सुजता सुनुवार
इलाम : आयोगले २९ जिल्लामा वेपत्ता पारिएका नौ सय उजुरीको विस्तृत छानविन सकेको छ ।
वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नेपालद्धारा द्धन्द्धको समयमा सरकार पक्ष र विद्रोही पक्षबाट वेपत्ता पारिएका नौ सय उजुरीको विस्तृत छानविन गरीसकेको आयोगका माननिय सदस्य तथा प्रवक्ता प्रा. डा. विष्णु पाठकले जानकारी दिनु भयो ।
सोमबार इलाममा भएको पीडित तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता पाठकले भन्नु भयो असारभरी ४० प्रतिशत काम सक्ने लक्ष्य छ । आयोगले हालसम्म दर्ता भएका उजुरीमध्ये तीन हजार १८३ उजुरीको प्रारम्भिक छानविन सकेको छ ।
यस्तै ४१४ उजुरीलाई सत्य निरुपणमा पठाइएको , २७६ लाई तामेलीमा ११९ वटा उजुरी मर्च गरिएको र दुई हजार तीन सय उजुरीको विस्तृत छानविन भइरहेको आयोगले जानकारी दिएको छ ।
द्धन्द्धका समयमा जिउदै वा मारेर पुरिएका व्यक्तिको शव गाडेको स्थान पत्ता लागे उत्खनन् गरेर पहिचान गरिने प्रवत्ता पाठकले बताउनु भयो । उहाँले भन्नु भयो , नेपालको ३५ जिल्लामा उत्खनन् कार्य हुदैछ । उत्खनन् ४५ दिनभित्रमा गरीसकिने भएकाले दुई हजार ३५९ जनाको उत्खनन् गरी पहिचान गरिनेछ । पिडितलाई जसरी भए पनि न्याय दिलाएर छाड्ने प्रवत्ता पाठकको भनाई छ ।
आयोगका अनुसार , दर्ता भएका उजुरीमध्ये ८५ प्रतिशत तत्कालिन राज्य पक्षले , १५ प्रतिशत विद्रोही पक्षले घटाएका घटना पाइएको छ । जसमा पुरुष ९१ प्रतिशत देखिएको छ भने महिला ९ प्रतिशत पाइएको छ ।
कार्यक्रममा पाँचथरकी मञ्जु तिम्सिनाले पाँचथरबाट २०५८ मा विस्थापित भई इलाम आएको तर हालसम्म आफ्नो जिल्ला जाने व्यवस्था हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नु भयो ६ वर्षको बालकलाई विना सहभागी माओवादी भन्दै पढीरहेको विद्यालयबाट रेष्टिकेट गरियो । माओवादी कै आरोपमा ११ जनाको परिवार विस्थापित भई आएर इलाममा बसेको यत्तिका समय हुदा समेत घर फर्कने व्यवस्था सरकारले मिलाई दिन नसकेको र चाँडै फर्कने व्यवस्था मिलाईदिन आग्रह गर्नु भयो ।
यस्तै इलामकी माया भट्टराई सुत्केरी हुदाँ वेपत्ता भएका श्रीमान् लोकेन्द्र भट्टराईलाई हालसम्म वेपत्ताको लिष्टमा नराखिएको र मृत्यु घोषणा समेत नगरिएकाले पिडाले झन – झन सताएको बताउनु भयो । पिडित पक्ष नभएकाले राहत खादै गरेको तर खास पिडित पक्षले चाँही न्यायबाट वञ्चित हुनु परेको कार्यक्रममा सहभागीहरुले गुनासो गरेका थिए । आयोगले खास पिडित को हो भन्ने पहिचान गर्न सुष्म ढङ्गले अध्ययन गरीदिन र चाडै न्याय दिलाउन जरुरी रहेको सहभागीको भनाई थियो ।
पिडित पक्षको गुनासोलाई सम्बोधन गर्दै प्रवत्ता पाठकले भन्नु भयो , सरकारी निकायबाट हामीलाई सहयोग छैन । चाँडै न्याय दिलाउनका लागी चाहिने आवश्यक स्रोत साधनको पर्याप्तता नभएकोेले काममा ढिलाई भईरहेको गुनासो गर्नु भयो । तर अलि ढिला होला , न्याय चाँहि जसरी भए पनि दिलाएरै छाड्ने प्रतिवद्धता आयोगले गरेको छ ।
कार्यक्रममा आयोगका गोविन्द प्रसाद हुमागाई , नेपाल बार एसोसियसनका अध्यक्ष सुदिप बोहोरा , मानव अधिकार मञ्च इलामका मोहनसिंह थेवे , शान्ति समिति इलामका पूर्व संयोजक भक्त केसी , दण्डपिडित साझा चौतारीका दामोदर भण्डारी , नेपाल पत्रकार महासंघ इलाम जिल्ला शाखा सचिव ख्याम भूजेल र पिडितहरु विरेन्द्र लामीछाने , हुकुम थामी लगायतले बोल्नु भएको थियो ।















































