स्थानिय सरकार संचालन सम्बन्धि क्षमता अभिवृद्धि तालिम

युद्धबहादुर बोहोरा
पाँचथर : फाल्गुनन्द गाउँपालिकामा स्थानिय सरकार संचालन सम्बन्धि क्षमता अभिवृद्धि तीन दिने तालिम सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति पाँचथरको आयोजनामा स्थानिय सरकार संचालन ऎन,वडा र विषयगत समिति तथा अन्तर सम्बन्धित विषय सम्बन्धि तालिम संचालन गरिएको थियो। गाउँपालिका अध्यक्ष अम्बरकुमार नेम्बाङको अध्यक्षतामा जिल्ला समन्वय अधिकारी गिरिराज ज्ञावली,प्रशिक्षक सुमन ढकाल र दुर्गा तिमल्सिनाले प्रशिक्षणका साथमा तालिम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष नेम्बाङले आगामी आर्थिक वर्ष देखि हरेक योजना बैशाख भित्र सम्पन्न गर्ने, बालविवाहको न्यूनीकरण गर्ने र संविधानमा स्थानीय तहका लागि उल्लेख भएको कानुनलाई अक्षरस पालन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो। सङ्घ,प्रदेश र स्थानीय तह बीचको सहकारिता,सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न र स्थानीय तहलाई सुदृढीकरण गर्ने उद्देश्यले तालिम संचालन भएको हो।
कानुनी राज्य र दिगो विकासको अवधारणालाई मध्यनजर गरि स्थानीय नेतृत्वको विकास भए मात्रै स्थानीय शासन पद्धति पारदर्शि,उत्तरदायि र सेवामूलक बन्ने प्रशिक्षले बताउनु भयो। तालिममा स्थानीय सरकार संचालन ऎन २०७४ बारे जानकारी, योजनामा अन्तर सम्बन्धित विषयहरु,स्थानीय तहको बजेट तर्जुमाका आधारहरु र वडा समिति,पालिका अध्यक्ष,उपाध्यक्ष र कार्यपालिकाको काम कर्तव्य र अधिकार बारे प्रशिक्षण भएको थियो। तालिमको अन्त्यमा प्रशिक्षकले हरेक गाउँपालिकामा बनेको ऎन कानुनहरु धेरै जसो कार्यान्वयन नभएकोले यस प्रशिक्षण पछि नागरिकको अवस्थामा सुधार हुने गरि लागु होस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो। तालिममा कार्यपालिका सदस्य,वडा समिति सदस्य, वडा सचिव र गाउँपालिका विषय शाखा प्रमुख गरि जम्मा ४० जनाको सहभागिता रहेको थियो।

युद्धबहादुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार