दूध खपत ६० प्रतिशतले घट्यो

  नयाँ बुलन्द
42 Shares

दूध खपत ६० प्रतिशतले घट्यो, तीन अर्बको दुग्धजन्य पदार्थ थन्कियो

काठमाडौं । अघिल्लो पटकको कोरोनाका कारण संकटमा परेको डेरी उद्योग लय समात्न नपाउँदै दोस्रो पटकको कोरोनाको चपेटामा परेको छ । डेरी उद्यमीमा कोरोनाको दोस्रो लहर फैलिएसँगै आफूसँगै दुग्ध क्षेत्रलाई पनि बचाउनुपर्ने चुनौती बढेको छ । त्यसैले उनीहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमितरूपमा दुई गिलास दूधसेवन गर्न आग्रह गरेका छन् ।

नेपाल डेरी एसोसिएसनले सोमबार जुममार्फत् केन्द्रीय समितिको बैठक राखी नेपालका प्रायः सबै स्थानमा कोरोनाको दोस्रो संक्रमणको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाई खानपानमा विशेष ध्यान दिन आग्रह गरेको हो । स्वास्थ्य मापण्डको पूर्ण पालना गर्दै दैनिकरूपमा गर्नुपर्ने दूध संकलन, प्रशोधन, ढुवानी एवं बजारीकरणका समयमा सुरक्षाका सबै मापदण्ड अपनाई आफू पनि सुरक्षित रही उपभोक्तालाई सुरक्षितरूपमा डेरीजन्य उत्पादन पु¥याउन आवश्यकताअनुसार पूर्वतयारीको व्यवस्थापनमा लाग्न आग्रहसमेत गरेको छ । साथै महामारीमा पनि नाफाघाटाको कुनै पर्वाह नगरी दिनरात आफ्नो काममा लाग्ने सबैलाई मनोबल बढाउने खालका कार्यक्रम ल्याउन आग्रह गरेको छ । दूध अति आवश्यक वस्तु भएको र समयमा गन्तव्यमा पु¥याउन नसक्दा खेर जाने भन्दै ढुवानीको समयमा कुनै पनि अवरोध नगर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

दूध धेरै दिन भण्डार गरेर राख्न पनि समस्या हुने र धुलो दूध, बटर गत वर्षकै ठूलो परिमाणमा स्टक रहेकाले हाल देशैभर दैनिक ६० प्रतिशत बजार घटेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताउनुभएको छ । सापकोटाका अनुसार विद्यमान अवस्थामा कसरी बढी भएको दूधको व्यवस्थापन गर्ने भन्ने विषयमा पनि एसोसिएसनले छलफल गरेको छ ।  एसोसिएसनभित्र मात्र देशभरिको स्टकको तथ्यांकमा धुलो दूध र बटर गरेर करिब एक अर्ब रहेको र देशैभरि सबै डेरीको तथ्यांक हेर्दा करिब ३ अर्बको रहेको उहाँले बताउनुभएको छ । जसका कारण आमउद्योगीको चालु पुँजी रोकिएको र कतिपय उद्योगले हालसम्म पनि किसानको भुक्तानी दिन नसकेको एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताउनुभएको छ । समस्या समाधानका लागि सरकारले स्टक बराबर उद्योगलाई कर्जा उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । त्यसो गर्दा किसानको भुक्तानी पनि हुने र उद्योगीलाई पनि दैनिकी चल्न सजिलो हुने दाहालले बताउनुभएको छ ।

महामारी बढ्दै गरेको सन्दर्भमा देशैभरि रहेका एसोसिएसनका आफ्नो संरचना पालिका, जिल्ला, प्रदेश र केन्द्रका पदाधिकारी एवं आमसदस्यलाई आ–आफ्नो क्षेत्रमा दायित्वबोधका साथ जागरण अभियान सञ्चालन गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी कोरोना भाइरसबाट बच्ने उपायको जानकारी गराउँदै कोरोना सुरक्षा अभियान सञ्चालन कार्यमा जुट्न एसोसिएसनले आग्रह गरेको छ ।

हाल एसोसिएसनले नियमितरूपमा सञ्चालन गर्दै आएका सबै गतिविधि महामारीको न्यूनीकरण नहुँदासम्म भौतिकरूपमा उपस्थित भई गर्ने कार्य जति सबै स्थगन गरी सहयोग कार्यमा जुट्न सदस्य संस्थाहरूलाई आग्रह गरेको छ । आ–आफ्नो टोल, समाज र घरको सरसफाई गर्दै आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिँदा महामारीबाट जोगिन सक्ने सम्भावना रहेकाले डरत्रासभन्दा पनि आमसमुदायको आत्मबल बढाउने कार्यमा सहभागी हुन आह्वानसमेत एसोसिएसनले गरेको छ  ।

एसोसिएसनका अनुसार ३० अर्बभन्दा बढी लगानी रहेको, ५ लाख कृषक परिवारको प्रत्यक्ष रोजगारी र २० हजारभन्दा बढीले उद्योग क्षेत्रमा रोजगारी पाउँदै आएका छन् । त्यस्तै दैनिक शहरबाट ५ करोडभन्दा बढी रकम गाउँमा पुग्ने, ३१ लाख लिटर दूध प्रत्येक दिन बजारमा पुग्ने गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान रहेको छ । एसोसिएसनले कोरोनाका कारण बढी दूध खपत हुने पार्टी प्यालेस, स्कुल, होटल, रेष्टुरेन्ट, क्यान्टिन बन्द रहेको भन्दै दुग्ध क्षेत्रलाई धराशयी हुनबाट जोगाउन विद्युत्मा ५० प्रतिशत छुटका साथै सहुलियतपूर्ण कर्जाको व्यवस्था हुनुपर्ने माग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार