ताप्लेजुङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ताप्लेजुङको अध्यक्षमा विजयप्रकाश वनेम (विजय किराँत) र सचिवमा बलबहादुर साम्सोहाङ चयन भएका छन् । नेकपा सचिवालयको आइबार साँझ बसेको बैठकले जिल्लाको नेतृत्व टुङ्ग्याउन तय गरेको मापदण्डअनुसार वनेम अध्यक्षमा र साम्सोहाङ सचिवमा सचिवमा चयन भएका हुन् ।
भागबण्डाको आधारमा जिल्लाको नेतृत्व टुङ्ग्याएको नेकपाले नयाँ मापदण्ड बनाएर तत्कालीन जिल्ला नेतृत्वलाई नै जिम्मेवारी दिएको हो । तत्कालीन जिल्ला संयोजक वा अध्यक्षहरुलाई नै नवगठित नेकपाको अध्यक्ष र सचिव बनाउने नयाँ मापदण्डअनुसार पूर्व माओवादी केन्द्रका जिल्ला संयोजक वनेमले अध्यक्ष र पूर्व एमालेका जिल्ला अध्यक्ष साम्सोहाङले सचिवको जिम्मेवारी पाएका छन् ।
अध्यक्षको जिम्मेवारी पाएका युवा नेता वनेम भाग्यशाली समेत बनेका छन् । उनी तत्कालीन माओवादी केन्द्रको जिल्ला नेतृत्वमा दोस्रो बरियतामा थिए । तत्कालीन नेतृत्वको हिसाबले उनी बढुवा भएका छन् भने सचिवको जिम्मेवारी पाएका साम्सोहाङ घटुवामा परेका छन् । प्रदेश १ का प्रदेशसभा सदस्य समेत रहेका साम्सोहाङ तत्कालीन एमालेका जिल्ला अध्यक्ष थिए ।
सत्तारुढ दल नेकपाको एकता भएको करिव एक वर्षपछि जिल्ला नेतृत्वको टुङ्गो लगाएको हो । ताप्लेजुङको नेतृत्वका लागि तत्कालीन माओवादी केन्द्रका जिल्ला इन्चार्ज अर्थात पहिलो बरियताका नेता खेलप्रसाद बुढाक्षेत्री (पराग) र वनेम तथा एमालेका जिल्ला उपाध्यक्ष मातृकाप्रसाद भट्टराई र जिल्ला सदस्य सन्तोष खतिवडाले दावी गर्दै आएका थिए । पार्टीको नयाँ मापदण्डले बुढाक्षेत्री नेतृत्वबाट बञ्चित हुनुप¥यो भने नेतृत्वको दावीमा नरहेका साम्सोहाङले सचिवको जिम्मेवारी सम्हाल्नुपर्ने भयो ।