पर्यटक तान्दै ‘हल्लिने ढुंगा’

  नयाँ बुलन्द  555 पटक हेरिएको

इलाम : पहरामाथि अडिएको विशाल ढुंगा कान्छी औंलाले हल्लाउन सकिन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर माङसेवुङ गाउँपालिकाको माङमालुङमा रहेको एक ढुंगाले सबैलाई यस्तै अचम्मित बनाइरहेको छ ।

अर्को ठूलो ढुंगामाथि अडिएको उक्त ढुंगा सदीयौंदेखि यस्तै अवस्थामा रहेको स्थानीय बताउँछन् । ‘कति भूकम्प आए गए, पल्टाउने कोसिस गरे तर ढुंगा जहाँको त्यहीं हल्लिरहेको छ,’ चुतुरे बजारका दिवाहाङ राईले भने, ‘अहिलेसम्म वैज्ञानिक ढंगले या अन्य कुनै तरिकाले यसको रहस्य सुल्झन सकेको छैन ।’ हल्का छुँदा पनि हल्लिने उक्त ढुंगासम्म पुग्नेको संख्या दिनानुदिन थपिँदै गइरहेको छ । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको माङमालुङ इलाम सदरमुकामदेखि करिब १५ कोस पश्चिममा अवस्थित छ । समुद्री सतहबाट २१ सय मिटरको उचाइमा पर्ने माङमालुङ प्राकृतिक सुन्दरताले पनि उत्तिकै भरिपूर्ण छ ।

एक औंलाले पनि हल्लाउन सकिने यो ढुंगालाई चक्र शिला नाम दिइएको छ । गोही आकारको ढुंगामाथि अडिएर रहेको उक्त ढुंगा देख्दा विशाल भए पनि सहजै हल्लाउन सकिन्छ । ‘खटखट’ आवाज गर्दै मच्चिने उक्त ढुंगालाई जति जोड लगायो उति धेरै हल्लिन्छ । पश्चिमी इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगम स्थलमा अवस्थित मौलिक पहिचान र चिनारी बोकेको माङमालुङको विशेषतालाई यो ढुंगाले थप महत्त्वपूर्ण बनाएको छ । माङमालुङ ऐतिहासिक, प्राकृतिक, पुरातात्त्विक, पर्यटकीय महत्त्व बोकेको पवित्र धार्मिक क्षेत्र मानिन्छ ।

यसका साथै विभिन्न आकृतिका ढुंगा पनि यहाँ देख्न पाइन्छ । यहाँका शिला पत्थरमा कुँदिएका विभिन्न पशुपन्छीदेखि देवीदेवताको आकृति हेर्दा यो ठाउँ अद्भुत स्थल रहेको पुग्नेहरूले अनुभव गर्ने गरेका छन् । ‘हल्लिने ढुंगासहित यहाँको विशेषताको अझै प्रवर्द्धन र प्रचार गर्न सकिएकै छैन,’ स्थानीय जनप्रतिनिधि इन्द्र सम्बाहम्फेले भने, ‘गाउँपालिकासहित सरकारले चासो दिने हो भने यो क्षेत्र पूर्वकै पर्यटकीय गन्तव्य बन्न सक्छ ।’ निर्माणाधीन दमक चिसोपानी सडकले भेट्ने माङमालुङ क्षेत्रभन्दा ३ किलो मिटर टाढा चिसोपानी पञ्चमीलाई भेटेटार रवि राँके सडकले छुन्छ । माङमालुङको प्रचार र पूर्वाधार विकास गर्दै पर्यटकीय गन्तव्य बनाउन सके नजिकैका रक्से, चिसोपानी पञ्चमी, चतुरेलगायत बजारको चहलपहलमा उल्लेख्य सुधार हुने स्थानीयको बुझाइ छ ।

माङमालुङमा साढे तीन दशकयता उभौली र उधौली गरी दुई पटक विशेष पूजापाठ गरिँदै आएको छ । अन्य समयमा पनि पूजाआजाको क्रम जारी रहन्छ । खासगरी यो ठाउँ अहिंसोपाषक गुरु ज्योतिनन्दको तपस्या स्थल हो । महाप्रभु ज्योतिनन्दपछि अन्य थुप्रै गुरुहरूले यहाँ तपस्या गरेको स्थानीय सुमन राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार