‘हामी जनतासँग सिक्न जाँदैछौँ’

  नयाँ बुलन्द
0 Shares

“असल राजनीति र समावेसी विकासका लागि जनसंवाद” को थिमसहित पुष्पलाल लोकमार्गमा माघ १५ देखि फागुन १५ सम्म नयाँ शक्ति पार्टीले एकमहिने यात्रा गर्दैछ । यसैमा केन्द्रित रही नयाँ शक्ति पार्टीका हेडक्वार्टर सदस्य तथा संगठन विभाग प्रमुख गंगानारायण श्रेष्ठसँग गरिएको अन्तर्वार्ताः

गंगा श्रेष्ठ

पार्टीको पाँच महिने अभियान कता पुग्यो ?
मंसीर १ गतेबाट ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ मुख्य नारासहित शुरु भएको “संगठन विस्तार तथा सुदृढीकरण अभियान” देशव्यापी रुपमा घनिभूत ढङ्गले चलिरहेको छ । यसबीचमा ८ प्रदेश, ६५ जिल्ला र झण्डै १०० भन्दा बढी स्थानीय तहको बैठक र प्रशिक्षणहरु सम्पन्न भएका छन् । साथै, विभिन्न आंगिक संगठनहरु, पेशागत संगठनहरु र सम्पर्क संयन्त्रको बैठक पनि सम्पन्न भएका छन् ।

यस अभियान अवधिमा पचास हजार पार्टी सदस्य वितरण र नवीकरण गर्ने उद्देश्य अनुसार हजारौं पार्टी सदस्य वितरण र नवीकरण भइसकेको छ । संगठनको सञ्जाल गाउँ, नगर र वडामा विस्तार भइरहेको छ ।

निर्मलाको बलात्कार, हत्या प्रकरण, वाइडबडी भ्रष्टाचार प्रकरणलगायत विभिन्न इस्यूहरुलाई लिएर आन्दोलनका कार्यक्रमहरु गरिरहेका छौँ । विभिन्न पक्षसँग ध्रुवीकरणका लागि राजनीतिक संवाद पनि गरिरहेका छौँ । यसबीचमा समाजमा राम्रो छवी भएका केही राम्रा व्यक्तिहरु पार्टी प्रवेश गर्नुभएको छ । सारमा भन्दा यस अभियानले पार्टीभित्र नयाँ जोश, जाँगर र आम जनतामा नयाँ शक्तिप्रति विश्वास र आकर्षण बढेको छ ।

‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ भनेको के हो ?
पाँच महिना भनेको मंसिरदेखि चैत्रसम्मको पाँच महिना हो । पाँच काम भनेको वैचारिक काम, संगठनात्मक काम, राजनीतिक संवादको काम, संघर्षको काम र ब्यवस्थापनको काम हो भने पाँच परिणाम भनेको यी पाँच काममा पाँच महिनापछि प्राप्त हुने पाँच परिणाम हो ।

माघ १५ देखि “असल राजनीति र समावेसी विकासका लागि जनसंवाद” को थिमसहित पुष्पलाल लोकमार्गमा गर्न लाग्नु भएको कार्यक्रम चाहिँ के हो नि ?
यो पाँच महिने अभियानभित्रको एउटा महत्वपूर्ण कार्यक्रम हो ।

यस कार्यक्रमको उद्देश्य ?
थिमले नै उद्देश्य बोलिरहेको छ । नेपालको परम्परागत राजनीति असाध्यै यथास्थितिवादी, प्रतिगमनकारी, विकृत र खराब हुँदै गइरहेको छ । राजनीति भनेको राज्य सञ्चालनको मुख्य नीति हो । मूल नै धमिलो भयो भने खोलोमा सङ्लो पानी खोजेर पाइँदैन । आज नेपाल र नेपालीको अवस्था त्यस्तै भइरहेको छ । हामी अग्रगामी वैकल्पिक राजनीतिको माध्यमद्वारा नेपाली राजनीतिको मूल सफा गर्ने महाअभियानमा छौँ । यो सजिलो काम पक्कै होइन । तर हाम्रो विश्वास छ, केही समय लागे पनि हामी सफल भइछाड्नेछौँ । नेपालमा असल राजनीति स्थापित गरिछाड्नेछौँ ।

नेपालमा विकासको कुरा हुन थालेको धेरै भइसक्यो । २–३ बर्षदेखि सबै पार्टीका नेताहरुको मुखमा समृद्धि शब्द झुण्डिएको छ । विकास र समृद्धि शब्द खुब लोकप्रिय बनेको छ आजकाल । तर बिडम्बना ! कस्तो विकास र कसरी समृद्धि ? भन्ने बिषयमा सत्ताधारीदेखि प्रतिपक्षी सबै नेताहरु अलमलमा देखिन्छन् । असफलसिद्ध पुँजीवादी र राज्यनियन्त्रित समाजवादी विचार र त्यही विचारद्वारा निर्देशित विकासका मोडलहरुलाई कपी गर्ने प्रयासभन्दा खास नयाँ मोडल कसैले पनि दिन सकिरहेका छैनन् । सिद्धान्तमै सही, कम्युनिष्टहरु समानताको नाममा सबलाई कंगाल बनाउन चाहन्छन् भने कांग्रेस धनीलाई अझ धनी र गरीबलाई अझ गरीब बनाउन चाहन्छन् । नयाँ शक्ति भने उत्पादनमा ब्यापक बृद्धि, समतामूलक वितरण, दीगो विकास र मानवीय खुसी चाहन्छ । यसको लागि हामीले समावेशी विकासको मोडल अघि सारेका छौँ ।

असल राजनीति, विकास र समृद्धिका लागि आफ्नो देशको माटो र त्यस माटोमा भिजेका मनहरुलाई गहीरोसँग नबुझिकन उनीहरुको अगुवाइ गर्न सकिन्न । जनता नै इतिहासका निर्माता हुन् । असली अर्थमा जनता नै गुरु हन् । हामी जनतासँग सिक्न जाँदैछौँ । जनताबाट लिएर जनतालाई दिनेछौँ ।

राष्ट्रिय राजनीतिमा तपाईंहरुको यस यात्राले अर्थ राख्छ र ?
सर्वत्र सत्ता शक्तिको बिगबिगी रहेको यस मौसममा हाम्रो आवाज सानो सुनिन सक्छ । हाम्रा प्रयासहरु अर्थहीन पनि लाग्न सक्छन् । तर हाम्रो विश्वास छ, हामी सत्यपथमा छौं । सत्यको आवाज शुरुमा सानो नै हुन्छ । तर त्यो यति बलशाली हुन्छ कि, अन्ततः जीत उसैको हुन्छ । आगोको बीऊ धेरै चाहिँदैन । डढेलो लगाउन आगोको एउटा झिल्को नै काफी हुन्छ ।

तपाईँ कार्यक्रमको तयारी गर्न अवलोकनमा निस्किनुभएको थियो, जनताको अपेक्षा के पाउनुभयो त ?
जनता विकल्पको खोजीमा छन् । चुनाव जितेको एक बर्ष नबित्दै हिजो जनतासामु गरेका प्रतिबद्धताहरु नेताहरुले बिर्सिसकेका छन् । विकृति, विसङ्गति, भ्रष्टाचार, महङ्गी, असुरक्षाको कारणले जनता वाक्कदिक्क बनेका छन् । सुशासन, पारदर्शिता, जवाफदेहिता, नैतिकता कुन चरोको नाम हो नेताहरुले बिर्सिसकेका छन् । जनताको जीवनस्तर झनझन कष्टकर बन्दै गइरहेको छ । भ्रष्टाचारीहरु छाती फुलाएर असनको साँढेझैं जुरो हल्लाउँदै हिँडिरहेका छन् । अपराधीहरु नेताहरुसँग कुम जोेडेर गोप्य कोठामा बैठक गरिरहेका छन् । पुलिस अपराधी खोजेको बहाना गरेको गरेकै छ । नेताहरुलाई संघीयता घाँडो भएको छ । प्रधानमन्त्री संविधान संशोधनको कुरै सुन्न चाहँदैनन् । समस्याको समाधान संवादबाट होइन, ‘अरिङ्गाल’रुपी कार्यकर्ता लगाएर गर्न चाहन्छन् । साँच्चै दुई तिहाईको यस कम्युनिष्ट सरकारको विकल्प चाहिरहेका छन् जनता । हामी विकल्पको बीऊ लिएर जाँदैछौं । जनता हाम्रो प्रतीक्षामा छन् ।

अभियानमा पार्टीको कुन तहसम्मका नेताहरु सहभागी हुन्छन् ? यो अभियान कहिलेसम्म कहाँ कहाँ चल्छ ?
अभियानमा संघ, प्रदेश र स्थानीय तीनै तहका अभियन्ताहरुको सक्रिय सहभागिता रहन्छ । पार्टीका संयोजक डा. बाबुराम भट्टराईको प्रत्यक्ष नेतृत्वमा, १७७६ किमिमा हुने यस लम्बे अभियान माघ १५ गते नेपाल–भारत सीमाना पाँचथरको चिवाभञ्ज्याङमा उद्घाटन हुनेछ । त्यसपछि २५ जिल्लाको ७५ ठाउँमा जनतासँग प्रत्यक्ष संवाद हुनेछ । र, फाल्गुण १५ गते बैतडीको झुलाघाटमा पुगेर यस कार्यक्रम समापन हुनेछ ।

अभियानको आर्थिक व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
पारदर्शिता हाम्रो पार्टीको प्रतिबद्धता हो । यात्राभर निरन्तर हिँड्ने संघीय टोली सानो हुनेछ । प्रदेश र स्थानीय तहका अभियन्ताहरुलाई प्रदेश र स्थानीय तहमा जोड्दै जानेछौँ । संघबाट अभियानमा सहभागी प्रत्येक सदस्यहरुले शुरुमा १०–१० हजार संकलन गरेका छौँ । प्रदेश र स्थानीय पार्टी कमिटीले आवास र खानाको व्यवस्थापन गर्नेछ । सम्भव भएसम्म हामी होटलमा बस्ने छैनौँ । हामीसँग आफ्नै स्लिपिङ्गब्याग हुनेछ । जनताको घरमा जनताकै शैलीमा हामी बस्नेछौं । खाजाको लागि सबैको साथमा मकैभटमास हुनेछ । जनतालाई हामी बोझ बोकाउने छैनौँ । कुनै मनकारी सहयोगदाताले सहयोग गर्न चाहन्छ भने हामी स–सम्मान सहयोग ग्रहण गर्नेछौँ । अभियान समापनपछि अभियानभरिको आय–ब्यय विवरण सार्वजनिक गर्नेछौँ ।

७५ ठाउँमा कार्यक्रम गर्ने त भन्नुभयो । ती कार्यक्रमहरुमा कस्ता कस्ता मान्छेहरु सहभागी हुनेछन् ?
यो पार्टीको आन्तरिक कार्यक्रम होइन । आम नागरिकसँग संवाद गर्ने अभियान हो । सर्बपक्षीय, सर्बदलीय, स्थानीय तहमा जितेका जनप्रतिनिधिहरु, विभिन्न पेशा, व्यवसायीहरु, विज्ञ, बुद्धिजीवीहरु साथै विभिन्न तहतप्काका आम नागरिकहरुसँग प्रत्यक्ष संवाद हुनेछ । उहाँहरुबाट प्राप्त सल्लाह, सुझावलाई अमूल्य सम्पत्तिको रुपमा संग्रहितसमेत गर्नेछौं । प्रत्यक्ष संवादबाट प्राप्त सल्लाह, सुझाव तीनवटै तहका सरकार र संसदलाई आवश्यकतानुसार बुझाउँदै पनि जानेछौँ । तसर्थ, यस प्रत्यक्ष संवाद कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य सल्लाह, सुझाव सक्रियतापूर्वक रखिदिनहुन सम्पूर्ण आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइसमक्ष विनम्रतापूर्वक अनुरोधसमेत गर्दछौं । नयाँ शक्ति नेपालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार