इलाम : इलाम जिल्लाको इलाम नगरपालिका बडा नं ९ स्थित सुकिलुम्बा डाँडामा निर्माणधिन सुकिलुम्बा पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । इलामबजारबाट करीब ६ किलोमिटरको दुरीमा पर्ने उक्त डाँडामा पर्यटकलाई आकर्षण गर्ने गरी पार्क निर्माण गरीएको हो ।
पूर्वकै पर्यटकीय जिल्ला इलाममा पर्यटकहरु भित्राउनका लागि स्थानीयहरु सक्रिय भइरहेको बेला स्थानीय सुकिलुम्बा धार्मिक क्षेत्र बिकास समिति पार्क निर्माणमा सक्रिय भएर लागीरहेको छ । समितिकै करीब ६ रोपनी जमिनमा पार्क निर्माण भइरहेको छ । हालसम्म बगैंचा, फूलबारी, पोखरी माथि पुल लगायतका संरचनाको निर्माण सम्पन्न भइसकेको छ ।
यो पार्क बनेसंगै यस क्षेत्रको प्रचार प्रसार बढ्ने, पर्यटकिय गन्तब्यको रुपमा बिकास हुने अपेक्षा स्थानियले राखेका छन् । स्थानीयबाट सहयोग संकलन गरेर पार्क निर्माण भइरहेको छ भने हाल सम्म तिन लाख बडि खर्च भइसकेको बताइएको छ । पार्कमा अझै धेरै कुराहरु निर्माण गर्नुपर्ने भएपनि आर्थिक अभावका कारण डिलाई भएको समितिका सचिब कमल मैनालीले जानकारी दिए ।
पार्कको निर्माण भएसंगै सो क्षेत्रमा आन्तरीक पर्यटकहरु आउने क्रम बढेको छ । पार्क स्थल रहेको डाँडाबाट इलाम जिल्लाका बिभिन्न स्थानहरु र तराईका फाँटहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
ओझेलमा सुकिलुम्बाको शिब मन्दिर
पार्क परिसरमा शिब मन्दिर र सिद्धदेवी थान समेत रहेको छ । गुफा समेत रहेको थानको प्रचार प्रसार नहुँदा ओझेलमा छ । धार्मिक बिश्वासका लागि स्थानीयले पूजाआजा समेत गर्दै आएका छन् । ‘प्रचार प्रसार नहुँदा यो क्षेत्र धार्मिक पर्यटकिय रुपमा प्रचुर संभावना भएपनि ओझेलमा परेको जेष्ठ नागरिक गायत्री गौतमकाे भनाइ छ ।
#दिपकराज शर्मा #राजीब न्यौपाने #प्रकाश नेपाल