अध्यक्ष र उपाध्यक्षले सवारीसाधन गाउँपालिकामा बुझाए

  गोविन्द लामिछाने
7 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएका सवारीसाधन गाउँपालिकाको कार्यालयमा बुझाएका छन् ।

गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले प्रयोग गर्दै आएका मे १ झ १७१ नम्बरको महेन्द्र बोलेरो र उपाध्यक्ष सरस्वती राई (सरू) ले प्रयोग गर्दै आएका मे १ ब ६७७ नम्वरको मोटरसाइकल गाउँपालिकामा बुझाएका हुन् ।

सवारीसाधन सञ्चालन सम्वन्धमा विवाद उत्पन्न भएपछि सवारीसाधन सञ्चालन कार्यविधि बनेर गाउँकार्यपालिकाबाट पारित नभएसम्मका लागि सवारीसाधन सुरक्षाका लागि प्रहरी चौकी आमचोकमा राखिएको छ । उक्त कार्यविधि बनाउनका लागि समेत उपाध्यक्ष राईले पहल थाल्ने बताइन् ।

स्थानीय तहहरूमा सवारीसाधनको दुरूपयोग बढेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेपछि केन्द्रले पत्र समेत पठाएको प्रमुख प्रशासकीय अधिकृत अधिकृत डिल्लीराम सुवेदीले बताए ।

जिल्ला समन्वय समितिले सवारीसाधनको दुरूपयोग नगर्न जिल्लाका सबै स्थानीय तहमा पत्राचार समेत गरेको छ । उपाध्यक्ष राईले भनिन्, ‘विराटनगरमा हुन लागिरहेको १५ औं योजना तयारीका लागि राष्ट्रिय योजना आयोगले गर्ने प्रदेशस्तरीय परामर्श बैठकमा जान अध्यक्ष ज्यू गाडी दिनुस भन्दा म गाडी दिन्न भन्नुभयो ।’

आफूले गाडी दिन्न नभनेको अध्यक्ष श्रेष्ठको भनाई छ । त्यसपछि सवारीसाधनबारे कार्यपालिका बैठकमा छलफल चलेको थियो । छलफलपछि अध्यक्ष र उपाध्यक्ष दुवैले कार्यविधि नबनेसम्म सवारीसाधन नलिने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार