काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका १० वटा विषयगत समितिको नेतृत्व चयनका लागि आज मनोनयन दर्ता गरिँदैछ ।
संसद् सचिवालयले आज बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी प्रस्ताव गर्न सकिने जनाएको छ । समितिमा सभापति हुन चाहने सांसदले कम्तिमा एकजना प्रस्तावक र एकजना समर्थक राख्नुपर्नेछ ।
सबै १० वटा समितिमा दर्ता हुन आएका उमेदवारको सूची आजै बेलुका प्रकाशन गरिने छ । नेतृत्व चयनका लागि भोलि निर्वाचन हुनेछ ।
भोलि बिहान ११ बजे बस्ने समितिको बैठकमा दर्ता क्रम अनुसार उम्मेदवारको नाम निर्णयार्थ प्रस्तुत गरिने नियमावलीमा व्यवस्था छ । जुन उम्मेदवारको पक्षमा समितिको बैठकमा पहिलो बहुमत पुग्छ त्यो नै विजयी हुन्छ ।
सभापतिमा एकमात्र उम्मेदवार प्रस्ताव दर्ता भए निर्विरोध घोषणा गरिनेछ ।
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक समिति रहेका छन् ।