जनता आवास कार्यक्रम धनकुटामा अलपत्र

  नयाँ बुलन्द
0 Shares

धनकुटा : आर्थिक दृष्टिले विपन्न परिवारलाई लक्षित गरी सुरु गरिएको जनता आवास कार्यक्रम धनकुटामा अलपत्र परेको छ ।

लाभग्राहीले पाउनुपर्ने मध्येको ४५ प्रतिशत रकम नपाएकाले गत आर्थिक वर्षमै सम्पन्न हुनुपर्ने घरहरु अहिलेसम्म निर्माण हुन सकेका छैनन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ३ सद्दामटारस्थित तमोर नदी किनारमा बस्ने १४ माझी परिवारलाई जनता आवास कार्यक्रमले निकै खुसी दिएको थियो ।

दुई कोठा रहेको भूकम्पप्रतिरोधी निर्माणका लागि सरकारले रकम उपलब्ध नगराउँदा योजना अलपत्र जस्तै बनेको छ ।

आफ्नै चिटिक्क परेको घरमा बस्न आतुर उनीहरुको सपना अझै साकार हुन सकेको छैन ।

कोशी पहाडको धनकुटासहित भोजपुर तेह्थुम तथा संखुवासभामा पचास पचास गरी कूल २ सय घर निर्माणको चरणमा छन् ।

बाँकी रकम ताकेताका लािग पटकपटक कार्यालय धाउँदासमेत आश्वासन मात्र पाउने गरेको जनता आवस कार्यक्रम कुशेटारकी अध्यक्ष रेणुका माझीको भनाइ छ ।

लाभग्राहीको १० प्रतिशत लगानी रहने  गरी कच्ची घर कूल ३ लाख पचास हजार रुपैयाँमा गर्न लागिएको थियो तर सरकारबाट पहिलो किस्ता र दोस्रो किस्ताबापत कूल रकमको ५५ प्रतिशत उनीहरुले पाए पनि तेस्रो र चौथो किस्ताको बाँकी रकम भुक्तानी भएको छैन ।

जसका कारण घर निर्माणको काम बीचमै अवरुद्ध बनेको हो । सहरी विकास मन्त्रालयमार्फत् सुरु गरिएको कार्यक्रमको जिम्मेवारी अहिले प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

यता सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका इन्जिनियर रजनेश झा भने स्वामित्व हेरफेरका कारण रकम निकासीमा ढिलाइ भएको र अब छिट्टै निकासा हुने धारणा राख्छन् ।

जनता आवास कार्यक्रमको रकम भुक्तानीमा संघीय र प्रदेश सरकारबीच समन्वयको अभाव देखिन्छ ।

सुरु गरिएको कार्यक्रम बीचमै अलपत्र पर्दा निर्माणाधीन घरहरु क्षतिग्रस्त बन्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार