डम्बर कुमारीको काँक्रा बेचेर पैसा कमाउने सपना अधुरो

  पदम सुखी सम्बाहाम्फे
756 Shares

 

पाँचथर : कुम्मायक गाउँपालिका वडा नम्बर ५ स्थित लोरिप्पाकी डम्बर कुमारी पाण्डेको काँक्रा बेचेर पैसा कमाउने सपना अधुरो भएको भएको छ ।

उनका श्रीमान् प्रेमबहादुर पाण्डेले भारतबाट गत फागुनमा बेमौसमी बीउ ल्याएर आफ्नो बारीमा रोपेको काँक्रा अहिले धमाधम फल्न थालेको तर बजार बन्द हुँदा बिक्री हुन नसकेको बताउँछिन् ।

लगभग सात रोपनी जग्गामा एक दशक अघिदेखि तरकारी खेती गर्दै आएकी उनी कोदो,मकै र अन्य खेती भन्दा फलफूल र साग सब्जी तरकारीबाटै मनग्य आम्दानी हुने गरेको अनुभव सुनाउँछिन् । आजभोलि करिब पाँच सय किलोग्राम भन्दा बढी उत्पादन भइरहेको केहि काँक्रा गाउँमै सस्तो मुल्यमा बेचिरहेको उनको भनाइ छ । एक सय रुपैया प्रति किलोग्राम बिक्री हुने काँक्रा समयमा बिक्रि गर्न नपाउँदा बोटैमा कुहिने चिन्तामा छिन् । उनको बारीमा उत्पादन भएको काँक्रा बिक्रि हुने हो भने ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी हुने अन्दाज गरेकी छिन् ।

बेमौसमी सब्जीखेतीसंगै अदुवा,लसुन,प्याज, टमाटर,खुर्सानी लगायतका खेती गरेर बेचेको पैसाले आफ्नो छोराछोरीको पढाई खर्च पुग्ने र घर व्यवहार टरेको उनले बताइन् । योसंगै बारीमा सुन्तला,कागती,अम्बा,रुद्राक्ष,स्याउ,नस्पाती तथा विभिन्न जातका फलफूलका बोटबिरुवामा पनि फल लाग्न थालेको छ । थोरै जग्गा भएपनि माछा पालन देखि लिएर उन्नत जातका गाईबस्तु र बोटबिरुवा लगाएर परिश्रम गरिरहेकी उनी कृषि ज्ञान केन्द्र तथा कुनै प्राविधिकसँग पनि परामर्श नलिएको बताइन् ।
मेहनतले उर्जाशिल बनेकी डम्बरकुमारी गाउँकै एक उदाहरणिय महिलाको रूपमा परिचित छिन् । परिश्रमको फल बजारमा बिक्री गर्न नपाउँदा गुनासो भएता पनि आम्दानी त अर्को साल पनि गर्न सकिन्छ । अहिले महामारीबाट बच्नुपर्ने नै मुख्य कुरा हो । त्यसैले चित्त बुझाएर बसेको बताइन् । उनको जस्तै धेरै किसानलाई अहिले यस्तै समस्याले चिन्तित बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार