पर्यटक तान्दै पाटेनागी–कुइभिर

  नयाँ बुलन्द
42 Shares

इलाम नगरपालिकाकै अग्लो डाँडो पाटेनागी र नजिकै रहेको कुइभिरले पर्यटक आकर्षित गर्दैछन्। कच्ची सडकसमेत पुगेपछि यहाँ दिनहुँ घुम्न आउनेको संख्या बढिरहेको छ। इलाम र देउमाई नगरपालिकाको सीमा बाघखोरबाट ७ किलोमिटरमा पुग्न सकिने पाटेनागीको उच्च भाग ३ हजार ४२ मिटरमा पर्छ।

यहाँबाट उत्तरमा दर्जनौं हिमशृंखला, टाढा–टाढाका गाउँ, सहर र वरपरका पर्यटकीयस्थल देखिन्छन्। हजारौं रोपनीको खुला भू–भाग रहेकाले यहाँ रमाउन आउनेको संख्या बढिरहेको हो। गुराँस, कटुस, क्यामुना, झिगाने, चुथ्रो, फलामे र अँगेरीका बुट्यान रहेको पाटेनागीको धेरै भाग चाहिँ खुला चौर छ।

पाटेनागी पुग्ने बेला भेटिने पहिलो गन्तव्य र आकर्षकस्थल हो कुइभिर। कुइभिर सयौं मिटर अग्लो चट्टानी भिर हो। यसको थाप्लामा पुगेर रमाउन सदरमुकामका बासिन्दासमेत पुग्छन्। तर, निकै डरलाग्दो कुइभिरको थाप्लोमा धेरैबेर बस्न चाहिँ निकै डरलाग्दो हुनेगरेको आगन्तुक बताउँछन्।

पल्लोपट्टिको डाँडाबाट शिरदेखि पुछारसम्म नियाल्दा यो भिर हेर्न निकै आनन्द आउने गरेको यहाँ पुगेको सदरमुकामका युवक मनकुमार बराइलीले बताए। तर, पर्यटनको अथाह सम्भावना भएर पनि प्रचारप्रसार र उपयुक्त पूर्वाधार निर्माण अभावमा यो ओझेलिएको छ। कुइभिर कटेर उकालो लागेपछि करिब ५० मिटर पर देउरालीसम्म सडक पुर्‍याइएको छ। यहाँसम्म हिउँदमा गाडी, मोटरसाइकल पुग्छन्। यहाँबाट चाहिँ करिब आधा घण्टा पैदल गएपछि पर्यटकीय डाँडो लोहाकिल पुगिन्छ। त्यहाँबाट करिब २० मिनेटमा पाटेनागी डाँडो।

लोहाकिल र पाटेनागी डाँडाबाट जता हेर्‍यो, त्यतै मनमोहक। ३ हजार ६ मिटर उचाईको लोहाकिल डाँडाबाट इलाम, पाँचथर, ताप्लेजुङसहित पूर्वीपहाडका दर्जनौं ठाउँ नजिकै देखिन्छन्। मौसम खुलेका बेला उहाँबाट दर्जनौं हिमाल र हिमशृंखलामात्र होइन, विश्वको सर्वाेच्च शिखरसमेत देखिने स्थानीय महेश थापाले बताए।

पाटेनागी र लोहाकिलबाट पारिपट्टि पौवाभञ्ज्याङ, सिलौटी र सुकेपोखरीजस्ता पर्यटकीयस्थलसमेत देखिन्छन्। कुनै विकसित सहरझैं लाग्ने पाँचथरको रानीडाँडासमेत नजिकै देखिन्छ। नजिकै थामडाँडा धार्मिक र ऐतिहासिकस्थल छ। थामडाँडाका ठूला ढुंगामा देखिने सर्पलगायत विभिन्न जीवजन्तुको आकृतिले यहाँ पुग्नेको मन लोभ्याउँछ र अचम्भित बनाउँछ।

इलाम र पाँचथरको सीमामा पर्ने पाटेनागी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न दुवै जिल्लाले कसरत गरिरहेका छन्। दुवैपट्टिबाट यो भेगसम्म पुग्ने सडक विस्तार हुँदैछ। पाँचथरपट्टिबाट भर्खरै सोलिङसहितको पदमार्ग पाटेनागी डाँडोछेउ पु¥याइएको छ। पदमार्ग बनेपछि पाँचथरबाट पनि यहाँ आउने आगन्तुकको संख्या बढिरहेको छ। इलाम नगरपालिकाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा पाटेनागीको पूर्वाधार विकास गर्दैछ। खुला चरिचरनका रूपमा रहेको पाटेनागी संरक्षणका लागि अहिले वन्यजन्तु, बोटबिरुवा र जडीबुटी संरक्षणको प्रयास भइरहेको पाटेनागी पर्यटन समिति अध्यक्ष डिल्लीप्रसाद राई बताउँछन्।

‘यहाँ दुर्लभ रेडपान्डा, बाँदर, बँदेल, थार, घोरल, भालुलगायत वन्यजन्तु पाइन्छन्,’ उनी भन्छन्, ‘संवेदनशील वन र वातावरण जोगाएर पर्यटन पूर्वाधार विकास गर्न लागिपरेका छौं।’ उनले यहाँसम्म आउन मेची राजमार्गको बाघखोरबाट ७ किलोमिटर सडक खनिएको, मानिस बस्नलाई टहरा बनाएको, पैदलमार्गमा सोलिङ गरेको र दुईटा चर्पीसमेत निर्माण गरिसकेको बताए। ‘यहाँ आएका बेला पानी आयो वा हावाहुरी चल्यो भने सुरक्षित रहन टहरा बनाइएको छ,’ उनले भने, ‘पर्यटककै लागि अलि तलका गाउँमा होमस्टे व्यवस्था गर्ने तयारी हुँदैछ।’

प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर रानामगरले आफ्नो निर्वाचन क्षेत्रमै पर्ने पाटेनागीको पर्यटकीय पूर्वाधार विकासमा प्रदेश सरकारले पनि काम गरिरहेको बताए। ‘पाटेनागी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ,’ उनले भने, ‘पौवाभञ्ज्याङदेखि पाटेनागी हुँदै सन्दकपुरसम्म जाने पर्यटकीय पदमार्ग बनाउन अध्ययन भएको छ।’ मन्त्री मगरले पाटेनागीसहित यो क्षेत्रका दिदी–बहिनी झरना, कुइभिर, छिन्टापु, सन्दकपुर, साधुटार, सिलौटीलगायत गन्तव्यको प्याकेज नै बनाएर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए। ‘स्थानीय तहले यो क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण प्रयास गरिरहेका छन्,’ उनले भने, ‘त्यसबाहेक के आवश्यक पर्छ, प्रदेश सरकारले पनि सहयोग गर्छ।’नागरिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार