सालकको खबटासहित १ पक्राउ

दोलखा : जिल्ला प्रहरी कार्यालय दोलखाले संरक्षित वन्यजन्तु सालकको खबटासहित एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान ९ बजे भीमेश्वर नगरपालिका–७ भुलभुलेबाट वडा–६ घर भएका ५३ वर्षीय होमबहादुर थापालाई पक्राउ गरिएको हो ।

पुच्छर, नंग्रा, छालासहितको २७ इन्च लम्बाइ, ९ इन्च चौडाइ भएको ३ सय ८० ग्रामको खबटा बिक्रीका लागि लैजाँदै गर्दा थापालाई पक्राउ गरिएको हो ।

विशेष सूचनाको आधारमा पक्राउ गरिएको थापालाई आवश्यक अनुसन्धान गरी जिल्ला वन कार्यालयमा बुझाइएको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले जानकारी दिए । पक्राउ परेका थापाले करिब ३ वर्षअघि नै सालकको सिकार गरी खबटा घरमै राखेको बयान दिएका छन् । घरको आसपासमै सालक देखेपछि लठ्ठीले हिर्काएर उनले मारेका थिए ।

सालकको खबटा बिक्री गर्दा रकम प्राप्त हुने सुनेपछि थापाले सालकलाई मारेका थिए । सालक सिआइटिइएस महासन्धि १९७५ को अनुसूची १ अनुसार लोपोन्मुख प्रजातिको सूचीमा सूचीकृत जनावर हो ।

सालकको ओसारपसार र बिक्री वितरण गरे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २१ (१) ‘क’ मा भएको व्यवस्थाबमोजिम कारबाही हुने कानुनी प्रावधान छ ।

ऐनअनुसार सालक मार्ने, ओखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसारपसार गर्नेलाई ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको जिल्ला वन कार्यालय दोलखाका अधिकृत गोविन्द दाहालले जानकारी दिए ।
भालुको आक्रमणबाट १ घाइते

यसैगरी, दोलखाको विगु गाउँपालिमा भालुको आक्रमणबाट बुलुङखानीकी ५० वर्षीया विष्णुकुमारी श्रेष्ठ घाइते भएकी छन् । चौँरीको स्याहार गर्न घरबाट गोठतर्फ हिँडेकी श्रेष्ठलाई आइतबार साँझ भालुले आक्रमण गरेको थियो । उनको टाउको र हातमा चोट लागेपछि उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ । उक्त आक्रमण गौरीशंकर संरक्षण क्षेत्रभित्र भएको पछिल्लो घटना हो ।

वन्यजन्तु बस्तीमा पसेर मानिस, चौपाया र बालीनालीमा क्षति पु¥याउन थालेपछि संरक्षण क्षेत्र आसपासका बासिन्दामा त्रास र चिन्ता बढेको छ । संरक्षण क्षेत्र स्थापना भएको आठ वर्षमा भालु र चितुवाको आक्रमणले धेरै अंगभंग भएका छन् ।

विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काका अनुसार वन्यजन्तुले मानिस, चौपायासँगै खोतबालीमा पनि हानि बढेको छ । बाँदर र दुम्सीले बालीनालीमा बढी क्षति पु¥याइरहेको अध्यक्ष खड्काले बताए । सैर्य दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार