इलाम : जिल्ला युवा समितिको कार्यालय, इलामले सात दिने “लागू औषध र दुर्व्यशनी विरुद्ध युवा सचेतना अभियान” आजबाट शुरु गरेको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् मातहत रहेको जिल्ला युवा समितिको कार्यालय इलामको आयोजना र जिल्ला प्रहरी कार्यालय इलामको सहयोगमा जारी अभियान अन्तर्गत आज इलाम नगरपालिका वडा नं. ५ स्थित अमर माध्यमिक विद्यालयमा सचेतना/अभिमुखिकरण सम्पन्न भयो ।
विद्यालयका प्रधानाध्यापक सोमनाथ निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला युवा समिति इलामको अध्यक्ष नवराज शंकर र प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा एक सय २६ जनाको उपस्थिति रहेको थियो ।
जेष्ठ १६ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने लागू औषध र दुर्व्यशनी विरुद्ध युवा सचेतना अभियान इलाम नगरपालिकाको १२ वटा विद्यालयमा सञ्चालन हुने जिल्ला युवा समितिको कार्यालय इलामका अतीत योङ्हाङले बताए ।