तरकारी निर्यातमा भारतको बखेडा

इलाम : भारतले अदुवा, अलैंची, चियालगायत नगदे बालीपछि नेपाली तरकारी निर्यातमा अवरोध गरेको छ। पूर्वको मुख्य व्यापारिक नाका झापाको काँकडभिट्टास्थित भारतीय भन्सारले नेपालबाट निर्यात गर्ने सूचीमा नरहेको भन्दै टमाटर, फूलगोभी, स्कुस र मटर निर्यातमा रोक लगाएको हो। यससँगै तरकारीको मूल्य ओरालो लागेको छ भने उत्पादित तरकारी कुहिने अवस्था आएको छ।

इलाम, पाँचथर, तेह्रथुमको आठराईमा उत्पादित टमाटर, स्कुस, फूलगोभी, मटर सिजनअनुसार झापाको कृषि थोक बजार हुँदै पश्चिम बंगालको सिलिगुडी निर्यात हुने गरेको थियो। केही महिनाअघि मटर निर्यात रोकेको भारतले टमाटरको मुख्य सिजनमै अवरोध गरेपछि किसानको उत्पादन खरिद गर्न पनि समस्या भएको कृषि थोक बजारका व्यापारी खगेन्द्र महतले बताए। भने, ‘आम्दानी हुने मुख्य सिजनमै टमाटर निर्यातमा अवरोध गरेपछि किसान र व्यापारी दुवै मर्कामा परेका छन्।’

बिर्तामोडमा प्रतिकिलो २० रुपैयाँमा टमाटर कारोबार हुँदा इलाममा १३ रुपैयाँ रहेको सूर्योदय नगरपालिका–१० याङका व्यापारी हीरालाल थापाले बताए। स्थानीय किसानबाट तरकारी संकलन गरी बिर्तामोडका व्यापारीलाई बिक्री गर्ने थापाले टमाटर उत्पादन सुरु हुनासाथ मूल्यमा आधाभन्दा बढी गिरावट आएको बताए। ‘एक साताअघि किसानबाट प्रतिकिलो ३१ रुपैयाँमा खरिद गर्दै आएकोमा अहिले १३ रुपैयाँमा झरेको छ’, उनले भने।

१८ सय बिरुवा लगाएको किसानले उत्पादन अवधिभर ५१ हजारभन्दा माथि लगानी गर्ने गरेको सूर्योदय नगरपालिका–१२ का अगुवा किसान मदन राईको भनाइ छ। ‘यो मूल्यमा बिक्री गर्दा त हामीले लागत पनि पाउँदैनौं’, उनले भने, ‘अब भारततर्फ जाने टमाटर झापामै रोकियो भने झन् समस्या हुने भयो।’

सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायत क्षेत्रका किसानले व्यावसायिक रुपमा टमाटर खेती गर्ने गरेका छन्। गत वर्ष बारीबाटै ४० रुपैयाँ प्रतिकिलो बिक्री भएको टमाटरको भाउ अहिले चार गुणा घटेको किसानको गुनासो छ। व्यापारी महतका अनुसार भारतले अवरोध नखोले मूल्य अझ तल आउने अवस्था छ।

भारतीय भन्सारले टमाटर, फूलगोभी, स्कुस र मटर नेपालबाट निर्यात गर्न रोक लगाएपछि किसान र व्यापारी दुवै समस्यामा।

स्कुस र फूलगोभी उत्पादन कम भएकाले मूल्यमा खासै गिरावट नआएको जनाइएको छ। स्कुस उत्पादन बढ्नासाथ यस वर्ष नबिक्ने समस्या हुन सक्नेमा किसान चिन्तित देखिएका छन्। पूर्वी नेपालको स्कुस भारततिरै धेरै बिक्ने गरेको छ।

राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका सचिव वीरेन्द्र काफ्लेले टमाटरमा रोक लगाइँदा पाँचथरका किसान पनि समस्यामा परेको बताए। ‘अहिले प्रतिकिलो १० रुपैयाँमा पनि टमाटर बिक्री भएको छैन’, उनले भने। एक–दुई दिन राख्दा बिग्रिने बाली भएकाले तत्काल समस्या समाधान नगरे पाँचथरका अधिकांश टमाटर खेती गर्ने किसान संकटमा पर्ने उनको भनाइ छ। इलाम, पाँचथर र तेह्रथुममा २ हजारभन्दा धेरै किसानले टमाटर खेती लगाएका छन्। त्यही उत्पादन ४ हजार ५० किलो टमाटर दैनिक बिर्तामोडमा थुप्रिने गरेको छ।

बिर्तामोडका व्यापारीले समस्या समाधानका लागि पहल गर्न आग्रह गरे पनि भारतीय पक्षले नेपालबाट भित्रिने तरकारीको सूचीमा नरहेको टमाटरलगायतलाई प्रवेश दिन नसकिने जवाफ दिएको महतले बताए। भने, ‘उनीहरुले कूटनीतिक स्तरमा वार्ता गरेर समस्या समाधान नगरेसम्म केही गर्न नसक्ने जवाफ दिएका छन्।’

सिलिगुडीको बजारमा टमाटरको मूल्य भारतीय ३० रुपैयाँ छ। तीन सातापछि निस्कने फूलगोभीमा पनि अवरोध नहटे उत्पादन मूल्यभन्दा बिक्री सस्तो हुनेमा किसान चिन्तित छन्। नेपाल–भारत व्यापार सन्धिमा दुवै देशको तरकारी बिनाभन्सार सीमा वारपार गराउन पाउने व्यवस्था छ। भारतको तरकारी भने दैनिक नेपालतर्फ निर्वाध रुपमा आइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार