किरात याक्थुङ चुम्लुङले ‘राष्ट्रिय जनगणना २०७८’ लक्षित प्रशिक्षण सुरु गर्‍यो

काठमाडौं : किरात याक्थुङ चुम्लुङले ‘राष्ट्रिय जनगणना २०७८’ का लागि सांगठनिक प्रशिक्षण कार्यक्रम शुक्रबारबाट सुरु गरेको छ ।

फागुन २२ गते बसेको चुम्लुङको केन्द्रीय सचिवालयको बैठकको निर्णय अनुसार पहिलो दिन शुक्रबार तेह्रथुम र काठमाडौं जिल्लाबाट प्रशिक्षण सुरु गरिएको हो ।

तेह्रथुमको म्याङ्लुङमा आयोजित प्रशिक्षणको प्रमुख जिम्मेवारी केन्द्रिय उपाध्यक्ष प्रेम येक्तेन र कमल तिगेलालाई दिइएको थियो ।

मजबुद, विश्वसनीय लिम्बू जनसंख्या निर्माणको लागि सबैलाई सहभागी बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको किरात याक्थुङ चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापोले बताइन् ।

चुम्लुङले प्रदेश १ का झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ साथै काठमाडौं उपत्यकाका तीनै जिल्ला र चितवनमा पनि प्रशिक्षण गर्ने महासचिव तुम्बापोले बताइन् ।

प्रशिक्षण कार्यक्रम प्रत्येक जिल्लाको दुई स्थानीय तहलाई केन्द्र मानेर स्थानीय व्यवस्थापनमा हुने तथा कार्यक्रम खर्चसमेत स्थानीयले नै बेहोनुपर्ने बताइएको छ ।

पहिलो चरणको यो कार्यक्रममा किरात याक्थुङ चुम्लुङले लिम्बुवान प्रदेश समिति, दोस्रो चरणमा (कियाचु) जिल्ला समिति, तेस्रो  चरणमा जिल्ला, गाउँ, नगर समिती र चौथो चरणमा गाउँ, नगर र वडा समितिहरुले घरदैलो कार्यक्रम संचालन गर्नेछन् ।

पहिलो चरणको कार्यक्रम फागुनसम्म चल्ने र त्यसपछिका प्रशिक्षणहरु क्रमश राष्ट्रिय जनगणनाका समयसम्मा सकिने चुम्लुङले जनाएको छ ।

तुम्बापोका अनुसार अब क्रमश निर्धारण गरिएका अन्य जिल्लाहरुमा पनि प्रशिक्षण हुनेछ । जसकालागि सबै जिल्लाहरुमा पदाधिकारीहरु तोकिसकिएको छ ।

बिगतका राष्ट्रिय जनगणनाहरुमा पनि आदीबासी लिम्बूहरुको जाति, भाषा, धर्म, बिषयक सामुदायीक परीचयहरुले गर्दा आदीबासी लिम्बूहरुको पहिचानहरु सम्बद्र्धन र प्रबद्र्धन भइरहेकोले २०७८ को जनगणनामा पनि आफ्नो भाषा, धर्म र पहिचान स्पष्टसाथ लेख्न र लेखाउन चुम्लुङले आग्रह गरेको छ ।

गणनाको मुख्य प्रश्नावालीको व्याक्तिगत विवरण खण्डमा सबै लिम्बूहरुलाई जातजातिको महलमा लिम्बू, पूर्खाको भाषाको महलमा लिम्बू, मात्रिभाषाको महलमा लिम्बू, दोस्रो भाषाको महलमा नजिकको आदीबासी जनजातिको मातृभाषा र धर्मको महलमा किरात लेख्न तथा लेखाउन आग्रह गरिएको छ ।

यसअघि अपीलका लागि जिङ्गल बनाउनका साथै फेसबुक फ्रेम र भर्चुअल प्रशिक्षणसमेत सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार