सहरीकरणसँगै खानेपानी अभाव

पाँचथर र इलामको सिमानामा रहेको घुर्बिसे पञ्चमी बजारमा सहरीकरण हुने क्रम तीव्र गतिमा बढेको छ । दुई जिल्लाको सिमानामा रहेको यो बजार तीव्र गतिमा सहरीकरण भइरहेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका र इलामको फाक्फोकथुम गाउँपालिकाको संगमस्थल रहेको यो बजार फाल्गुनन्द गाउँपालिकाको केन्द्रसमेत हो ।
मेची राजमार्गअन्तर्गत रवि–राँके सडक खण्डको (रवि–राँके–भेडेटार )सडक खण्ड अन्तर्गत ९ किमिनजिकै पर्ने यो बजार तीव्र सहरीकरणसँगै खानेपानीको चरम अभाव देखापर्न थालेको छ ।
खानेपानी डिभिजन कार्यालय इलामबाट केही वर्षअघि १७ किमि टाढा पाँचथरको पौवा भञ्ज्याङमा रहेको खानेपानीको मुहानबाट अहिले देउराली, पुरानो पञ्चमी, इम्बुङ र घुर्बिसे पञ्चमी बजारका उपभोक्ताहरू खानेपानी प्रयोग गरिरहेका छन् । बजारनजिक कुनै पनि खानेपानीको व्यवस्थित र पानीको मुहान नपाइएकाले खानेपानी अभाव हुन थालेको स्थानीयवासी बताउँछन् ।
खानेपानीको मुहान टाढा भएकाले पटकपटक पानी सञ्चालनमा समस्या हुँदा धेरै दिनसम्म खानेपानी बन्द हुने गरेको स्थानीय युद्धबहादुर बोहोराले जानकारी दिए । हिउँदको समयमा पानीको माग ज्यादा हुँदा अहिले सञ्चालनमा रहेको खानेपानी योजनाबाट बजार क्षेत्रमा पानीको अभाव हुने गरेको छ ।
हिउँदमा मुहान सुकेर खानेपानी सानो आउँछ भने वर्षातमा धमिलो भई पिउन असम्भव भएको स्थानीयवासी कमला खड्का (निरौला) बताउँछिन् । धारामा आउने सानो पानी भर्नलाई बिहान ४ बजेदेखि कुर्दामात्र एकपटक पालोमा थाप्न पाइने उनको गुनासो छ । पानी अभाव हुनथाले पछि बेलुका ११ बजेसम्म धारामा पानि थाप्नेको भीडभाड हुने गरेको छ ।
फाल्गुनन्द गाउँपालिकाको केन्द्रसमेत रहेकाले र सहरीकरण तीव्र गतिमा भइरहेकाले बजार क्षेत्रमा नयाँ खानेपानीको विकल्प खोजी गरिने खानेपानी अध्यक्ष तथा बजार व्यवस्थापन समितिक पूर्वअध्यक्ष कृष्णबहादुर सम्बाहाम्फे लिम्बू बताउँछन् । स्थानीय स्रोतलाई संरक्षण गर्दै जाने र दीर्घकालीन पानीका नयाँ स्रोतको खोजी भइरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार