ढाका बुनाई तथा ब्युटी पार्लर तालिम सम्पन्न

कृष्ण ओझा

पाँचथर : पाँचथरको फिदिम नगरपालिकामा तीन महिने ढाका बुनाई र ब्युटी पार्लर तालिम मंगलबार सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पाँचथरको आर्थिक तथा प्राविधिक सहयोगमा २८ फागुनदेखि तालिम सञ्चालित थियो ।

एक्टिभ नेपाल बिराटनगर मोरङ्गद्धारा सञ्चालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को सिप विकास अन्तर्गत सो तालिम सञ्चालन भएको हो ।

कार्यक्रमको ढाँचा बमोजिम निम्न आय भएकाहरुलाई प्राथमिकता दिएको छ । तालिममा महिला, दलित, जनजाती तथा पिछडिएका वर्गहरु सहभागी थिए ।

सीप लक्षित वर्गको समुहमा राखी फिदिम नगरपालिका वडा नम्बर १३ र १४ का २० महिलाहरुलाई नव उद्यमीको रुपमा ढाका बुनाई तालिममा सहभागि गराईएको थियो ।

त्यस्तै गरी फिदिम नगरपालिका वडा नम्बर १३ का २ र फालेलुङ्ग गाउँपालिका वडा नम्बर ८ का २ गरी ४ जना महिला हरुले व्युटी पार्लर सम्बन्धि तालिम लिएका छन् ।

समापन समारोहमा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ्ग नेम्वाङ्गले आगामी आर्थिक वर्षमा स्थानीय सरकारले दलित, महिला, जनजाती तथा पिछडिएका वर्गका लागि लघु उद्यमको क्षेत्रमा बजेट छ्ट्याई सो समुदायको उत्थानका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

चालू आर्थिक वर्ष ०७४/७५ मा पाँचथर जिल्लाका फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका र फालेलुङ्ग गाउँपालिकामा कार्यक्रमद्धारा १ सय २० जना नव लघु उद्यमीहरु सृजना गर्ने लक्ष राखिएकोमा सो लक्ष लगभग पुरा भएको एक्टिभ नेपाल बिराटनगरका कार्यक्रम संयोजक मेदिनी लावतीले जनाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार