कालीगण्डकी बचाऔँ अभियानको अनुरोध : ‘नदी सप्तक’ कविता शृङ्खलाका लागि आह्वान

  नयाँ बुलन्द  216 पटक हेरिएको

 

इलाम : दुर्लभ शालिग्राम पाइने विश्वकै एकमात्र यो नदीसँग हिन्दु धर्मालम्बीकालागि अत्यन्तै ठूलो सांस्कृतिक महत्व रहेको छ ।

यो नदी क्षेत्र नित्य स्नानदेखि पूजा पाठ, दाहसंस्कार, तर्पण र श्राद्घ गर्न अत्यन्तै पवित्र मानिन्छ । किनारामा मुक्तिनाथदेखि देवघाटसम्मका दर्जनौ पवित्र धार्मिक स्थल छन्, जहाँको एक पटक दर्शन गर्न वा पूजापाठ गर्न हजारौं धर्वालम्बी लालयित छन् ।

कालीगण्डकी नदी हाम्रो जीवन हो, प्रकृति हो, सम्पदा हो र अस्था हो ।
मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, पाल्पा, तनहूँ आदि हुँदै बग्ने कालीगण्डकी नदी नेपालको पुराना सभ्यता मध्येको एक सभ्यता बोकेको नदी हो । कालीगण्डकी हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, ज्ञान,भाषा, मूल्य, चलन,एकता,जिविका, सांस्कृतिक विस्तार, मनोरन्जन, सुखदुःखको साझेदार नदी हो ।

तिब्बतको सीमादेखि बग्दै आउने कालीगण्डकी केवल समुन्द्र छुनको लागि बग्दैन । आफू बग्दै गर्दा तल्लो तटिय क्षेत्रको पर्यावरणलाई सन्तुलित गर्ने,मध्यतराईलाई सुख्खा हुनबाट बचाउने, कालिगण्डकीमै आश्रय लिएर हजारौं वर्षदेखि बाँचिरहेका तटिय क्षेत्रका लाखौं जीवनलाई बाँच्न सहज बनाउने जिम्मेवारीसमेत बोकेर बग्दछ ।

 

केही वर्षयता पर्यावरणीय सन्तुलन नै खलबलिने गरी नदीको तिब्र दोहन भइरहेको छ । सरकारले यसलाई नदेखे झैं त गरिरहेकै थियो । अब अझ नदीको पानी नै अर्कोतिर मोड्ने परियोजना अघि सारेको छ। सरकारलाई केवल सुरुङ खन्नु छ । पानीको प्राकृतिक बाटोलाई बिथोल्नु छ । पारिस्थितिक प्रणालीलाई बिगार्नु छ ।

कुनै वैज्ञानिक अध्ययन/अनुसन्धान बिना नै सुरु गरिएको प्रलयकारी कालीगण्डकी डाइभर्सन योजना र विगत केही दशकदेखि कालीगण्डकीको आँत र गर्वमा नै असर गर्ने गरी गरिएको गैरकानुनी दोहन यसैको परिणाम हो । कालिगण्डकी डाइभर्सनद्वारा राखिएको सिचाइ एवम् विद्युत उत्पादनको लक्ष्य स्थानीय पानीको श्रोतबाट समेत पूरा गर्न सकिने सुझाव विज्ञहरुले दिइरहँदा सरकारले डाइभर्सनकै ढिपी कस्नु कालिगण्डकीमाथिको कुदृष्टि बाहेक केही होइन । यो परियोजनाले कालीगण्डकीमा निर्भर जीवन, परियोजनास्थल भन्दा तल्लो क्षेत्रमा जमिनमुनिको पानीको भण्डारण रित्तिने, जैविक विविधतामा संकट ल्याउने र धार्मिक स्थलहरुलाई संकटमा पार्ने काम गर्छ ।

कालिगण्डकीको मर्म, आस्था र सभ्यतालाई जोगाउन, प्राकृतिक प्रणाली रक्षा गर्न र नदीलाई आफ्नै बाटोमा बग्न दिन अब कवि/लेखकले आफ्नो कलम मार्फत शाशकलाई झक्झकाउनु पर्ने बेला आएको छ । यसकारण ‘कालिगण्डकी संरक्षण अभियान’मा यहाँले कालीगण्डकीले ओगटेका विविध विषय शिर्षकमा आफ्नो छोटो कविता (१५ देखि २० लाइनको) मार्फत एक्यवद्धता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । प्राप्त कविता हाललाई डिजिटल कन्टेन(पोस्टर कविता)का रुपमा फेसबुकमा पोस्ट गरिने छ ।

अनुरोधक-
कालीगण्डकी बचाऔँ अभियान

कविता हप्ता दिनभित्र निम्न ठेगानामा पठाउनु होला : savekaligandakiriver@gmail.com

(पुनश्च: हामीलाई प्राप्त कविताहरू मध्ये उत्कृष्ट कविता छनोट गरि पछि ‘नदी सप्तक’ कवितासङ्ग्रह प्रकाशन गरिनेछ ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार