सीमाको निरीक्षणदेखि सचेतनाका कार्यक्रमसम्म

जिल्ला प्रहरी कार्यालय पाँचथरले गत बैशाख महिनामा सीमा क्षेत्रको निरीक्षण, सचेतनामुलक कार्यक्रम, फरार अभियुक्त पक्राउ, कार्यालयलाई सेवाग्राहीमैत्री बनाउने लगायत कार्य गरेको छ । पाँचथर प्रहरी गत महिना तथा चालु आर्र्थि वर्षका १० महिनाको प्रगति समीक्षा गर्दै यस्तो जानकारी दिएको हो ।

गत महिनामा मात्रै पाँचथर प्रहरीले ६८ जना आफ्ना कर्मचारीलाई नागरिकमैत्री सेवा तथा मानवअधिकारमैत्री सेवाका बारेमा सचेतना तालिम दिएको छ । सोही समयमा जिल्ला प्रहरी कार्यालयभित्र स्तनपान कक्ष, शुद्ध खानेपानीको व्यवस्था, नागरिक सहायता कक्ष, फरक क्षमताका व्यक्तिमैत्री शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए  ।

प्रहरीले नागरिक सहायता कक्षलाई व्यवस्थित गरेपछि दैनिक रुपमा जिल्ला प्रहरी कार्यालय आउने सेवाग्राहीले सेवा समेत पाएका छन् । जिल्ला प्रहरी कार्यालयमा दैनिक २५० देखि ३ सय जनासम्म सेवाग्राही आउने गरेको प्रहरीको नागरिक सहायता कक्षाको विवरणमा उल्लेख छ ।

गत बैशाखमै प्रहरीले जिल्ला स्थित सुरक्षा निकायहरुको समन्वयमा नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा पाँचथर र भारतको सीमानामा पर्ने ९ ओटा मूख्य सीमा स्तम्भ (जङ्गे पिल्लर) सामान्य अवस्थामा रहेको पाइएको प्रनाउ गौतमले वताए ।

९ ओटामध्ये फालेलुङ गाँउपालिका–४ चित्रेमा रहेको ७ नम्बर जङ्गे पिल्लर मर्मत गर्नुपर्ने आवश्यकता देखिएको गौतमले वताए । यस्तै साना सीमा स्तम्भहरु मध्ये १२ सीमा स्तम्भ रहेको ठाँउ समेत पत्ता नलागेको, ४ ओटाको भत्किएर पिल्लर रहेको स्थान मात्रै पत्ता लागेको गौतमले जानकारी दिए । पाँचथरमा १०३ ओटा साना सीमा स्तम्भहरु छन् ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय मित्र समेत सीसी क्यामेरा जडान गरेको छ । कार्यालयभित्रै सीसी क्यामेरा जडान भएपछि कार्यालयको सेवा चुस्त भएको, सेवाग्राहीको काम छिटो हुन थालेको पाइएको प्रनाउ गौतमको भनाई छ । प्रहरीले बैशाख महिनामै लागू पदार्थ दुव्र्यसनी, ट्राफिक नियम पालना लगायतका विषयमा विद्यार्थीहरुलाई सचेतनाका कार्यक्रम समेत सम्पन्न गरेको छ ।

पछिल्लो पटक संघीय सरकारको गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मार्फत तथा प्रहरी प्रधान कार्यालय मार्फत र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रालय मार्फत विभिन्न योजनाहरु नियमित रुपमा पठाउने गरेको छ । तीन तर्फबाट आउने योजना कार्यान्वयनमा लाग्नुपर्ने अवस्था रहेको प्रनाउ गौतम बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार