अदुवा निकासीमा भारतीय प्रतिबन्ध हट्यो

नेपाली अदुवा भारत निर्यातमा लाग्दै आएको प्रतिबन्ध हटेको छ । भारतले अदुवा आयातमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउँदै नयाँ व्यवस्था लागू गरेको हो ।

भारतले विदेशबाट अदुवा आयातमा रोक लगाउँदै आएको थियो । नेपाललाई सो सूचीबाट हटाउँदै ताजा अदुवा निर्यातमा भारतले बाटो खोलिदिएको छ ।

भारतको बाणिज्य तथा उद्योग मन्त्रलाय अन्तरगतको वाणिज्य विभागले विदेश व्यापार नीति संशोधन गरेर सहज प्रवेश दिने नयाँ व्यवस्था लागू गरेको हो । बाणिज्य मन्त्रालयका प्रवक्ता रबिशंकर सैंजुले नयाँ व्यवस्थाले नेपाली किसानलाई अदुवा निकासी गर्न सहज हुने बताए । सैंजुले भारतले आफूहरुलाई पत्र लेखेर आगामी दिनमा अदुवा निकासीमा समस्या नबल्झने प्रतिवद्धता जनाएको समेत उल्लेख गरे ।

‘भारतले हामीलाई पत्रमार्फत नयाँ व्यवस्थाबारे जानकारी गराएको छ । अब हामीले पठाउने अदुवालाई सहज प्रवेशमा रोक लाग्ने छैन” सैंजुले भने “यसले किसानलाई सजिलो बनाइदिएको छ ।” भारतले गत वर्षबाट जिएसटीमार्फत वस्तु तथा सेवा सम्बन्धी नयाँ करको नीति लिएसँगै नेपाली अदुवा निकासी रोकिएको थियो ।

नेपालमा वार्षिक रुपमा ४ लाख टन अदुवा उत्पादन हुन्छ । यसको करिब १० प्रतिशत स्वदेशमा खपत हुने गरेको छ भने वाकीँ विदेश निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०७२/०७३ मा करिब ६४ करोडको अदुवा निर्यात भएकोमा जिएसटीकै कारण आर्थिक वर्ष २०७३/०७४ मा सो रकम घटेर २४ करोडमा खुम्चिएको थियो । बजार नपाएर गत वर्ष ठूलो मात्रामा अदुवा खेर गएको थियो ।

भारतको नयाँ व्यवस्थाले किसानले बजार पाउने तथा अदुवा निकासी बढ्ने अपेक्षा गरिएको छ । यद्यपी विभिन्न बहानामा नेपालबाट हुने कृषिजन्य सामाग्रीको निकासीमा बखेडा झिकिरहने भारतले अदुवालाई भने सहजरुपमा प्रवेश गर्न दिन्छ भन्नेमा किसानहरु अझै विश्वस्त देखिँदैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार