रम्भ्याङमा १५ लाख बढिको काँक्रा उत्पादन

गोविन्द पौडेल

रोङ : रोङ गाउँपालिका वडा नम्बर ६ रम्भ्याङमा मात्रै यस वर्ष काँक्रा खेतीबाट १५ लाखभन्दा बढि रकम भित्रने भएको छ ।

बिगत ६/७ वर्षदेखी व्यवसायिक रुपमा गरिदै आएको काँक्रा खेतीमा लागेका किसानहरुलाई हालसम्म सरकारी निकायबाट कुनै सहयोग नभएपनि यसबर्ष यस टोलबाट करिव एक लाख वटा काँक्रा उत्पादन हुने भएकोले सो रकम गाउँमा भित्रने भएको हो ।

जेठको पहिलो साताबाट उत्पादन हुने गरेको काँक्रा धनसरी कृषि समुहले सातामा दुई गाडी, विभिन्न व्यापारीहरुले झापाको चारआली दुई गाडी, झापाको गाडागल्ली, बाहुण्डागी, काँकडभिट्टा र भारतको नक्सालबाडी चार गाडी लैजाने गरेका छन् ।

यसका सताथै किसान स्वयंले पनि दैनिकजसो गरेर साप्ताहिक रुपमा चालिस बोरा जति लैजाने गर्दा सातामा करिव आठ हजार काँक्रा उत्पादन भईरहेको छ । जेठदेखी भदौ पहिलो सातासम्म उत्पादन हुने काँक्रा एक लाखको संख्यामा हुने उत्पादनको सुरुमा ४५ रुपैयाँदेखी ८ रुपैयाँसम्म प्रतिगोटा बेचिदा सरदरमा १५ रुपैयाँको तथ्याङ्क लिने हो भनेपनि १५ लाख रुपैयाँ सजिलै भित्रने भएको हो ।

किसानहरुले स्थानीय जातको काली काँक्रालाई आफ्नै तरिकाले सुधार गरेर खेती गर्दा एक किसानले सातामा आठ सय भन्दा माथिसम्मको उत्पादन गर्ने गरेका छन् । आफ्नै बारीमा रहेको बाँसको प्रयोग गरि मोचन बनाएर बेर्ना तैयार गरेर रोपिने गरेको काँक्राको खेतीमा समस्या आउन थालेको भएपनि हालसम्म रोङ कृषि शाखाले एउटा अभिमुखीकरण बाहेक हालसम्म कसैले कुनै सहयोग नगरेको किसानहरुको गुनासो रहेको छ ।

कच्ची बाटो भएको कारण यहाँबाट उत्पादन गरेको एउटा काँक्रा बजारसम्म पुर्याउन प्रतिगोटा ४ रुपैयाँ ३३ पैसा भाडा मात्र लाग्ने गरेको छ । गत वर्षहरुमा किसानहरु असंगठित हुदा व्यापारीहरुले मनोमानी मुल्य निर्धारण गर्ने गरेको भएपनि यस वर्षदेखी किसानहरु संगठित भएर सहकारीको सिद्धान्तको आधारमा बजारीकरण गर्दा लागेको खर्चमात्रै कटाएर मुल्य निर्धारण गरिने भएपछि भने व्यापारीहरुले पनि आफुखुसी मुल्य कायम नगरेकोले सबै किसानहरुलाइ फाइदानै भएको किसान श्याम आचार्यले बताए ।

कृषि प्रधान मुलुकमा किसानले केही गर्छौं भनेर जुर्मुराएको बेलामा सरकारी पक्ष र कृषि क्षेत्रमा क्रियाशील गैर सरकारी संस्थाहरुले प्राविधिक र प्रर्वधानात्मक कार्य गर्न सके आर्थिक समृद्धिको सपना पुरा हुने अपेक्षा रहेको धनसरी कृषि समुहका अध्यक्ष समेत रहेका किसान इन्द्र प्रधानको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार