‘दलित समुदायप्रति राज्यलाई जिम्मेवार बन्न ध्यानाकर्षण गराउँछाैं’ : अध्यक्ष नवराज शंकर

  नयाँ बुलन्द  267 पटक हेरिएको

नवराज शंकर, मूल आयोजक समिति

नेपालको संविधान र प्रचलित विभिन्न कानूनहरुले प्रत्याभूत गरेको अधिकार बमोजिम मुलुकका जनप्रतिनिधिमूलक निकायहरुमा उत्पीडित दलित समुदायको उल्लेख्य उपस्थितिको वातावरणको सिर्जना भएको छ । २०७४ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुहुने जनप्रतिनिधिहरुको कार्यकाल आधा अवधि सकिएको छ । उल्लेखित पृष्ठभूमिमा दलित जनप्रतिनिधिहरुको कामको समिक्षा गर्ने, मार्गनिर्देश गर्ने र समग्र दलित आन्दोलनको सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको बहस, छलफल गर्नेगरी दलित जनप्रतिनिधि, अधिकारकर्मीहरुको सहभागितामा यही मिति २०७६ माघ २४ र २५ गते “दलित जनप्रतिनिधिहरुको १ नं. प्रदेशस्तरीय भेला तथा दक्षिण एसियाली मिट–२०७६” आयोजना हुँदैछ । यसै सन्दर्भमा, दलित जनप्रतिनिधिहरुको १ नम्बबर  प्रदेशस्तरीय भेला तथा दक्षिण एसीयाली मिट २०७६ मूल समारोह समितिका संयोजक नवराज शंकरसँग नयाँ बुलन्दले गरेको कुराकानीको सम्पादित अंश :

दलित जनप्रतिनिधिहरुको १ नं. प्रदेशस्तरीय भेला तथा दक्षिण एसीयाली मिट–२०७६ कस्तो कार्यक्रम के हो ?

इलाम सदरमुकाममा ऐतिहासिक दलित जनप्रतिनिधिहरुको १ नं. प्रदेशस्तरीय भेला तथा दक्षिण एसियाली मिट–२०७६ आयोजना गरिएको छ । यो कार्यक्रम दलित जनप्रतिनिधिहरुले निर्वाचित भएपछि हालसम्म गर्नुभएको कामको समिक्षा गर्नको लागि र समिक्षासँगै जनप्रतिनिधिहरुलाई मार्गनिर्देशन समेत गर्नेगरी आयोजना गरिएको हो । एकातिर, उत्पीडित दलित समुदाय दोस्रो दर्जाको नागरिकको रुपमा जातपात र छुवाछूतको कलंक भोग्न बाध्य बनाईएको छ । अर्कातिर राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक सबै हिसाब सीमान्तकृत बनाईएको छ । यस्तै क्रमशः सत्तापक्षिय बन्दै गएको, कमजोर बन्दै गएको दलित आन्दोलनको सन्दर्भमा प्रभावकारी बहस, छलफल गर्नेगरीको कार्यक्रम हो ।

यस्तो कार्यक्रमको अवधारणा कसरी आयो ?

नेेेपालको संविधान र कानूनले प्रत्याभूत गरेको अधिकार बमोजिम संघ, प्रदेश र स्थानीय तहमा उत्पीडित दलित समुदायको सहभागिता उल्लेख्य रुपमा रहेको छ । राज्यका विभिन्न तहहरुमा दलित समुदायको उल्लेख्य प्रतिनिधित्व हुनु भनेको स्वभावैले उक्त समुदायले आफ्ना जनप्रतिनिधिहरुसँग व्यापक आशा र अपेक्षा राख्नु स्वाभाविक नै हो । यद्यपी दलित समुदायको हक, अधिकार प्राप्तिको सन्दर्भमा जनप्रतिनिधिमूलक निकायहरुले जुन प्रभावकारिताको साथ काम गर्नुपर्ने थियो त्यस अनुरुप काम हुन सकेको देखिँदैन । यसैगरी कतिपय जनप्रतिनिधिहरुले राज्यका निकायहरुमा गएपछि आफ्नै मुद्धालाई भुलेर अन्य कुराहरुमा अल्मलिएको देखिन्छ । त्यसैले उल्लेखित सापेक्षतामा दलित जनप्रतिनिधिहरुको काम र समग्र दलित आन्दोलनकै सन्दर्भमा एउटा निचोडमा पुग्नेगरी यो कार्यक्रमको अवधारणा आएको हो ।

कार्यक्रमको गर्नुको लक्ष्य तथा उद्देश्य के हो ?

संक्षिप्तमा भन्ने हो भने यो कार्यक्रमको लक्ष्य १ नं. प्रदेशमा र यस प्रदेशबाट निर्वाचित सम्पूर्ण दलित जनप्रतिनिधिहरुको मर्यादामा बढवा दिँदै वहाँहरुलाई दलित समुदायको क्षेत्रमा काम गर्न थप जिम्मेवार र क्षमतावान बनाउनको लागि राज्यको ध्यानाकर्षण गराउनु हो । यसैगरी कार्यक्रमका मुख्य तीन वटा उद्देश्यहरु रहेका छन् । पहिलो १ नं. प्रदेशको दलित समुदायको अवस्था एवं यस प्रदेशमा निर्वाचित सबै तहका दलित जनप्रतिनिधिहरुले हालसम्म खेलेको भूमिकाको वस्तुनिष्ट समिक्षा गर्ने । दोस्रो दलित समुदायबाट विकसित यस समुदायका अगुवाहरु र निर्वाचित दलित जनप्रतिनिधिहरुबीच समन्वय र सहकार्यको संस्कृति निर्माण गरी आगामी रणनीति तय गर्ने र तेस्रो प्रदेश नं. १ लाई दलितमैत्री नमूना प्रदेश निर्माण गर्दै समतामूलक समाज निर्माण गर्नको लागि योजनाबद्ध कार्ययोजना निर्माण गर्ने । यीनै लक्ष्य र उद्देश्यबाट कार्यक्रम निर्देशित हुनेछ ।

कार्यक्रमको तयारी कहाँ पुग्यो ?

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । व्यवस्थापन, सम्पर्क समन्वय लगायतको सम्पूर्ण कामहरु सकाएर माघ २३ गते पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रम तयारीको सन्दर्भमा सम्पूर्ण जानकारी सार्वजनीक गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममाको को सहभागी हुँदैछन् ?

यो कार्यक्रममा १ नं. प्रदेशबाट करिब तीन सय जनप्रतिनिधि र करिब एक सय दलित अगुवाहरुको सहभागिता रहनेछ । यसैगरी प्रदेश नं. १ बाहेकका बाँकी सबै प्रदेशहरुबाट दलित जनप्रतिनिधि तथा अगुवाहरुको उपस्थिति रहनेछ । यसका साथै छिमेकी मुलुकहरुमा दलित आन्दोलनमा क्रियाशील दलित अगुवाहरुको समेत कार्यक्रममा सहभागिता रहनेछ ।

कार्यक्रममा के के हुन्छन् ?

कार्यक्रमको उद्घाटनपूर्व बाजागाजासहितको ¥याली इलाम सदरमुकामको ठूलो टुँडिखेलबाट शुरु भएर बजार परिक्रमा गरेर गौतमबुद्ध सभागृहमा पुगेर उद्घाटन समारोह माघ २४ गते दिनको १२ः०० बजेबाट प्रारम्भ हुनेछ । उद्घाटन समारोहपछि विभिन्न बिषयहरुमा प्रस्तुतीकरण, प्यानल डिस्कशन लगायतका कार्यक्रमहरु रहेका छन् भने पहिलो दिन बेलुकी ७ः०० बजेबाट पाहुनाहरुको स्वागतमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ भने दोस्रो दिन १४ वटै जिल्लाको रिपोर्टिङ्गबाट कार्यक्रम प्रारम्भ हुनेछ । सोही दिन साँझ समापन समारोह गरेर दक्षिण एसियाली मिटको आयोजना गरिनेछ । समापन समारोहका क्रममा कार्यक्रमको घोषणापत्र जारी गरिनेछ ।

कार्यक्रममा हुने खर्चको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

कार्यक्रमको खर्च व्यवस्थापनको लागि १ नं. प्रदेशको सामाजिक विकास मन्त्रालयलाई प्रस्ताव गरिएको छ । इलाम नगरपालिका लगायतका इलामका स्थानीय तहहरुलाई प्रस्ताव गरिएको छ । यसैगरी आयोजक संस्थाहरुबाट संचालन कोष तयार गरिएको छ भने कार्यक्रमका सहभागिहरुबाट संकलन गरिने दर्ता शुल्क समेत गरेर कार्यक्रमको खर्च व्यवस्थापन गरिनेछ ।

कार्यक्रम सम्पन्न भएपछि प्रदेश १ का दलित समुदायका लागि के फाइदा हुन्छ ?

प्रदेश नं. १ मात्र नभए मुलुककै दलित आन्दोलनको सन्दर्भमा यो कार्यक्रमले नयाँ आयाम प्रदान गर्नेछ । कार्यक्रमको माध्यमबाट सहभागिहरुलाई दलित समुदायको पक्षमा नीति निर्माण गर्न, काम गर्नको लागि उत्प्रेरणा अभिबृद्धि हुनेछ । यसैगरी कार्यक्रमको माध्यमबाट दलित समुदायको पक्षमा जिम्मेवार बन्नको लागि राज्यको ध्यानाकर्षण हुनेछ । हामी यो कार्यक्रमको माध्यमबाट कसैलाई दलित बनाएर, अछूत बनाएर समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान सार्थक बन्न सक्दैन भन्ने कुरामा राज्यलाई जिम्मेवार बनाउन चाहान्छौं । साथै समग्रमा यो कार्यक्रम ऐतिहासिक हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार