ताप्लेजुङमा विद्युत सेवा अवरुद्ध , स्थानीय मारमा

ताप्लेजुङ : पटक पटक अवरुद्ध हुँदै आएको केन्द्रिय प्रशारणलाईनको विद्युत सेवा गए रातीदेखि पुन अवरुद्ध भए पछि ताप्लेजुङका सेवाग्राही मारमा परेका छन् । विद्युत सेवा अवरुद्ध हुँदा विभिन्न उद्योग व्यवसायीहरु समस्यामा परेका छन् भने सर्वसाधरण समेत प्रभावित बनेका छन् । रातको समयमा विद्युत नहूँदा अन्धकारमा बस्नु पर्ने बाध्यतामा रहेका स्थानीयले मोवाईल चार्ज गर्न समेत पाएका छैनन् ।

यस्तै स्थानीय सञ्चार माध्यम रेडियो, पत्रपत्रिका र टेलिफोन टावरलाई समेत विद्युत नहुँदा समस्या भएको छ । दिनहुँजसो विद्युत अवरुद्ध हुँदै आए पछि जेनेरेटर खरिद गरेर चलाउनु पर्ने र विद्युत महसुल पनि तिर्नु पर्दा स्थानीय दोहोरो मारमा पर्दै आएका छन् । दैनिक रुपमा दर्जनौ पटक लाईन आउँदै र जाँदै गर्न थाले पछि केन्द्रिय प्रशारणलाईनको कुनै भर नरहेको स्थानीयको गुनासो छ ।

यता विद्युत प्राधिकरण वितरण शाखा ताप्लेजुङले भने पाँचथर र ईलाम तर्फको भागमा समस्या रहेको भन्दै आएको छ । आज पनि उतै समस्या आएको र मर्मतका लागि प्राविधिक पठाउने तयारी भएको प्राधिकरणले जनाएको छ । महिनौदेखि यसरी समस्या हुँदै आए पनि समाधान भने हुन सकिरहेको छैन । विग्रिएको समयमा सामान्य मर्मत पछि त्यतिकै छाड्ने र दिगो रुपमा व्यवस्थित नगरिएकाले यस्तो समस्या आएको स्थानीयको आरोप छ । दिगो व्यवस्थापन नहुँदा एकै दिनमा दर्जनौ पटक विद्युत अवरुद्ध हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार