भानु जयन्ती: दार्जिलिङको ‘वडादशैं’

भिरालोहरुबीचको समथर भागमा छ चौरस्था । पछिल्लो भागमा माहांकाल बाबा विराजमान छन् । अघिल्तीर भानु उभिएका छन् । भानु अगाडी भानुकै शिष्यहरु छन् । असारे झरीले चौरस्था भिजेको छ । चौरस्था ओसिलो भएको छ । दौरा-सुरुवाल ढाका टोपी अनि चौबन्दी चोली र फरियाले नरनारी सिंगारिएका छन् । कसैले भानुको टोपी ढल्काएका छन् । लाग्छ, कुनै महान चाडको रौनक चल्दैछ । माहोल हेरेर कल्पना गरौं, यहाँ कोही विभुती अर्थात विशिष्ट व्यक्तिको आगमन हुँदैछ । कुनै मेला-महोत्सवको तयारी हुँदैछ । झरी होस या रापिलो घाम किन नहोस प्रत्येक असार २९ दार्जिलिङको चौरस्था सधैं यसरी नै रन्किन्छ ।

लाग्छ शरद ऋतुमा पर्ने महान चाडहरु बर्षाद ऋतुमै मनाईदैछ । बर्षादमै दार्जिलिङेहरुले महान राष्ट्रिय चाड बडादशैं सामूहिक रुपमा मनाइरहेका छन् । विहानीको झिसमिसेदेखि नै पहाडकी रानीलाई भूइँ कुहिरोले गमक्कै छोपेर सिमसिमे पानीले लुथु्रकै भिजेका साहित्यअनुरागीहरु भानु जयन्तीको दिन चौरस्था चोक खचाखच छन् । तामझामका साथ आयोजकहरु तयारीमा तल्लीन छन् । महान चाड मनाउने तयारी गरिएजस्तै चौरस्था झकिझकाउ छ ।

देख्दा लाग्छ साँच्चै नेपालकै एउटा कुनै जिल्लामा भब्य रुपमा भानु जयन्ती मनाइँदैछ । त्यहाँ रहेको भानुको सालिकलाई विहुली झैं सिगारिएको छ । सयौें संख्यामा भेला भएका साहित्य प्रेमीहरु भानुजयन्ती मनाउन वेफूर्सदिला भएका छन् । कुनै उल्लासमय चाड वा उत्सव जस्तो लाग्छ त्यहाँको परिवेश नियाल्दा । अन्ततः त्यहाँको परिवेषलाई बुझिसकेपछि लाग्छ दार्जिलिङबासीहरु भानुजयन्तीलाई राष्ट्रिय पर्वका रुपमा नै मान्दै आएका रहेछन् ।

माथि ब्याख्या गरिएको प्रशंग दार्जिलिङमा बर्षेनी मनाईदै आएको भानु जयन्तीको सन्दर्भ हो । यस्तो रौनक दार्जिलिङमा हरेक असार २९ मा देख्न पाईन्छ । नेपाली भाषा साहित्य, संस्कृति भनेपछि मरिमेट्ने दार्जिलिङेहरुले नेपालको एउटा कुनामा जन्मेका भानुभक्तको जन्म जयन्ती यत्रो उल्लासका साथ मनाउन थालेको बर्षौं भइसकेको छ । चुँधी रम्घामा मात्र होइन राजधानी काठमाडौंमा पनि भानुलाई स्मरण गर्ने कुनै महान तयारी नभएर के भयो र सिमापारीको यो ‘पहाडकी रानी’मा रौनक बेग्लै हुनेगर्छ ।

नेपाली भाषा, साहित्यका पहरेदार दार्जिलिङेहरुको मन चंगा झै उड्छ यस दिन् । रामायणको श्लोकलाई भाका हालेर गाँउदै पाका देखि तन्नेरीहरु हौसिन्छन् । खैजडी र अन्य बाजागाजामा चौरस्था साँच्चै गुञ्जायस हुने गर्छ । नेपाली जाती, साहित्य संस्कृतिमा एकताको प्रतिक मानिंदै आएका भानुभक्तको जन्मजयन्तीलाई लामो समयदेखि भारतीय नेपालीहरुले एकसुत्रमा वाँधी नै राखेका छन् ।

प्रत्येक वर्ष चौरस्था चोकमा भरिएको सयौं विद्यार्थी तथा साहित्य र भाषाप्रेमीहरुको भीडभाडपूर्ण जनमानसले नेपाली साहित्यलाई जगेर्ना गर्न नेपाल भन्दा पूर्वोत्तर भारत नै नेपालीहरुका लागि गन्तब्य बन्ने गर्दोरहेछ भन्ने भान हुनु नौलो होइन । त्यती मात्र नभएर सिक्किम, आसाम, मणिपूर, नागाल्याण्ड, सिलिगुडी पनि नेपाली भाषा साहित्यका क्षेत्रमा त्यतीनै सम्मान गर्ने भूमिका रुपमा चिनिन्छन् । नेपाली राष्ट्रिय पोशाकमा सजिएर भानु जयन्ती मनाउन निस्कने दार्जिलिङ्गेहरु वरिष्ठ साहित्यकार लिलवहादुर क्षेत्रीले १९५५ ताका नै भारतमा भानु जयन्ती मनाउन शुरुवात गरेपछि दार्जिलिङ्ग र सिक्किममा यस दिनले निकै प्रभाव पाउन थालेको बताइन्छ ।

सात दशक अघि देखि नै मनाउन थालिएको भानु जयन्ती हालसम्म आइपुग्दा नेपाली साहित्यले पूर्वोत्तर भारतमा ठूलो फड्को नै मारिसकेको छ । हिजोआज साहित्यिक कार्यक्रम साथै नेपाली उपन्यास, कविता सग्रह, निवन्ध सग्रहहरु दार्जिलिङ्ग–सिक्किमतिर नै वढी प्रकाशित हुने गरेका तथ्याङ्कले देखाउँछ ।  गोर्खाल्याण्ड आन्दोलनमा नेपाली भाषाका लागि उठाइएका शसक्त आवाजहरु सन् १९९२ मा भारतीय संविधानमा नेपाली भाषाले स्थान पाउनु पनि भानुजयन्तीवाट प्रस्फूटित भएको प्रेरणा नै मान्छन् दार्जिलिङ्गेहरु । हिजोआज गोर्खाल्याण्ड आन्दोलनले केही असर परेपनि यो उल्लासलाई कमी हुन भने दिइएको छैन ।

हुनत डा.इन्द्रवहादुर राई, डा. लक्की देवी सुन्दास, मार्टिन माइकल, पारीजात, लैनसिहं वाङदेल, अगमसिहं गिरी, राजनारायण प्रधान साथै हायमानदास राई, विन्दिया सुब्बा लगायतले पनि दार्जिलिङको साहित्यलाई स्थापित गराउन श्रेय जान्छ । उनीहरुले सुरु गरेको भानु जयन्तीको रौनकलाई अहिलेको पुस्ताले पनि जोगाइ राखेका छन् । साँच्चै भन्ने हो भने यहाँको साहित्य उर्लदो गतिमा छ ।  यहाँका सार्वजनिक भवन, वाटो, पाटी पौवाको नामकरण पनि प्राय: नेपाली साहित्यकारहरुकै नाम उल्लेख गरिएको पाइन्छ । यसले पनि साहित्यलाई माथि उठाएको छ । यहाँका नेपालीहरुका निम्ति भानुभक्तलाई नेपाली भाषा, साहित्य र जातीको पथप्रर्दशक नै मान्छन् ।

प्रत्येक वर्ष भानु जयन्तीको दिन चौरस्था चोकमा भानुभक्तको शालिक अगाडि देखिएको सक्रिय साहित्यकार तथा विद्यार्थीहरुको उल्लासमय भीड साथै दौरा सुरुवाल र चौवन्दी चोलीमा सजिएकाहरुको स्वरवाट बाचन गरिएको कविता तथा रामायणका श्लोकले अझ दार्जिलिङको साहित्यप्रतिको लगनशीलता र निरन्तरता हटेको रहेनछ भन्ने प्रष्ट देखिन्छ ।भानुले वि.स. १८९८ मा रामायणको ‘वालकाण्ड’ लेख्न सुरु गरी १९१० मा तयार भएको कृती यतिबेला खण्ड–खण्ड दार्जिलिङेले अहिले पनि बाचन गर्ने गर्छन । श्लोक गाएर गोर्खाली हुनुमा गर्भ गर्छन् ।

त्यसैले यसबर्ष पनि गोर्खाल्याण्डको अस्तित्व रामायणको श्लोकसँगै चौरस्ता गुन्जाइने छ । कालेम्बुङ चोकबजारमा भानुको जिवित इतिहास स्मरण गरिने छ । पूर्वोत्तर भारतमा विकास हुदैं गएको नेपाली साहित्य नेपालको भन्दा धेरै माथि छ भन्ने भान गराइनेछ । असार २९ मा भानुको जन्मजयन्तीमा चौरस्तामा भेला भएका देशी–विदेशी साहित्यकारहरुले यसपाली पनि राामायणका श्लोकहरु गाएर चौरस्ता गुञ्जयामान बनाइने छ । भानु जयन्तीको शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार