इलाम, असार १९ । आर्थिक वर्ष सकिँनै लाग्दा ईलाममा विकासको दौडधूप सुरु भएको छ ।
लक्ष्यअनुसार खर्च नभएकोले खर्च देखाउनका लागि आर्थिक वर्षको अन्तिममा खर्च धमाधम गर्न थालिएको हो ।
गएको ११ महिनासम्म विकास निर्माणका कामले लक्ष्यअनुसार गति लिन नसकेपनि आर्थिक वर्षको अन्तिम महिनामा ईलाममा विकासको चटारो देखिएको छ ।
विकासका लागि छुट्टाइएको आधा रकम पनि निर्धारित समयमा सकिने छाँटकाट नदेखिएपछि अधिकारीहरु जसरी पनि खर्च गर्ने होडबाजीमा उत्रेका छन् ।
समय रहुन्जेल वास्ता नगर्ने जब समय सकिन थाल्छ तब जसोतसो देखावटी विकास गर्ने विगतकै संस्कार यतिबेला पनि देखिएको छ । सम्बन्धित निकायको यस्तो प्रवृत्ति हेर्दा जब राति तब बुढी ताति भनेजस्तै भएको छ ।
बृहत योजना र तयारीबिना हतारमा काम गर्दा एकातिर काम गुणस्तरहीन हुनु त छँदैछ अर्कोतिर वर्षेनी ठूलो रकम त्यत्तिकै दुरुपयोग भइरहेको छ ।
जिल्लास्थित जिल्ला समन्वय समिति, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिंचाई, लगायतका सरकारी कार्यालयहरुको खर्च चौथो चौमासिकममा बढी भएको कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका लेखापाल मान भक्त श्रेष्ठ बताउँछन् ।
हतारमा विकास गर्दा स्थानीयको दैनिकीलाई समेत असहज बनाएको छ । पुल भवन निर्माण र सडक निर्माण भइरहेका कारण हप्तौँदेखि कतिपय ठाउँमा सवारी आवतजावत ठप्प छ ।
ठेकेदार कम्पनी समयमा बजेट निकासा नहुँदा छोटो समयमा धेरै काम गर्नुपरेको बाध्यता सुनाउँछन् ।
आर्थिक वर्षको अन्त्यमा सबै काम सक्नुपर्ने बाध्यता भएकाले गुणस्तर पनि खस्किएको छ ।
सरकारले असार मसान्तमा हुने काम अन्त्यलाई सारेर पुष मसान्तमा सार्न सके समस्या समाधान हुने निर्माण व्यवसायी संघ इलामका अध्यक्ष सुवास चिपालु बताउँछन् ।
इलाममा मात्रै होइन अवस्था अन्य जिल्लाको पनि अवस्था उस्तै छ ।
हतारमा र नाटकीय रुपमा काम गरेजस्तो गरेर बजेट सकाउने संस्कारलाई छिट्टै सुधार्न नसके जनापेक्षाअनुसार विकासले बाटो नसमात्ने निश्चित छ ।