लिम्बू जातीको पुर्खासँग सम्बन्ध राख्‍ने ढुंगा काई लुङधुङ

  लक्ष्मण लावती
14 Shares

लक्ष्मण लावती

लिम्बु जातीको मिथक, जनश्रूति र कथाहरु नै मुन्धुम हो जसले लिम्बुहरुको जन्म देखि मृत्यु पर्यन्त गर्नु पर्ने सस्कारहरुको ब्याख्या गर्दछ र आदिम्काल देखि लिम्बु समाज यसै मुन्धुमले सिकाएको संस्कार अनुरुप चल्दै आएको छ । मुन्धुमले ब्रम्हाण्ड, पृथ्वीको उत्पती देखि सम्पुर्ण चराचर जगतका श्रृष्टि, मानव तथा किटपतंग आदिको उत्पतीको कुरा ल्याउछ । लिम्बु पुरोहित येबा साम्बाहरुले पुस्तांै पुस्ता श्रृति परंम्परा अनुसार गाउँदै हस्तान्तरण गर्दै आएको मुन्धुमको पाटो जब मानव विकाश तथा बसाईसराई सम्म आइपूग्छ अनि तमोर नदि (इम्बीरी याङथाङवा) किनार र आसपास मानव जाती फैलिन सुरु भएको कथाहरु आउछ । मानव शास्त्रीहरुले पनि मानव सभ्यताको सुरुवातको खोजी गर्दा विश्वको विभिन्न स्थानमा रहेका ठुला नदिहरुको किनार नै देखाएका छन। सावा येत्हाङ अर्थात आठ राजाका सन्तति भनिने लिम्बु जातीका आदि पुर्खा सावायेत्हाङहरु पैदा भएको ठाउँ या लिम्बु जातीको साइनो सम्बन्ध छुट्याईएको ठाउँ भनेर चिनिने यहाँ चर्चा गर्न लागिएको काईलुङधुङ पुग्नको लागी आदिकाल देखि ल्हासाको सुन र भोटको नुन लिन जाने बाटो भनेर चिनिने तमोर नदिको किनारै किनारको बाटो पछ्याउँदै जानु पर्ने हुन्छ जो अहिले अधिकांश मोटर बाटोले विस्थापित गरिसकेको छ । तमोर नदिको किनारै किनार मुन्धुममा उल्लेखित स्थलहरु ताप्लेजुङ जिल्लाको अधिनलुङ हाङ्बरुङ अनलोङ्देन छिरुवानी गाउँ लोक्फादेन, ताप्पेथोक बगर, सागोरक कोपिरक्मा, सिसाङवा, ताप्मावा हुदै हेल्लोक रानीपुर पुगेपछि भने कुम्भकर्ण(फक्ताङलुङ) हिमालको अगाडी र पछाडी बाट बगेर आउने दुई खोला घुन्सा र खाम्वोजेनलाई छोडेर ओलाङचुङ ्गोला हुदैं वगेर आउने मुल तमोर लाई पछ्याउदै लेलेप गाउँ मुरिङला डाडाँको फेदैफेद करिब डेड घन्टा हिडेपछि एउटा फराकिलो फाँट भएको लुङथुङ् भन्ने गाउँ आउछ जसको माथिल्लो कुनामा लिम्बु जातीको पुर्खासंग सम्वन्ध जोडिएको ढुंगा काईलुङ्धुङ आउँछ जसको भावार्थ हुन्छ साइनो सम्वन्ध केलाउने ढुंगा । स्थानियहरुले यसलाई हल्लीने ढुंगा भनेर पनि चिन्दछन किनभने यस विशाल ढुंगाको एक छेउमा चढेर जोडले सरिर हल्लाएमा शरिरको गतिसंगै यो ढुंगा पनि हल्लीन थाल्छ ।मुन्धुम अन्ुसार यहि ढुंगा भएको ठाउँ हो जहाँ लिम्बु जातीको आदिपुर्खा लाहादाङ्ना र सुहाम्फेवा भेट भएका, बसेका र तिनको सन्तान सावायेत्हाङहरु यहि पैदा भएको मानिन्छ । यिनै सावायेत्हाङहरुको समयलाई मुन्धुमले मानव जाती तिब्र रुपमा फैलिन सुरु भएको मान्दछ । यस ढुंगाको मुनी ओडार रहेको छ । उसवेलाको ढुङगे युगमा लाहादाङ्ना र सुहाम्फेवा यहि बसेका थिए होलान ।

मुन्धुममा मानव जातीलाई अन्नबाली उब्जाउन, खेतीपाती गर्न सिकाउने पहिलो नारि आदिमाता सिगेरा एक्थुक्ना हुन भनिएको छ । जो यिनै लाहादाङ्ना र सुहाम्फेवाको बुवा सावा युक्पुङगेम्बाको समकालिन भएको मुन्धुममा उल्लेख हुनुले गर्दा अन्नबाली र खेतीपातीको लागी उनिहरुले काईलुङधुङको यो फराकिलो फाट रोजेर बसे होलान । यिनका पिता सावा युक्पुङगेम्बा अर्थात सुसुवेन लालावेन आदिमाता मुजिङना खेयङनाका छोरा थिए । सावा युक्पुङगेम्बाको अर्थ सबैभन्दा कुशल शिकारी भन्ने हन्छ । मुन्धुमले प्रथम मानव शिकारीको दर्जा दिएको सावायुक्पुङगेम्बा एक कुशल शिकारी थिए त्यसैले उसबेलाको शिकारी युगमा आफु पनि बाचे र आफ्नो सन्तानहरु फैलाए ।मुन्ध्ुममा उनका जम्मा चार श्रीमतीहरु उल्लेख छन।उनि शिकार खेल्दै चारैतिर घुमिहिडे । हिमाली क्षेत्र लेकतिर शिकार खेल्न जांदा उनले फियाम्लुङ्मा र तिनको चाकर्नी सुसाङलिङमा सित विबाह गरे र ती दुबै बाट एक–एक छोरा सुहाम्फेवा र साङदाङखेवाको जन्म भयो फेरि उनी औल बेसितिर शिकार खेल्न झरे त्यहाँ उनले मुकुमलुङमा र तिनको चाकर्नी तुसाङलिङमा सित विबाह गरे ती दुबै बाट क्रमश एक छोरी लाहादाङ्ना र एक छोरा लिदाङखेवा को जन्म भयो । मुन्धुममा सावायुक्फुङगेम्बा एक दिन भोकभोकै अकालमै मरे भन्ने उल्लेख छ । तिनका छोराछोरीहरुलाई लेक बेसितिर हाम्रा अन्य दाजुभाई दिदिबहिनीहरु पनि छन भन्ने कुरा थाहा थिएन । एक दिन जंगलमा शिकार खेल्ने क्रममा चाकर्नी आमापट्टिका दुई छोराहरु साङदाङखेवा र लिङदाङखेवाको भेट भयो । परिचयको क्रममा हामी युक्पुङगेम्बाका छोरा दाजुभाई रहेछौँ र आफुहरु चाकर्नी पट्टिका सन्तान भएकाले दाजु सुहाम्फेवा र दिदि लाहादाङनाले आफुहरुलाई हेला गर्ने गरेको दुःख साटासाट गरे र उनिहरुले लाहादाङना र सुहाम्फेवा एउटै बुवाको सन्तान रहेको अनभिज्ञ भएकाले नियतवश तिनलाई हाडनाता गराईदिने योजना बनाइ छुट्टिए । उनीहरुले लाहादाङना र सुहाम्फेवालाई फकाउन थाले । लेकतिर अति सुन्दर सुहाम्फेवा नाम गरेका युवक छन, साइनो सम्बन्ध केही लाग्दैन भनेर लाहादाङना लाई फकाए र फेरि उता सुहाम्फेवा लाई तल औलतिर विबाहको लागी अति उत्तम र सुन्दरी लाहादाङना नाम गरेकी युवति छिन भनेर फकाए । उनिहरुको कुराले लाहादाङना र सुहाम्फेवा दुवै आकर्षित भए ।

सुहाम्फेवाले निगालो बाँसको काईयो र थाक्राहरु लाहादाङनालाई कोसेली पठाइदियो भने लाहादाङनाले सुनखरिको झोला बुनेर सुहाम्फेवालाई कोसेली पठाई दिइन । एकदिन उनिहरुलाई भेट गराइदिए र यसै काइलुङधुङमा उनिहरु विचको हाडनाताको साइनो तोडियो । हाडनाता तोडिनुलाई लिम्बु भाषामा काइफेक भनिन्छ । उनिहरु बिचमा बिग्रीएको हाडनाता सम्बन्धलाई त्यसबेलाका भद्रभलाद्मी (तुम्याहाङ)हरुले स्वीकार गरेनन् र उनीहरु बसेको ठाउँ काइलुङधङमा भेला भए । लाहादाङना र सुहाम्फेवाको सम्बन्ध लाई तुम्याहाङहरुले ब्यभिचार(काइफेक्मा)को संज्ञा दिए र ति दुईलाई छुट्याउने निकर्ष निकाले । मुन्धुमको यस आख्यानले हाडको साइनो भित्रको स्वछन्द यौन सम्बन्ध लिम्बु समुदायमा आदिम्कालदेखि असहज र लाहादाङना सुहाम्फेवाको पालादेखि नियमत बर्जित गरियो भने देखाउछ । जुन समयमा उनिहरुलाई तम्याहाङहरुले छुट्याउने निर्णय गरे त्यस बेला लाहादाङना र सुहाम्फेवाको अठार जना छोराछारीको जन्म भइसकेको थियो । उनिहरुलाई छुट्याउदा छोराछोरिहरुलाई पनि दुइ भागमा विभाजन गर्नु पर्ने भयो त्यसका लागि तुम्याहाङहरुले प्रतेक छोराछोरीका नाममा चिन्ह लाएर अठारवटा तिलका दाना चाल्नीमा राखेर हल्लाउने र चाल्नी मुनी झरेका दानाहरु आमाका भागमा र माथी रहेका दानाहरु बावुको भागमा पर्ने सर्त राखियो । यसो गर्दा चाल्नी मुनी झरेका आठवटा तीलका दानामा चिन्ह लगाइएका छोराहरु आमा लाहादाङनाको भागमा परे र चाल्नी माथी रहेका नौवटा तीलका दानामा चिन्ह लगाइएका छोराहरु बावु सुहाम्फेवाको भागमा परे । एउटी छोरी नियारा लिङपङहाङमाको नामको तीलको दाना भने चाल्नीको बिचमै अड्कियो । छोरीलाइ दुवैपक्षले दावि गरे र तानातान गर्दा छोरीको मृत्यु भई लिम्बु पुरोहित येवा– येमाहरुलाई काम्ने शक्ति दिने गुरु बन्न पुगिन भनि मुन्धुममा उल्लेख छ । तुम्याहाङ प्रणाली अहिले हराइसके पनि लिम्बु समुदायमा तुम्याहाङहरुको फैसला अन्तिम हुन्थ्यो र तिनको फैसला कतिसम्म प्रभावकारी हुन्थ्यो भन्ने कुरा मुन्धुमको यो आख्यानबाट पनि प्रष्ट हन्छ । यसरी छोराछारीहरु समेत भागबण्डामा परिसके पछि उनिहरुले यस ठाउँलाई छोडे र यहिबाट सुरु हन्छ सावायेत्हाङहरुको बसाइसराइको कथा जसलाइ मुन्धुममा येत्हाङसेमा भनिएको छ । सुहाम्फेवाले आफ्नो भागमा परेको नौभाइ छोराहरु लिएर यस काइलुङधुङको शिरमा रहेको मुरिङलाामा गइ बसे जसलाई मुन्धुममा सोधुङ लेप्मुहाङ पाङभे पनि भनिन्छ ।

तमोर खोलातिर मुन्धुम फलाक्ने येवासाम्बाहरुका अनुसार तिनै सुहाम्फेवानै आफ्ना नौ भाइ छोराहरु सहित छुट्टिएर मुरिङला गएपछि सोधुङ लेप्मुहाङ नामकरण भइ बसेका हुन । हामी लिम्बु समुदायमा अझैसम्म पनि सोधुङ लेप्मुहाङकै सन्तती हौँ भन्ने चलन छ । तिनका नौ भाइ छोराहरु लिम्बु पुरोहित फेदाङबा, येबा साम्बा बन्न पुगे। मुन्धुमले येबा, साम्बाहरुको उद्गम स्थल मानेको यसै मुरिङलाबाट तिनको सन्ततीहरु फैलिदै गए र लिम्बु जातीको धर्म, सस्कृति , सामाजिक नियम र मुन्धमका आख्यानहरु पुस्तौं पुस्ता श्रुति परंपरा अनुसार हस्तान्तरण गर्दै यिनै येवा साम्बाहरुले आजसम्म फलाक्तै आएका छन । उता लाहादाङना भने आफ्ना आठभाइ छोराहरु सहित यस काइलुङधुङ दक्षिण पश्चिम तमोर नदिको किनार ताप्पेथोक गाउँ मुनी रहेको समथर फांट सांगोवरक कोपिरक्मा भन्ने ठाउंमा गएर मुजिरि मुबक्वामा नामाकरण भइ बस्न थालिन । मुन्धुम अनुसार यी आठभाइ छोराहरुका सन्तानहरु अत्याधिक संख्यामा बृद्धि भइ चारैतिर फैलिए र पछि यिनीहरुनै सावायेत्हाङ अर्थात आठ राजाहरु बन्न पुगे । बाबुसंग छुट्टिएपछि यी आठभाइले गाँस, बास, आगो जस्ता अनेकौं संकटहरु भोगेको मुन्धुममा वर्णन पाइन्छ । प्राचिन समयमा मानिसले आगो बाल्न नजानेर प्राकृतीक तवरले ठुला रुखहरु लडेर घर्षणबाट उत्पन्न भएको आगो, चट्याङ र ठुला ढुंगाहरुको ठक्कर बाट उत्पन्न भएको आगो लाई बर्षौ सम्म जोगाएर राख्दथे भन्ने मानवशास्त्रीहरुको भनाइ मुन्धुममा सावायेत्हाङहरुले भोगेको आगोको आख्यानसंग मेल खान्छ । मुन्धुम अनुसार उनिहरुको बासस्थान भन्दा केहि माथिको पित्थोङलुङ भन्ने ठाउँमा दुइ ठुला सांडेहरु जुधेका बेला त्यहाँको स्फटिक ढुंगाहरुको ठक्करबाट उत्पन्न भएको आगो सावा येत्हाङहरुले लगेर बाल्न थालेपछि उनिहरुको जीवन स्तरमा सुधार भएको मुन्धुममा बर्णन पाइन्छ । लिम्बु समुदायमा घरभित्रको चुलोको आगो जसलाई मिधक्पु भनिन्छ त्यो निभ्नु हुदैन भन्ने आख्यान आदिम कालमा आगो पाउनको लागी सावायेत्हाङहरुले भोगेका कठिनाइ बारे मुन्धुममा भएको वर्णनको उपज हो । तमोर खोला, मिक्वा खोलातिरका साम्वा, येवाहरुले मुन्धुुम गांउँदा भन्ने गरेको पहिलो पुस्ताका आठ राजाहरुका नामहरुमा लालासो पाङबोनहाङ, सेन्छेरेसेनीहाङ, थोक्चनहाङ र सङमीहाङको नाम भने हडसनले संकलन गरेर वि.स. १९०३ साल सम्ममा अभिलेख गरिसकेको हस्तलिखित पान्डुलिपिमा उल्लेखित आठ राजाहरुको नामसंग मेल खान्छ र बाकी मिक्नुसो लुम्बाहाङ, खेच्चुवेत उप्पानहाङ, साउन्दु उन्दुहाङ र साङगेनहाङ पाङगेनहाङको नाम भने हड्सन पान्डुलिपिमा उल्लेखित नामहरुसंग मेल खाएको देखिदैन । येबा, साम्बाहरुले पुस्तौंपुस्ता यी नामहरु गाउँदै हस्तान्तरण गर्दै जाँदा यी नामहरु केहि तलमाथि हुंदै गएको देखिन्छ । यी नामहरुको बारेमा हड्सन पान्डुलिपिमा “सुख्खिमको कुहिको पुस्तक बमोजिम लेख्याको” लेखिएको छ अर्थात सिक्कीममा भेटिएको कुहिएको थोत्रो पुस्तक बमोजिम लेखिएको भन्ने कुराबाट लिम्बु जातीमा लेख्य परंपरा धेरै अघिदेखि थियो भन्ने देखाउछ। पछि बाट ईडेन भ्यान्सीटार्ट(१९०६) ले संकलन गरेको आठ राजाहरुका नाममा हाङदेनहाङ, येकेतेतहाङ, चेस्वीहाङ, लारासोपाङवोहाङ, खेसिवाहाङ, ईकाङसोहाङ, खादीहाङ र इमेहाङ थिए जसलाई दश लिम्बु सरदारहरुले विस्थापित गरेका थिए भनि आफ्नो पुस्तकमा उल्ल्ेख गर्नुभएकोले भ्यान्सीटार्टले संकलन गरेको नामका सावायेत्हाङहरु धेरै पछिका पुस्ताका हुन भनि अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार