ताप्लेजुङ : ग्रामीण क्षेत्रमा जोखीमपूर्ण सडकको यात्रा त सबैले देखे–भोगेकै हो । तर, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भने पक्की सडक नै भासिन थालेको छ । १ वर्षअघि पक्की गरिएको फुङलिङको तोक्मे डाँडामा पर्ने सडक सोमवार दिउँसो भासिएको छ । सर्वसाधारण हिँडिरहेको समयमा सडक एक्कासि भासिएर भ्वाङ परेको छ ।
स्तरोन्नतिमा भएको लापरबाहीले सडक भासिएको सदरमुकामवासीको गुनासो छ । यसअघि पनि सदरमुकाम क्षेत्रमा कालोपत्र गरिएको छोटो समयमै सडक कतै भासिएको र कतै भत्किएको उनीहरूले बताएका छन् । स्तरोन्नति गरिँदा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग र निगरानी नहुँदा सदरमुकामभित्रको सडक वर्षेनि कच्चीमा परिणत हुने गरेको छ । १ वर्षअघि पक्की गरेको १ महीना नपुग्दै सदरमुकामको शाक्य मेडिकल आसपास पनि सडक भत्किएको थियो । यस्तै, पुरानो बैङ्क लाइन क्षेत्रमा समेत सडक वर्षेनि भत्किने र हिलाम्मे हुने गरेको छ । सदरमुकामभित्रकै सडक छोटो समयमै भत्किने, बिग्रने गरे पनि ठेकेदार कम्पनीलाई कारबाही र समस्या समाधानमा सम्बन्धित पक्षले बेवास्ता गरेको स्थानीयको आरोप छ ।