विकासका नाममा सम्पदामाथि प्रहार

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक विस्तार गर्दा ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पनि भत्काइरहेको छ ।

नेपालको शान, पहिचान झल्काउने यस्ता सम्पदालाई नस्ट गर्न लागेको भन्दै स्थानीयवासीले भने चर्काे विरोध गरेका छन् ।

सडक विस्तारकाक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणले ललितपुरको लगनखेलस्थित बटुक भैरवनाथ मन्दिर वरपरका संरचना भत्काएको छ ।

सडक साँघुरो भएको भन्दै प्राधिकरणले अन्धाधुन्धरुपमा वरिपरिका संरचना भत्काउनेक्रम जारी छ । स्थानीयवासी र सम्बन्धित संघ–संस्थाले विरोध त गरे । तर, बाटोछेउछाउका सम्पदालाई जोगाउन सकेनन् ।

बटुक भैरव मन्दिर पारीपट्टिको पेट्रोलपम्प जोगाएर मन्दिरतर्फको बाटोमात्र विस्तार गरेको आरोप स्थानीयको छ ।

लगनखेलबाट सातदोबाटोसम्मको सडक विस्तार गर्दा दुवैतिर विस्तार नगरी मन्दिरतिरबाटमात्र भत्काएकामा स्थानीय असन्तुस्ट बनेका हुन् ।

चार वर्षदेखि अभियान चलाइ विभिन्न विरोध गर्दापनि उनीहरुको मागलाई उपत्यका विकास प्राधिकरणले सुनेको छैन ।

विकासका नाममा ऐतिहासिक सम्पदा विनास गर्ने हो भने यस्तो प्राधिकरण नचाहिने आक्रोश पोख्छन्, स्थानीय यादवलाल कायस्थ ।

मन्दिर पारीपट्टि रहेको सप्तपाताल पोखरी अधिग्रहण गरी वरपरको स्थानमा वि.सं. २०३४ सालमा पेट्रोलपम्प र सैनिक खेलकुद एकेडेमी बनाइएको थियो ।

संस्कृति र सम्पदामाथि निरन्तर आक्रमण भइरहे आन्दोलन अझ चर्काइने चेतावनी काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार