साहारा नेपाल विपन्नहरुलाई समृद्ध बनाउन कै लागि स्थापना भएको हो

  नरेन इलामेली
0 Shares

माइजोगमाई : साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नेपालकै ठुलो सहकारी संस्था मध्येको एक हो । झापा जिल्लाको बिर्तामोड नगरपालिका २ चारपानेमा मुख्य कार्यालय रहेको यो सहकारी हाल नेपालको प्रदेश नं‌ १ का ६ वटा जिल्लाहरू (झापा, इलाम‌, पाँचथर, मोरङ, सुनसरी र उदयपुर) लाई कार्यक्षेत्र बनाएर संचालनमा रहेको छ। हाल यस सहकारीमा १ लाख ३४  हजार सेवाग्राही आबद्ध छन भने ६३ वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ। यसै क्रममा इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजारमा गत बर्षको ८ बैशाख २०७४ देखि सेवा केन्द्र स्थापना गरी आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।

यसै सन्दर्भमा नयाँ बुलन्दकर्मी नरेन इलामेलीले साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नयाँबजार सेवा केन्द्रका प्रमुख हेमराज पाण्डेसँग वित्तीय क्षेत्र र साहाराका गतिबिधिहरु बारे कुराकानी गरेका छन् । लेखा शास्त्रमा स्नातकोत्तर गरेका पाण्डे २०७२ देखि साहारामा आबद्ध भएर काम गरिरहेका पाण्डे हाल नयाँबजार सेवा केन्द्रको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन। प्रस्तुत छ नयाँ बुलन्दकर्मी नरेन इलामेली र साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नयाँबजार सेवा केन्द्रका प्रमुख हेमराज पाण्डे बिच भएको कुराकानीको सम्पादित अंश-:

साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था कस्तो संस्था हो?

साहारा नेपाल विशुद्ध बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यले सहकारी एेन अन्तर्गत दर्ता भएको संस्था हो। २०५२ सालमा झापा जिल्लाको बिर्तामोड नगरपालिका २ चारपानेमा मुख्य कार्यालय बनाएर दर्ता भएको यो सहकारीले लगभग २२  बर्ष पार गर्न लागेको छ।

आर्थिक बर्षको अन्त्य तिर आइपुगेको छ अहिले केमा व्यस्त हुनुहुन्छ??

आर्थिक बर्षको अन्त्यमा हरेक संस्थाको आय-व्ययको हिसाब गर्ने ,  विभिन्न प्रकारका प्रावधानहरू बनाउने काम हुन्छन्। अहिले त्यसैमा व्यस्त छौँ।

साहारा नेपालले कसरी र के को आधारमा लगानी गर्छ?

साहारा नेपालले विशेष गरी दुई वटा मोडलमा लगानी गर्छ। एउटा बैङ्किङ मोडल र अर्को लघुवित्त मार्फत। बैङ्किङ मोडलमा चाहिँ व्यक्तिगत शेयर सदस्यहरुको लागि मात्र लगानी गर्छ। यसमा व्यक्तिले कम्तिमा पनि ७० हजार बराबरको शेयर खरिद गर्नुपर्छ। यो झापा जिल्लामा स्थायी बसोबास हुनेहरुले मात्र खरिद गर्न पाउँछन्। यसरी ७० हजार बराबरको शेयर खरिद गरेर कारोबार गर्नेहरुले चाहिँ बैङ्कमा जस्तै धितो राखेर ४/५ करोड सम्मको ऋण लिन पाउँछन् त कम्तिमा २/३ लाख सम्म ऋण पाउँछन् त्यो भन्दा कम लगानी हुँदैन। अर्को तर्फको लगानी भनेको लघुवित्त तर्फको कार्यक्रम हो । यसमा चाहिँ महिला समुह बनाएर समुह मार्फत धितो र बिना धितो कारोबार हुन्छ।

राष्ट्रलाई समृद्ध बनाउन वित्तीय संस्थाको भूमिका कस्तो रहन्छ?

यो एकदमै राम्रो प्रश्न गर्नुभयो। नेपालको अर्थ नीति अनुसार सहकारीलाई तीन खम्बे नीति भनेर लागू गरिएको छ र अहिले नेपालमा २ हजार भन्दा बढी सहकारी संस्थाहरु स्थापना भइसकेका छन्। त्यस मध्ये साहारा नेपाल नेपालकै ठूलो र बढी सदस्यहरू भएको सहकारी पनि हो। वित्तीय क्षेत्रमा अहिले साहारा नेपालकै मात्र हेर्ने हो भने पनि आर्थिक बर्ष २०७३/४५ मा लगभग ५ करोड बढी सरकारलाई करको योगदान दिएको छ। त्यस्तै नेपालका धेरै वित्तीय संस्थाले अरबौँ रुपैया करको माध्यमबाट सरकारलाई योगदान गरिरहेको छन् । अर्को तर्फ नेपालका ग्रामीण क्षेत्रमा पुगेर जो विपन्न छ, धितो विहिन छ त्यस्ता जायजेथा नभएका व्यक्तिहरुलाई समुहमा आबद्ध भएर, समुहलाई अनुशासित रुपमा संचालन गर्नुभयो भने त्यस्ता व्यक्तिहरुलाई विना धितो पनि ३/४ लाख सम्म लगानी गरेर केही व्यवसाय गर्ने वातावरण वित्तीय संस्थाले तयार गर्दै गएको छ। यसो हुँदा गरिव र विपन्न वर्गका व्यक्तिहरुले पनि विना धितो ऋण लिएर व्यावसायिक रुपमा काम गरेर आत्मनिर्भर बन्न सक्छन्। जीवन स्तर उकास्दै विपन्नताबाट सम्पन्नता तर्फ अघि बढ्न सक्छन् र गरीबी उन्मूलनमा पनि वित्तीय संस्थाले ठूलो भूमिका खेलिरहेको छ। अर्को तर्फ सदस्यहरुको सीप र क्षमतालाई पनि विकास र विस्तार गर्ने काम भइरहेको छ। लघुवित्तमा आबद्ध भएर आफ्नो बोल्ने र लेख्ने सीपको विकास गरी महिलाहरु सशक्त बन्दै गएका छन्। लघुवित्तमा आबद्ध भइ लघुवित्तले प्रदान गरेको व्यक्तित्व विकास तालिम मार्फत आफ्नो सीप र क्षमतालाई विकास गर्दै नेपालका ६ जना महिला सांसद सम्म बन्न पुगेको तथ्याङ्क रहेको छ। यसरी चेतनाको स्तर बृद्धि गर्न समेत लघुवित्तले सहयोग गरेको पाइन्छ।

धेरै जसो वित्तीय संस्थालाई जनताको जिवनस्तर उकास्न‌ भन्दा पनि नाफा कमाउन खोलिएका हुन भन्ने आरोप लाग्ने गरेको छ यसलाई तपाईं कसरी लिनुहुन्छ??

यो एकदमै सान्दर्भिक कुरा उठाउनु भएको छ। प्रायः हामी कतिपय ठाउँमा गाउँघरमा जाँदा  लघुवित्त गाउँघरमा पसेर गरिबी उन्मूलन गर्ने भन्दै गरिबहरुलाई झन समस्या पार्न थालिसके भन्नुहुन्छ तर यो लघुवित्त कार्यक्रम विशेष गरी बंगलादेशबाट गरीब जनताका लागि भनेर आएको कार्यक्रम हो। नेपालमा पनि त्यसैका लागि ल्याइएको हो। तर नेपालमा चाहिँ लघुवित्त संस्थाहरू खोल्ने होडबाजी नै चल्यो। लघुवित्तमा त सानो लगानीबाट सदस्यलाई परिक्षण गर्दै लगानी बढाउँदै जिवनस्तर उकास्दै जाने हो । तर पछिल्लो समय लघुवित्तमा एकदमै अस्वस्थ प्रतिस्पर्धा हुँंदै गएको छ। एउटा लघुवित्तले जति लगानी गर्छ त्यो भन्दा बढी लगानी गरेर सदस्यहरुलाई आकर्षित गरे झैँ गरेर नाफा कमाउने तर्फ बढ्दै गएको छ। लघुवित्त भनेको विपन्न बर्गलाई सम्पन्नता तर्फ लैजाने महत्वपूर्ण कार्यक्रम हो तर वर्तमान समयमा केही समस्या भने देखिएकै छन। यो केहि बर्ष भित्रमा अन्त्य भएर जानेछ । अहिले सदस्यहरु पनि सचेत बन्दै गएका छन्। धेरै संस्थाहरुमा बस्दा समस्या हुने रहेछ एउटैमा बस्नुपर्छ भन्नेमा सदस्यहरू सचेत बन्दै गएका छन्। र साहारा नेपाल विशुद्ध सहकारी संस्था हो र यो सहकारीको नियम र सिद्धान्तका आधारमा जनताको समृद्धि कै लागि स्थापना भएको हो र यसमा निरन्तर लागि रहन्छ।

पछिल्लो समयमा विभिन्न संस्थाबाट ऋण लिएर फरार हुनेरहरु संख्या बढ्दै गएको देखिन्छ साहारा नेपालमा यसको अवस्था के छ??

साहारा नेपालको समग्र अवस्थालाई हेर्दा पनि साहारा नेपालमा यस्तो समस्या छैन। यसरी फरार हुने, कर्जा बाँकी रहने समस्या कम छ। माइजोगमाई कै अवस्था हेर्ने हो भने पनि यस्तो समस्या खासै छैन। यहाँ सानोबाट ठूलो हुदै लगानी बढाउँदै लगानी गरिरहेका छौं जसले गर्दा सेवाग्राहीलाई पनि सहज भएको छ र ऋणको भार पनि धेरै परेको छैन।तसर्थ हाम्रोमा यस्तो समस्या छैन।

ऋण लिएर फरार हुनुको कारण के हो र यस्तो हुन नदिन साहाराले के कस्ता कामहरु गर्दै छ?

यसरी कर्जा लिएर फरार हुनुको मुख्य कारण भनेको कर्जाको सदुपयोग नहुनु नै हो। उत्पादनशील क्षेत्रमा लगानी गर्ने भनेर लिइएको ऋण सदुपयोग भएन भने लिएको ऋण पनि सकिँदै जान्छ र आम्दानीको श्रोत पनि हुदैन। यहि कारणले गर्दा सदस्यको आम्दानीको अवस्था कमजोर बन्दै जान्छ र कर्जा तिर्न नसकेर फरार हुन्छ। र साहारा नेपालले चाहिँ आगामी आर्थिक वर्षदेखि हरेक सदस्यको घरघरमा पुगेर सदस्यको वास्तविक अवस्था के छ र लिएको कर्जा कसरी प्रयोग भइरहेको छ त्यसको विवरण तयार गर्न लागिरहेका छौं ‌। हरेक सदस्यलाई कर्जा सदुपयोग गर्न प्रोत्साहन गर्दै उनीहरुको व्यवसाय र उद्देश्यलाई दीर्घकालीन बनाउनका लागि विभिन्न सीप र क्षमता अभिवृद्धि गर्ने तालिमहरु सञ्चालन गर्ने तयारी गरिरहेका छौं। साथ साथै उद्यमशीलता तालिम र वित्तीय साक्षरताको कार्यक्रमलाई थप प्रभावकारी रुपमा लागू गर्ने योजनामा छौं।

अन्य वित्तीय संस्था र साहारा नेपालमा भिन्नता के छ?

अन्य वित्तीय संस्था र साहारा नेपालमा धेरै भिन्नता छ। साहारा नेपाल सहकारी एेन दर्ता भएर संचालनमा रहेको संस्था हो।लघुवित्त हाम्रो एउटा सानो कार्यक्रम मात्रै हो। अन्य लघुवित्तको चाहि बिशेष उद्देश्य नै समुह बनाएर लगानी गर्ने मात्र हुन्छ तर हाम्रो चाहिँ यो सानो कार्यक्रम मात्रै हो ‌ साहारा नेपालमा सहकारीको उद्देश्य र सिद्धान्त अनुसार सदस्यहरुको जीवनस्तर उकास्नका लागि वित्तीय साक्षरता र उद्यमशीलतालाई जोड दिन्छ ‌। साथै नयाबजारमा विभिन्न सामाजिक कर्यामा आगाडी बढेर नै कम गर्ने गरेको छ बिशेस गरेर आखा सिभिर, स्वास्थ छेत्र को कार्यमा कार्य गदै आएको छ ।

यस संस्थामा आवद्ध सदस्यले अन्य के कस्ता सुविधाहरू पाउछन्??

सेवा सुविधा भनेको विशेष गरी बचत, ऋण, बीमा, रेमिट्यान्स र सीपमूलक तालिम हुन। यहाँबाट नेपालको जुनसुकै रेमिटमा रेमिट्यान्स गर्न सकिन्छ साथै सदस्यको बीमा समेत हुन्छ । यसका साथै साहारा अटोमोबाइल्स कम्पनी अन्तर्गत साना ठूला सवारी साधनहरु, तीन पाङ्ग्रे सवारी , ट्याक्टर, डोजर र स्काभेटर फाइनान्समा उपलब्ध गराइन्छ।

साहाराबाट‌ लगानी हुने ऋणका प्रकार र ब्याजदर बारे प्रष्ट पारिदिनु होस न।

साहारा नेपालले प्रदान गर्ने विशेष गरी सुरुमा सदस्य बनेपछि दिने ऋण साधारण ऋण, अलि पुरानो भए पछि विशेष ऋण, कृषि उत्पादनका लागि कृषि कर्जा, साना व्यवसाय कर्जा, आकस्मिक कर्जा आदि हुन्। जसमा ब्याजदर १२ प्रतिशत देखि १८ प्रतिशत सम्ममा लगानी हुन्छ

माइजोगमाई क्षेत्रमा साहारामा आबद्ध समुह र सदस्य कति छन्??

साहारा नेपालले नयाँबजारमा सेवा केन्द्र स्थापना गरेको एक बर्ष मात्र हुँदैछ । यो एक बर्षको अवधिमा पुराना १ सय ५० सहित बैशाख सम्मको तथ्याङ्क अनुसार ७ सय सदस्य छन र यो आर्थिक बर्षको अन्त्य सम्ममा ९ सय पुर्याउने लक्ष्यमा छौं।

अन्त्यमा के भन्नुहुन्छ??

अन्त्यमा लघुवित्तमा विकृति नभएको हैन विकृति छ लघुवित्तलाई गाउँघरमा अलि नराम्रो नजरले हेर्ने गरेको अवस्था छ। लघुवित्त आफैमा नराम्रो हैन यसमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धा र कर्जा दुरुपयोगले समस्या आएको हो । लघुवित्तको उद्देश्य भनेको विपन्नताबाट सम्पन्नता तर्फ डोर्याउनु नै हो। यसलाई बुझेर साहारा नेपालमा नै आवद्ध हुनुपर्छ भन्ने हैन नीति कार्यक्रम र सेवा सुविधा बुझेर वित्तीय संस्थामा आवद्ध हुनुहोस। लघुवित्त एकदमै राम्रो र प्रभावकारी कार्यक्रम हो भन्न चाहन्छु।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार