इलाम नगर पालिकाले आर्थिक वर्ष २०७५÷०७६ को बार्षिक बजेट तथा नीति पारित

इलाम : इलाम नगर पालिकाले आर्थिक वर्ष २०७५÷०७६ को बार्षिक बजेट तथा नीति तथा कार्यक्रम तेस्रो नगर सभाबाट पारित गरेको छ । गत असार ७ देखि ११ गतेसम्म भएको नगर सभाले जम्मा प्रशासनिक खर्च समेत गरी ७९ करोड ८० लाख रुपैयाँको बजेट पारित गरेको हो । प्रदेश सरकारबाट ससर्त अनुदानमा उपलव्ध योजना तथा बजेट यसमा समावेश नगरिएको नगरले जनाएको छ ।

नगरसभाले १२ वटा वडालाई ५० लाख रुपैयाँका दरले सिलिङ बजेट उपलव्ध गराएको छ । यस आर्थिक वर्षमा जम्मा ११ करोड प्रशासनिक खर्च हुने अनुमान गरिएको नगर प्रमुख महेश बस्नेतले जानकारी दिए । वडास्तरीय योजनामा सडक पर्खाल तथा मर्मतमा बढी योजना सञ्चालन हुने उनले बताए । वडास्तरीय योजनामा ७३ वटा योजना भवन तथा निर्माण सम्बन्धी रहेका छन् । नगरस्तरीय योजनामार्फत विभिन्न वडाध्यक्षहरुलाई मोटरसाइकल खरिदका लागि १८ लाख रुपैयाँ विनियोजन गरिएको छ । हाल मोटरसाइकल नरहेका वडामा खर्च हुने बताइएको छ ।

नगरस्तरीय योजना अन्तर्गत कृषिमा प्रशासनिक समेत ७४ लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै सडक पर्खाल मर्मतमा ६ करोड ७२ लाख छुट्याइएको मेयर बस्नेतले बताए । भवन निर्माण र मर्मतमा आठ करोड ५२ लाख रुपैयाँ, शिक्षामा २८ लाख रुपैयाँ पर्यटन विकासमा दुई करोड ७० लाख रुपैयाँ, वातावरण तथा संरक्षणमा एक करोड ८५ लाख स्वास्थ्यमा १८ लाख रुपैयाँ, खेलकुद विकासमा ५५ लाख, सामाजिक विकास कार्यक्रममा दुई करोड एक लाख रुपैयाँ योजना निर्माण गरी विनियोजना गरिएको पाइएको छ ।

यस्तै साझेदारी कोषमा एक करोड ५३ लाख रुपैयाँ, मजदुर कल्याण कोषमा पाँच लाख रुपैयाँ, विपद् व्यवस्थापन कोषमा दश लाख रुपैयाँ, नगर शिक्षा कोषमा आठ लाख रुपैयाँ, सहकारी कार्यक्रमलाई पाँच लाख रुपैयाँ, सञ्चार संस्थासँग सहकार्य गर्न पाँच लाख रुपैयाँ, आधारभूत विद्यालयको गुणस्तर सुधार गर्न १२ लाख रुपैयाँ, आर्थिक क्षेत्र विकासका लागि पाँच लाख रुपैयाँ, प्रस्तावमा आधारित कार्यक्रम गर्न १० लाख रुपैयाँ, उद्योग बाणीज्य संघ सँग सहकार्य गर्नका लागि आठ लाख रुपैयाँ, माईभ्याली गोल्डकपका लागि सात लाख रुपैयाँ, नगरस्तरीय खेलकुद विकास समितिलाई दश लाख रुपैयाँ, युवा विकास समितिलाई पाँच लाख रुपैयाँ, पर्यटन समितिलाई पाँच लाख रुपैयाँ, दलित समितिलाई पाँच लाख रुपैयाँ बजेट छुट्याइएको प्रमुख बस्नेतले जानकारी दिए । मेशिन उपकरण सामग्री खरिदमा आठ लाख रुपैयाँ, आकस्मीक मर्मत सम्भार कोषमा ५० लाख रुपैयाँ, नगर विकास कोषका साँवा व्याज ऋण तिर्न २० लाख रुपैयाँ, छपाई र पत्रपत्रिकाका लागि २० लाख, सवारी मर्मतमा पाँच लाख रुपैयाँ, फर्निचर खरिदमा २० लाख रुपैयाँ, कार्यालय परिसरको जग्गा खरिदका लागि ३० लाख रुपैयाँ, सन्दकपुर गाउँ पालिकालाई अनुदान सात लाख रुपैयाँ, बाली विकास अनुदान ५० हजार रुपैयाँ, आकस्मिक काष १३ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ ।

नगरले निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको शीत भण्डारको मर्मतका लागि दश लाख र गौतम बुद्ध सिटिहल निर्माणका लागि १५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । आगामी साउन १ देखि सिटिहल आफैँ सञ्चालनमा ल्याउने नगरको योजना रहेको छ ।

आगामी वर्षमा नौ करोड बढी आन्तरिक आम्दानी हुने अनुमान अनुरुप योजना निर्माण गरिएको र नगर सभाबाट तीन ऐन पारित गरिएका पनि पत्रकार भेटघाटका क्रममा जानकारी गराइएको छ । विपद् व्यवस्थापन ऐन २०७५, कर तथा गैर कर लगाउने ऐन २०७५ र शिक्षा ऐन समेत पारित गरिएको छ ।

कृषकहरुलाई कम्पोष्ट मल खरिदमा ४० प्रतिशत अनुदान दिने कार्यक्रम नगरले अगाडि सारेको छ । नगर सभाले निर्णय गरेअनुरुप नगरका सात र ११ वडा बाहेक अन्य वडामा व्यवसायिक गाईपालनलाई थप टेवा दिनका लागि ६० वटा गाई खरिदमा अनुदान दिने भएको छ । एक गाई बराबर साना किसानलाई २५ हजार रुपैयाँ अनुदान उपलव्ध गराइने नगर प्रमुखले बताए । उनले फन पार्क निर्माणमा लागि एक करोड ७० लाख रुपैयाँ छुट्याइएको, माईखोला छेउमा पोखरी निर्माण र माई भगवति वृद्धाश्रममा पार्क निर्माणका लागि योजना बनाएको सुनाए । प्रत्येक वडामा सौर्य वत्तिका लागि बजेट विनियोजन गरिएको र खेलकुदका पुर्वाधारमा रकम खर्च हुने बताइयो ।

प्रतिभा विकास कोष अन्तर्गत नीजि र सामुदायिक विद्यालयका प्रत्येक विद्यार्थीहरुबाट एक सयका दरले उठाएर कोषमा जम्मा गरिने र उक्त रकम शैक्षिक क्रियाकलापमा खर्च गरिने भएको छ । आधारभुत विद्यालयको गुणस्तर बृद्धि गर्न नमुना विद्यालय छनौट गरी कार्यक्रम गरिने भएको छ ।

नगरका योजनाबाहेक प्रदेश १ सरकारबाट विभिन्न योजनामार्फत सशर्त अनुदान उपलव्ध गराउने जानकारी आएको पनि प्रमुख बस्नेतले जानकारी दिएका छन् । इलाम बजारमा सडक र नाली निर्माणका लागि ५० लाख रुपैयाँ, इलाम देखि माबु हुदै सन्दकपुर सडकका लागि एक करोड रुपैयाँ, पुवाखोला भित्ते सडकका लागि १२ लाख रुपैयाँ, शहिद स्मृति भवनका लागि १५ लाख रुपैयाँ, इलामदेखि झापा जोड्ने फास्ट ट्याकमा पर्ने पुवाखोलामा मोटरेवल पुल बनाउन ७० लाख रुपैयाँ, दिदी बहिनी झरनामा आठ लाख रुपैयाँ र रक क्लाइम्बिङ योजनामा आठ लाख रुपैयाँ समेत उपलव्ध भएको उनले जानकारी दिए ।

कार्यकारी सदस्य र नगरसभाका सदस्यहरुका लागि सुविधा प्रदान गर्न प्रदेशले असमान कानुन बनाएकाले आफूहरु यसको विपक्षमा रहेको प्रमुख बस्नेतले बताएका छन् । उनले यस्तो कानून बनाउने अधिकार संविधानत प्रदेशलाई नरहेको र समान वैठकको भत्ता असमान हुने पक्षपाति कानुनमा आफूहरुको विमति रहेको जनाए । नगरले नगरसभामा उठेका केहि महत्वाकांक्षि योजनाका सम्वन्धमा प्रदेश र संघीय सरकारसँग लेखेर पठाउने गरि विशेष प्रस्तावहरु परित गरेको छ । यस अन्तर्गत बाँदर समस्या समाधान गर्न सामुदायिक वनमा फलफूल लगाउने, माइ जोगमाइको दोभानमा हाइड्रोपावर निर्माण गर्न अनुरोध गर्ने, माईमा रंगशाला निर्माण गर्न र फास्ट ट्याकमा बजेट माग गर्न अनुरोध गर्ने आदि निर्णय रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार