सुजता सुनुवार
इलाम : इराक र अफगानिस्तान रोजगारीका लागि असुरक्षित देश हुन् । त्यसैले सरकारले यी देशमा रोजगारीमा जान नपाउने गरी रोक्का गरेको छ ।
सरकारले रोक्का गरेको देश इराकमा जोखिम मोलेर पुग्नुभयो, इलामको इलाम नगरपालिका ९ का आशबहादुर चिमोरिया ।ज्यान तलमाथि हुने खतरा त थियो नै, इराकमा सोचेजस्तो कमाई पनि भएन । कमाई भएको दुई चार लाख रुपैयाँ पैसा जाँदा लागेको ऋण तिर्न र भाइहरुको विवाहमा खर्च गर्दा ठिक्क भयो ।
२०६१ सालमा इराक पुगेका चिमोरियाले त्यहाँ पुग्न धेरै दुःख गर्नुभयो । भारतको बाटो हुँदै जाँदा खाडीको उखुममा धेरै रात बिताउनु प¥यो । ‘दुवईको एअरपोर्टमा ३६ दिनसम्म झोला सिरानी राखेर सुतेका थियौं । दुःखले इराक पुगियो, काम पनि पाइयो तर पैसा कमाउन सकिएन,’ आशबहादुरले भन्नुभयो ।
इराकमा आशबहादुरको काम थियो, खाना पकाउने र सरसफाई गर्ने । हजारौं विदेशी सेनालाई भात पकाउने काम आशबहादुर जस्तै प्रवासी कामदारको जिम्मामा थियो, जो अवैधानिक रुपमा इराक भित्रिएका थिए ।
आशबहादुरको गन्तिमा एक सय ४४ प्रवासी कामदार इराकमा खटिएका सेनालाई भात पकाइदिने र सरसफाईमा खट्थे । तीमध्ये धेरै चाहिँ नेपाली कामदार थिए ।
एकातिर कमाई नहुनु, अर्कातिर आत्मघाती लडाकुसित डर मानेर आशबहादुरका १० महिना इराकमा बिते ।
इराक युद्धमा लडिरहेका सेनालाई भात पकाइदिने आशबहादुर भाग्यले सग्लो ज्यान लिएर नेपाल फर्कनुभयो । तर घरको ऋणले उहाँको ज्यान नेपालमा थामिएन । घरको जेठो छोरो आशबहादुरको जिम्मेवारी बढ्दै थियो ।
अनि २०६३ सालमा सरकारले जान रोक्का गरेको अर्को देश अफगानिस्तान पुग्नु भयो । इराकमा जस्तै ज्यानको असुरक्षा अफगानिस्तानमा पनि थियो । तर काम र कमाईका हिसावले इराक भन्दा अफगानिस्तान राम्रो थियो आशबहादुरका लागि ।
‘क्लिनर, प्लम्बर, काठ फ्याक्ट्री र सेक्युरेटी गार्डको काम काम गरेँ,’ अफगानिस्तानमा आफूले गरेका कामको फेहरिस्त आशबहादुरले सुनाउनुभयो । इराक भन्दा अलि बढी कमाई त्यहाँ भयो । त्यो पैसा ऋण तिर्न ठिक्क भयो । उहाँ ३३ महिना अफगानिस्तान बस्नुभयो ।
यो त भयो सरकारले रोक्का गरेको देशमा रोजगारी गर्न पुगेका कुरा । आशबहादुरको विदेश यात्रा जान्न इराक र अफगानिस्तान जानुभन्दा अगाडिको समयमा पुग्नुपर्छ ।
इराक र अफगानिस्तान जानुअघि उहाँ २०४५ सालमा भारत र ०५५ सालमा साउदी पुग्नुभयो । त्यसपछि सरकारले रोक्का गरेका देशमा पुगेका आशबहादुर २०७१ सालमा मलेसिया र ०७३ मा रोजगारीका लागि कतार जानु भएको थियो ।
इराक र अफगानिस्तानले त उहाँलाई फापेन नै, अरु देशमा पनि पैसा कमाई भएन । तैपनि विदेश मोह भने सकिएको छैन । अर्कातिर बाध्यता पनि भयो विदेश यात्रा ।
१८ वर्षको उमेरमा पहिलो पटक रोजगारीका लागि विदेश पुगेका आशबहादुरको कपाल फूले । उहाँको थाप्लोमा अझै पाँच लाख रुपैयाँ ऋण छ । त्यही ऋण विदेश गएर तिर्ने र छोराछोरीलाई राम्रो पढाउने उहाँको सोच छ ।
ऋण र छोराछोरीलाई पढाउन उहाँ घरबारी बेचेर सातौं पटक विदेश जाँदै हुनुहुन्छ । उहाँले भर्खरै विदेश जान र ऋण तिर्न १५ लाख रुपैयाँमा घरबारी बेच्नुभयो । मलेसिया जानका लागि प्रक्रिया पनि अगाडि बढाउनु भएको छ ।
विदेश जाने धेरैजनाले ऋण खोजेर लागत खर्च तिरेको बताउँछन् । आशबहादुरले भने यो पटक विदेश जान घरबारी बेच्नुभयो । उहाँका अनुसार ऋण खोज्दा पनि पत्याउने कोही भएनन् । ‘जागिर खाउँ कसैले पत्याउदैनन् । उद्योग व्यापार गरुँ, पूँजी छैन,’ आशबहादुरले सुनाउनुभयो ।
सन्तानको भविष्य सम्झेर घरबारी बेच्न सुमित्राको मञ्जुरी
आशबहादुर र सुमित्राका दुई छोरा छन् । जेठो छोरो आशिष कक्षा ६ र कान्छो छोरो गणेश २ मा पढ्छन् । उनीहरु इलामको नेशनल एकेडेमी र्बो्डिङ्ग स्कुलमा पढ्छन् ।
उनीहरुलाई पढाउन आशबहादुर दम्पत्तिलाई खर्चको अभाव हुन थालेको छ । अर्कातिर साहुलाई ऋण तिर्ने पैसा छैन । त्यसैको पीरले घरबारी बेच्न मञ्जुर भएको सुमित्राले बताउनुभयो ।
‘श्रीमानले भन्नुभयो, ऋण तिर्न र नानीहरुलाई पढाउन कै लागि भएपनि एकपटक विदेश जान्छु । यसपटक घरबारी बेचेर खर्च टारौंला । अर्को पटक कमाएर राम्रै घर बनाउला न ।’ श्रीमानले भनेका कुरा सुनाउँदै सुमित्राले भन्नुभयो, ‘यसमा मैले पनि नाईं भन्न सकिन ।’