सामान्य कुराकानी चाहिँ हुन्छ।’

एकाध गीत हिट हुनेबित्तिकै स्टेज कार्यक्रममा भ्याइनभ्याइ हुन्छ। देशविदेशमा हुने कार्यक्रमको निम्तो आउँछ। राम्रै पैसा पनि दिन्छन्। तर माझी अहिलेसम्म कुनै त्यस्तो कार्यक्रममा सहभागी भएकी छैनन्। राजधानीमै हुने कार्यक्रममा पनि उनको सहभागिता हुन्न।

डेढ दशकदेखि यसरी नै बिताउँदै आएकी माझीले गाएका गीतको कभर पोस्टरमा उनको एउटै फोटो देखिन्छ। त्यो त्यही फोटो हो जो १५ वर्षअगाडि प्रयोग गरिन्थ्यो। गोलो घेराभित्र पासपोर्ट साइजको झैं लाग्ने त्यो फोटोबाहेक अरू फोटो नदेखिँदा हरेकलाई कौतहुल लाग्छ। विकिपिडियामा पनि यही एउटा फोटो मात्रै भेटिन्छ।

मानिसहरू अहिले छिनछिनमा आफ्नो फोटो खिच्छन्। सामाजिक सञ्जालमा अपलोड गर्छन्। सेल्फी खिच्छन् र पोस्टरमा स्टाइलिस फोटो राख्छन्। तर माझीले डेढ दशकदेखि एउटै फोटो प्रयोग गरिनुले बुझिन्छ- उनी फोटो खिचाउँदिनन्, या त खिच्न मनाही छ। उनी मोबाइल चलाउँदिनन्, या त चलाउन प्रतिबन्ध छ। उनी सामाजिक सञ्जाल चलाउँदिनन्, या त चलाउन रोक छ।

चर्चित गायिकालाई यति गुपचुप बस्नुपर्ने कारण के होला भन्ने प्रश्न सबैको मनमा छ। दिनप्रतिदिन माझी रहस्यमय बन्दै जानुको कारण धेरैलाई उनको श्रीमान् हुन् कि भन्ने पनि शंका छ।

विष्णुकै श्रीमान् गायक सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीत हो, ‘चरी जेलैमा…’। गीतमा चेलीको वास्तविक वेदना लुकाउन खोजिएको छ। र सहरमा हल्ला छ, माझीलाई उनकै श्रीमानले बन्धक बनाएर राखेको। तर यो कति सत्य हो आजसम्म रहस्यमै छ।

ज्वाइँको लात्ती छोकी छैन।

धरोधर्म रोकी छैन।

जेलैमा हो जेलैमा चरी जेलैमा

मै छोरी रुँदैरुँदै बेँसी मेलैमा

पर्दापछाडि लुकेझैं लाग्ने माझीले श्रीमानको कमजोरी पनि गीतमार्फत् बताउँछिन्। माइतीको सुख सम्झिँदै श्रीमानको घरमा पाएको दुःखलाई लुकाउन खोजेकी छिन्। गीत सुन्दै गर्दा सुन्दरमणिले माझीका भावनालाई जस्ताको तस्तै उतारेझैं लाग्छ।

सुन्दरमणि आफैंमा प्रतिभावान् गायक हुन्। लोकगीतमा करियर बनाउन हिँडेका सुन्दर पोखराबासी अधिकारी र माझीबीच भेट भयो २०६१ सालको पाल्पा महोत्सवमा। जहाँ लोकदोहोरी गीत प्रतियोगिता थियो। माझीले र अधिकारीले पनि भाग लिएका थिए।सुन्दरसँग भेटपछि गरिब परिवारमा जन्मिएकी माझीको करियरको गतिले नयाँ रूप लियो। माझीको स्वरमा मुग्ध भएका अधिकारीले आफ्नै गृहनगरमा हुने लेखनाथ महोत्सवमा एक हप्ताका लागि विष्णुलाई लिएर गए। त्यस प्रतियोगितामा सुन्दर र विष्णुको जोडीले प्रथम स्थान हासिल गर्‍यो।

यो सफलतापछि उनीहरुको यात्रा सँगसँगैजस्तो भयो। निरन्तर संगतपछि विष्णु र सुन्दर झन्डै ९ वर्षजति ‘लिभ इन रिलेसन’मा बसे। अन्तिममा दुवैले २०६९ साल मंसिरमा विवाह गरेका थिए। लेकसाइडमा भएको त्यो विवाहको कुनै पनि तस्बिर आजसम्म बाहिरिएको छैन। ‘मन परापर भएर बिहे भएको थियो भने यो जोडी किन सार्वजनिक रुपमा देखिन डराइरहेको छ त?’ धेरैको प्रश्न हो यो।

विवाहपछि पनि लोकदोहोरी क्षेत्रमा दुवैको सक्रियता जारी थियो। जसका कारण गायक सुन्दरमणि भन्दा माझीले बढी चर्चा बटुल्न थालिन्। उनको गायिकीले दर्शकलाई तान्यो। उनलाई धेरैभन्दा धेरै गीत रेकर्डका लागि अफर आउन थाल्यो। दिनमै पाँचभन्दा बढी गीत गाउन थाल्दै गएपछि चर्चित गायिका बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, सिर्जना विरही थापा, शर्मिला गुरुङजस्ता गायिकाको विकल्प माझी हुँदै गइन्।

जब विष्णुले सस्तो मूल्यमा गीत गाउन थालिन्, लोकदोहोरी गीतका लागि उनैलाई सम्झिनेहरू बढ्दै गए। तर गीत गाउनका लागि स्टुडियोमा पुगे पनि सार्वजनिक कार्यक्रममा भने उनी सहभागी भइनन्।

२०६४ सालबाट उनी ‘हिट’ भइन्। त्यसपछि उनी अझ व्यस्त भइन्। उनको गायकीको चौतर्फी चर्चा र खोजी एकैपटक चुलियो। माझीको सफलतासँगै दिनप्रतिदिन ‘डिमान्ड रेट’ पनि बढ्दै गयो। उनी महँगी गायिका हुँदै गइन्। सायद अहिले बजारमा सबैभन्दा बढी रेट उनैको छ।

गायकीले शिखरमा पुर्‍याए पनि गायिका माझी देखिन भने सकेकी छैनन्। न त उनलाई गायकगायिकाले नै भेट्न पाएका छन्। माझी सार्वजनिक हुन नचाहनुको कारण सुन्दरमणि हुन् भन्ने ठोस प्रमाण छैन। कलाकर्मीहरू पनि सुन्दरलाई शंका गर्दैनन्। उनीहरुसँग सुन्दरको राम्रै सम्बन्ध छ। तर चर्चित गायिकालाई भने किन साथमा ल्याउँदैनन् भन्ने प्रश्न मुखले नगरेपनि मनमनै सोधिरहेका हुन्छन्।

केही संगीतकर्मीहरु विष्णु माझी र सुन्दरमणिको सम्बन्धलाई लिएर बोल्न चाहँदैनन्। उनै राजु भन्छन्, ‘कामका कुरा हुँदा बोलचाल हुन्छ। बाहिर किन खुल्नुहुन्न त्यो त थाहा भएन।’ सुन्दरमणि खराब स्वभावको हो भन्नेहरु पनि छैनन्। सबैले असल रहेको प्रतिक्रिया दिन्छन्।

लोकदोहोरी प्रतिष्ठानका पूर्वअध्यक्ष तथा चर्चित लोकगायक बद्री पंगेनीसँग पनि विष्णुको विषयमा प्रश्न राख्दा ‘कसैको निजी जिन्दगीमाथि जबरजस्ती हस्तक्षेप गर्न नमिल्ने’ प्रतिक्रिया दिए।

‘सपना म्युजिक प्रालि’ नाम राखेर स्टुडियो चलाउँदै आएका अधिकारी आफू सार्वजनिक कार्यक्रममा देखिए पनि माझीलाई सँगै ल्याएको पाइँदैन। म्युजिक भिडियोसमेत खेलेका अधिकारीले आखिर के कारणले विष्णुलाई सार्वजनिक कार्यक्रममा ल्याउँदैनन् भन्ने जिज्ञासा धेरै कलाकर्मीमा छ।

हुन त अधिकारी आफ्ना सम्बन्धका विषयमा खुल्दैनन्। खुल्न पनि चाहँदैनन्। न मिडियामा बताउँछन्। फेसबुकमा उनले गीतको भिडियोको लिंकबाहेक आफ्नो र विष्णुको संयुक्त फोटो आजसम्म राखेका छैनन्। संगीतकर्मीकै बीचमा हल्ला छ– सुन्दरमणि मिडियामैत्री छैनन्।

यो मन रुन्न होला र…, कसलाई सोध्ने होला…, लालु पाते नुघ्यो भुइँतिर…, न जाउँ है सानु पँधेरीमा.., रुमाल हल्लाई हल्लाई…, सालको पात टपरी…, तिम्रो जति माया त लालुमै… जस्ता सयौ‌ँ हिट गीत गाएकी तथा हजारौँको गीतमा स्वर दिएकी माझी स्याङ्जाको चापाकोटमा जन्मिएकी हुन्। अहिले पनि उनका परिवार चापाकोट नगरपालिकामा छ।

गुमनाम भएको चर्चा चुलिएपछि तीन वर्षअगाडि २०७५ मा विष्णु माझी अचानक स्याङ्जाको जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। त्यहाँ जाँदा उनले कुर्तासुरुवाल लगाएकी थिइन्। कालो पछ्यौराले मुख छोपेर पुगेकी थिइन्। साथमा थिए, उनका बुवा ताराबहादुर माझी र स्याङ्जाका एसपी राजकुमार लम्साल। लम्सालकै सक्रियतामा जिप्रका पुर्‍याइएको थियो माझीलाई।

टाउकोमा पछ्यौरा, मुखका मास्क, ओभर कोट र कम्मरदेखि खुट्टासम्म छोपिएको लामो स्कर्ट लगाएर कार्यालयभित्र पुगेपछि मात्र माझीले मास्क खोलेर बोलेको तत्कालीन प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिएका थिए।

निरौलाले चर्चित गायिका किन गुमनाम रहेको भनेर जिज्ञासा राखेका थिए। माझीले आफ्नो इच्छा नै त्यस्तो रहेको बताएकी थिइन्।अप्ठ्यारो परेको खण्डमा माझी स्वयंले सम्बन्धित निकाय झकझकाउनुपर्थ्यो। तर उनले आफूखुसी नै सार्वजनिक हुन नचाहेको कुरा सुनाउँदै आएकी छन्।

माझीलाई उद्धृत गर्दै निरौलाले भने, ‘बाहिरी हल्लाजस्तो मेरो भोगाइ होइन। आजसम्म सुन्दरमणिले नै मलाई यहाँसम्म पुर्‍याउनुभएको हो। म बन्धक छैन। मेरो इच्छा नै सार्वजनिक हुन नचाहने हो।’

डेढ घण्टा जति भएको छलफलमा विष्णु माझीको परिवारसहित प्रजिअ निरौला, प्रहरी उपरीक्षक लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहित थिए।

गाउँ कि केटी सहरमै

दियौ बाबा रहरमै..

जेलैमा हो जेलैमा चरी जेलैमा

मै छोरी रुँदैरुँदै बेसी मेलैमा

यी शब्दले भनेझै विष्णु माझीको जिन्दगी सहरमय हुन सकेको छैन। सहरमा त उनी बस्छिन्। तर ठेगनाविहीन। उनी सहरमा बसेको महसुस उनका गीतले लिएर आउँछन्। तर उनी आउँदिनन् सहरको कुनै सार्वजनिक कार्यक्रममा।

विष्णुका बुबा ताराबहादुर माझीले नदेखेको पनि डेढ दशक भएको एक पत्रिकामा बताएका छन्। न उनले फोन सम्पर्क नै गर्न पाएका छन्। माइती परिवारका सदस्यबाटै लामो समयदेखि टाढिँदै आएकी माझीले यस्तो गीत गाइन् जहाँ माइतकै सम्झना गरिएको छ– जेलैमा हो जेलैमा।

चौतर्फी स्वतन्त्रताको नारा लागेको छ। सबैलाई आफ्नो इच्छापूर्वक बाँच्ने अधिकार छ। तर यो कस्तो इच्छा हो– गायिका माझीले लुकीलुकी गीत गाउनुपर्ने, सार्वजनिक कार्यक्रममा देखिन नमान्ने, कसैसँग फोटो खिच्न नमान्ने, मिडियामा बोल्न नमान्ने, आफ्नै सहकर्मी साथीसँग लामो समय गफिन नमिल्ने? आज दर्शक प्रश्न गरिरहेका छन्। हो, गायिका माझीलाई दर्शक खोजिरहेका छन्।नेपाल समय डटकम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार