पूँजी, प्रतिस्पर्धात्मक उद्यम र बेरोजगार

  एकराज दुलाल
35 Shares

देशमा सम्पूर्ण सेवा सुविधाहरु उपलब्ध हुनु र आर्थिक बृद्धिदर उच्च हुनु महत्वपूर्ण हो । नेपालमा अहिले यस्तो स्थिति ज्यादै कम छ । हाम्रो समाजमा अहिले वेरोजगारीको डरलाग्दो तथ्य सार्वजनिक भइरहेको छ । यसो हुनुको प्रमुख कारण राजनैतिक,आर्थिक र समाजिक समस्याहरु हुन् । रोजगारीको उचित व्यवस्था नहुनु तथा उद्यमशीलताको ज्ञान र पूँजीलाई आम्दानी हुने क्षेत्रमा लगानि गर्न नसक्दा अहिले यो त्राहि त्राहि को स्थिति आएको हो । देशमा औद्योगिक विकाश हुन नसकेको वर्तमान परिप्रेक्षमा संमृद्ध विकाश गर्ने उद्यमशील पूँजी ज्यादै लोकप्रीय बन्दै गएको देखिन्छ । राज्य औद्योगिक तवरबाट अघि बढ्न सकेन भन्ने विषयमा केन्द्रित प्रश्न यतिखेर उत्कर्ष बनेका छन् ।

पूँजीको प्रयोग गरी असल उद्यमी बन्ने शुद्ध वातावरण निर्माण अर्थात् समाजमा प्रतिस्पर्धात्मक बजार कायम भयो भने मात्र हामी सफल उद्यमी हुन्छौँ भन्ने मान्यता राखेको “स्वतन्त्र लगानी” केवल स्वतन्त्र अर्थव्यवस्थामा मात्र हुन सक्छ । लगानी र नाफा,गुणस्तरीय बस्तुको उत्पादन,माग र पूर्तिको समन्वय आदि उदेश्यमा यो एक सङ्घर्ष हो । “संघर्ष एक बृहत प्राप्ति हो” । उद्योग सञ्चालनमा एकाधिकार हुनु भनेको समाजप्रतिको विकाश र समृद्धिको उदेश्यमा बाधा उत्पन्न हुनु हो । अर्को पाटोबाट हेर्दा आर्थिक स्वातन्त्रताले के पनि सिकाउने गर्दछ भने उद्यमशील पूँजीलाई हामीले कसरी विभिन्न क्षेत्रमा लगानि गर्न सक्छौँ र कुन कुन क्षेत्रमा लगानि गर्न सकिन्छ भन्ने मनोवैज्ञानिक भावनामा बृद्धि गर्ने भएकाले वर्तमान समयमा यो निकै चर्चित छ ।

आफ्नो सम्पत्ति उत्पादनशील क्षेत्रमा प्रयोग गरी उद्यमी बन्नु पनि आर्थिक स्वतन्त्रता हो । यो अहिले त अघिकार जस्तो पनि बनेको छ । हरेक नागरिकले लगानि गर्ने वातावरण पाउनु उसको अधिकार हो । सफल राजनैतिक व्यवस्थामा वितरणमुखी पूँजीको स्वतन्त्रता हुनु आवश्यक छ । एउटा उद्योगबाट नाफाका रुपमा प्राप्त पूँजी अर्को नाफामुखी क्षेत्रमा लागनि गरेर पूँजीको वितरण गर्न सकिन्छ । जव पूँजीको वितरण छरिएर हुन थाल्छ तव मात्र नयाँ उद्यमीहरु बजारमा आउन सक्छन् । वितरणमुखी पूँजीले समाज र देशको विकास गर्न पनि सहयोग पु¥याउने गर्दछ । उद्यमशीलताका सन्दर्भमा भन्ने हो भने त सामान्य बस्तुको उत्पादनमा अथवा हरेक क्षेत्रमा लगानि गर्ने उद्यमीहरु प्रतिस्पर्धी भए भने गुणस्तरीय बस्तुको उत्पादनमा सहयोग पुग्न आउँदछ । नेपाली समाजमा अहिले बेरोजगारीको स्थिति धेरै देखिएको छ । यसको कारण व्यक्तिमा पर्ने मनोवैज्ञानिक असर हो । लगानिको बातावरण सम्बन्धी ज्ञान,सीप र जिज्ञासा नहुनु हो ।

समाजमा जनचेतनाको अभावमा पनि कतिपय मानिसहरु वेरोजगार भएर विदेशिनु परेको ज्वलन्त उदाहरणहरु देखिन्छन् । अशिक्षित र अज्ञानतालाई जनचेतनाको माध्यमबाट “नयाँ खोज अथवा नयाँ उद्यम कसरी गर्न सकिन्छ ?” भन्ने जिज्ञासा मेटाउन सकियो र विदेश जान गरिने लगानिहरुलाई स्वदेशमै लगानि गरियो भने नयाँ उद्यम कायम हुन सक्छ । हामीसँग स्रोत र साधन हुँदा हुँदै लगानि गर्नबाट पर भाग्नुको अर्थ समृद्धिबाट पर भाग्नु हो । त्यसैले समृद्ध भएर पनि बेरोजगारीको भार बोक्न बाध्य छौँ ।

सामान्य समाधान के त ?

— करको दर र दायराले मुद्राको क्रय शक्तिमा आएको ह्रास अथवा व्यापार—व्यवसायमा आएको मन्दिको प्रभावले गर्दा नयाँ रोजगारी सिर्जनामा कमि तथा पुरानो रोजगारीका अवसरहरु समेत संकटमा पर्ने भएकोले बेरोजगारी समस्या उत्पन्न भएको पाइन्छ । यसको लागि सन्तुलित कर र व्यापार व्यवसायमा हौसला प्रदान गर्ने खालका ठोस नीति बनाएर अघि बढ्ने हो भने यो समस्या कम हुन सक्छ ।

— साना देखि ठूला उद्योगहरुमा मानवीय श्रम शक्तिको प्रयोग गरी उत्पादन बढाउने खालका उद्योगहरुको विस्तार गर्ने तथा श्रमले हुने ठाउँमा प्रविधिको प्रयोग कम गर्ने हो भने पनि यो निर्मुल हुन सक्छ ।

— नेपाल कृषि प्रधान देश भएको कारणले कृषि क्षेत्रमा सरकारले बजेट छुट्याएर मौसम अनुसारको नगदेवालीमा कृषकलाई जनचेतना दिने खालका नीति तथा कार्यक्रमहरुको पहुँचमा राख्ने हो भने पनि एकातर्फ बेरोजगारको समस्या समाधान हुन सक्छ ।

— हाम्रा जनप्रतिनिधिहरु सुशासन र कुशल नेतृत्वमा रहने हुनुपर्छ । तर हाम्रो समाजमा चरम भ्रष्टाचार तथा असक्षम नेतृत्वको कारणले समेत बेरोजगारी समस्या उत्पन्न भएको पाइन्छ । त्यसैले यसको नियन्त्रणको लागि ठिक व्यक्ति ठिक ठाउँमा जिम्मेवार भएर लाग्ने खालका प्रतिनिधिहरु जनताले चयन गरी नेतृत्व गराउनु पर्दछ । सक्षम नेतृत्व भयो भने पूँजी परिचालनमा डर तथा त्रासको अवस्था सिर्जना हुने थिएन र लगानि गर्नमा सवै एकचित्त भएर लाग्ने थिए यसबाट पनि समस्या समाधान हुने थियो ।

— सञ्चारमाध्यमलाई प्रयोगमा ल्याएर उद्यमशीलताका विषयबस्तुहरुमा बहस गराई अथवा उद्यमी कसरी बन्न सकिन्छ भन्ने किसिमका व्यवसायिक कार्यक्रमहरु सिर्जना गरि सम्पूर्णमा जनचेतना जगाउने हो भने पनि काफी हद तक समस्या समाधान हुन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार