बन्दाबन्दीले चिया क्षेत्रमा लाखौं घाटा

  नयाँ बुलन्द  143 पटक हेरिएको

फाइल तस्वीर

इलाम : मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पु¥याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पु¥याउन नसक्दा समस्या भएको छ । विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ ।

यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न सकिएन ।

गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौँको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक सरद सुब्बाले बताए ।

मुख्य सिजनमै उद्योग बन्द गर्नु पर्ने भएपछि तेस्रो मुलुकबाट चियाको माग आए पनि पठाउन नसकिएको सुब्बाको गुनासो छ । उनका अनुसार लकडाउनको समयमा चिया बिक्री त भएन नै श्रमिक र किसानलाई हातमुख जोड्ने रकमको समेत समस्या प¥यो । त्यही सिजनमा चियाको भुक्तानी पनि दिन नसक्दा धेरै चिया किसान–श्रमिक चिढिएको सुब्बाको भनाइ छ ।

पछिल्लो समय चिया बिक्री हुन नसकेपछि केही दिन उद्योग नै बन्द गर्नुपर्दा घाटा व्यहोर्नु परेको सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईँले बताए । विभिन्न संस्था र व्यक्तिको सहयोगले प्रशोधन उद्योग खुले पनि बजारमा चिया पु¥याउन भने अझै समस्या पर्ने गरेको चापागाईँको भनाइ छ ।

उनले चिया बजारसम्म नपुगे पनि आफूले श्रमिक र किसानलाई पारिश्रमिक र चियाको मूल्य भने दिँदै गरेको जिकिर गरे । बन्दाबन्दीको चपेटामा परेका बेला श्रमिक र किसानको हातमुख जोड्ने वस्तु चियासमेत बिक्री नहुँदा समस्या आउन सक्ने भएकाले रकम भुक्तानी गरिसकेको उनको भनाइ थियो ।

यस वर्ष बन्दाबन्दीका कारण पहिलो सिजनमा करिब रु ६० लाख घाटा भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईको भनाइ छ । वन्दाबन्दीले चिया उत्पादित जिल्लामध्ये तराई क्षेत्रका जिल्लामा चियामा बढी घाटा व्यहोर्नु परेको महासचिव राईले बताए ।

-रेडियो भिजनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार