नेपालमै पहिलो पटक पाँचथर जिल्लामा मंगलबारबाट राष्ट्रिय परिचय पत्र तयार पार्नका लागि विवरण सङ्कलन हुदैँछ । जिल्ला प्रशासन कार्यालय पाँचथरमा मंगलबार जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्नुप्रसाद सापकोटा, उपप्रमुख डिल्लीराम दुलाल, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ लगायतको विवरण सङ्कलन गरेर विवरण सङ्कलनको सुरुवात हुदैछ ।
विश्वका कयौँ देशहरुले राष्ट्रिय परिचय पत्र वितरण गरिसकेका छन् । छिमेकी भारतले समेत राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ । नेपालमा लामो समयदेखिको तयारीपछि राष्ट्रिय परिचय पत्र वितरणका लागि मंगलबारबाट विवरण सङ्कलन हुन लागेको हो ।
देशका ७७ जिल्लामध्ये सरकारले पाँचथर जिल्लाबाट राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन तथा राष्ट्रिय परिचय पत्र वितरण थाल्ने घोषणा गरेअनुसार मंगलबारबाट औपचारिक रुपमा काम सुरु हुन लागेको हो ।
राष्ट्रिय परिचय पत्रको तथ्याङ्क संकलनमा लागि २० जना कम्प्युटर अपरेटरहरुलाई तथ्याङ्क संकलनसम्बन्धी तालिम दिइसकिएको छ । उनीहरुलाई तथ्याङ्क संकलनसम्बन्धी ६ दिने तालिम दिइनुका साथै प्रयोगात्मक विधिबाट परिपक्व बनाइएको छ । यस्तै ५ जना प्रमाणिकरण अधिकृत तयार पारिएको छ ।
मंगलबार सुरु हुने तथ्याङ्क संकलनको कार्य पहिलो चरणमा फिदिम नगरपालिकामा केन्द्रीत हुनेछ । पहिलो चरणमा तीन ओटा टोली निर्माण गरि तथ्याङ्क संकलनको कार्य अघि बढाइनेछ । प्रत्येक टोलीमा ५ जना कम्प्युटर अपरेटर, एक जना प्रमाणिकरण अधिकृत, १ जना सहयोगी र सुरक्षाकर्मी रहने राष्ट्रिय परिचय पत्र वितरण विभागका निर्देशक शिवराज जोशीले जानकारी दिए । टोलीसँग, ल्यापटप, स्क्यानर, क्यामेरा, प्रिन्टर, जेनेरेटर लगायत सामग्रीहरु हुनेछ ।
राष्ट्रिय परिचय पत्रका लागि विवरण प्रदान गर्ने व्यक्तिहरुले नागरिकताको प्रमाण पत्र ल्याउनु अनिवार्य छ । पाँचथर जिल्लाबाट नागरिकताको प्रमाण पत्र जारी भएका व्यक्तिहरु पाँचथरमा राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनमा योग्य मानिनेछन । यस अतिरिक्त अन्यत्रैबाट नागरिकता लिएरपनि पाँचथरमा स्थायी रुपले बसेका व्यक्तिहरु प्रमाणिकरण भएर विवरण दिन योग्य हुनेछन् ।
यस्तै अन्य जिल्लाबाट नागरिकता जारी भएर पनि पाँचथरमा विवाह गरेर आएका महिलाहरु नागरिकताको प्रमाणपत्र संसोधन नभएपनि विवाह दर्ताको सक्कल प्रमाणपत्र लिएर गएमा विवरण प्रदान गर्न योग्य हुनेछन् । यस्तै पाँचथरमा कार्यरत सरकारी कर्मचारीहरुले समेत विवरण दिन सक्नेछन् ।
विवरण सङ्कलनका क्रममा सम्बन्धित व्यक्तिको नाम, बाबुको, बाजेको, आमाको, श्रीमान वा श्रीमतीको नाम, जन्म मिति, पेशा, धर्म, लिङ्ग, नागरिकता नम्बर लगायत विवरण लिइनेछ । यस्तै सबै व्यक्तिको १० ओटै औँलाको औँठाछाप र तस्बिर लिइने निर्देशक जोशीले वताए ।
सबै व्यक्तिलाई सही छाप गराई भरपाई उपलब्ध गराइनेछ । विवरण प्रदान गर्दा लिएको भरपाइका आधारमा व्यक्तिहरुले राष्ट्रिय परिचय पत्र लिन सक्नेछन ।
विश्वका विभिन्न देशमा राष्ट्रिय परिचय पत्र तयार पारिरहेको फ्रान्सेली कम्पनी आइडिमियाले राष्ट्रिय परिचय पत्र छपाईको कार्य गरिरहेको छ । राष्ट्रिय परिचय पत्र पूर्णतः सुरक्षित हुनेछ । यसभित्र धेरै सुरक्षाका फिचरहरु राखिएका छन् । विश्वका धेरै मुलुकहरुले राष्ट्रिय परिचय पत्र वितरण गर्ने गरेका छन् ।
नागरिकले विभिन्न प्रयोजनका लागि कयौँ प्रकारका सरकारी प्रमाण पत्र लिनुपर्ने बाध्यता हटाई एउटै कार्डबाट सबै सेवा प्राप्त गर्नसक्ने, मुलुक भित्र तथा बाहिर प्रत्येक नेपालीको पूर्ण विवरण सहितको पहिचान दिलाउने सक्ने राष्ट्रिय परिचय पत्र वितरण गर्ने सरकारी लक्ष्यअनुसार कार्य अघि बढेको निर्देशक जोशीको भनाई छ ।
फिदिम नगरपालिकाबाट सुरु भएको तथ्याङ्क सङ्कलनको कार्य जिल्लाका सबै वडासम्म पुग्नेछ । वडाको जनसंख्याका आधारमा जनशक्तिको व्यवस्थापन गरि तथ्याङ्क सङ्कलनको कार्य अघि बढाइने निर्देशक जोशीले जानकारी दिए । सबै वडामा एक चरणमा तथ्याङ्क सङ्कलन भइसकेपछि राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढ्नेछ ।
यद्यपी जिल्ला प्रशासन कार्यालय पाँचथरमा भने अव स्थायी रुपमा राष्ट्रिय परिचय पत्र वितरण गर्ने शाखा रहनेछन । नागरिकताको प्रमाण पत्र लिन आउने सबै सेवाग्राहीलाई अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गराईनेछ ।
राष्ट्रिय परिचय पत्र वितरण गर्दा समेत पत्रवालाको औँठाछाप लिइनेछ । एक व्यक्तिको राष्ट्रिय परिचय पत्र अर्को व्यक्तिले बुझेर लैजान समेत पाउने छैन ।
पहिलो चरण्मा पाँचथरका १ लाख १० हजार नागरिक र सिंहदरबारका ७ हजार कर्मचारीहरुलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने सरकारको तयारी छ ।
तर, पाँचथरमा नागरिकता लिएकाहरु कतिपय वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा तथा हजारौँ जिल्ला बाहिर रहेकाले सरकारी लक्ष्यअनुसार पहिलो चरणमा ठूलो परिमाणमा राष्ट्रिय परिचय पत्र वितरण हुने कठीन छ ।
जिल्ला प्रशासन कार्यालयमा रहने स्थायी शाखाले छुटेकाहरुको विवरण सङ्कलन र राष्ट्रिय परिचय पत्र वितरणको कार्य गर्ने निर्देशक जोशीको भनाई छ ।
राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको कार्य पाँचथरबाट सुरु हुन लागेकाले पाँचथरमा यो अभियानले कुन हदसम्म सफलता पाँउछ त्यसले अन्य जिल्लामा समेत महत्व राख्ने निर्देशक जोशी वताउँछन् ।
जिल्लावासीले देशमै पहिलो पटक प्राप्त गरेको सुविधालाई उत्साहका साथ सदुपयोग गर्न सके राष्ट्रिय परिचय पत्र वितरण अभियान सफल हुने जोशीको विश्वास छ । यस्तै सही विवरण दिन विभागले आग्रह गरेको छ । विवरण गलत भएमा भावी दिन सच्याउँन गाह्रो पर्ने निर्देशक जोशीको भनाई छ ।