फिदिम :- फिदिम बजार तथा आसपासका क्षेत्रमा रहेका दुई सय बढी सडक बत्ती बल्न छाडेको बर्षौँ भइसक्यो । मेची राजमार्गमा पर्ने मूख्य सडक तथा बजारका केही क्षेत्रमा सौर्य बत्ती तथा सडक बत्तीहरु बलिरहेका भएपनि अन्य क्षेत्रमा सडक बत्ती बल्दैनन । फिदिम जस्तै अन्य नगरपालिकाहरुले सडक सौर्य बत्ती जडान गरिसकेका छन् । जिल्लाकै याङवरक गाँउपालिकाले थर्पू बजार क्षेत्रमा सौर्य सडक बत्ती जडान गरिसकेको छ ।
तत्कालीन सांसद् श्रीप्रसाद जवेगू मन्त्री भएका बखत फिदिमलाई उज्यालो नगरपालिका बनाउने घोषणा गरेका थिए । यसका लागि सडक सौर्य बत्ती जडानमा सहयोग गर्ने घोषणा जवेगूले गरेका थिए । तर, जवेगू मन्त्री भएका वखत फिदिमलाई उज्यालो बनाउन कसैबाट पहल हुन सकेन । फलस्वरुप पुनर्संरचनापछि बनेको नयाँ नगरपालिका र नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले फिदिमलाई वर्षदिन पुग्दासमेत फिदिममा उज्यालोको प्रवन्ध गर्न सकेका छैनन ।
फिदिम नगरपालिका भित्र रहेका झण्डै २ सय सडक बत्तीको ५ लाख भन्दा बढी शुल्क तिर्न बाँकी छ । उक्त शुल्क तत्कालीन फिदिम गाँउ विकास समितिले तिर्ने सहमति विगतमा भएको फिदिम साना जलविद्युत उपभोक्ता समितिको कार्यालयका प्राविधिक प्रमुख रामचन्द्र खत्रीले वताए । तर, नगरपालिका घोषणा भएपछि उक्त रकम तिर्ने विषयमा चर्चा नै हुन सकेको छैन ।
“विद्युतको शुल्क कुनै न कुनै निकायबाट त तिर्नुप¥यो” खत्रीले भने “कहीँ कतैबाट शुल्क नतिरेपछि कार्यालयले नै सडक बत्ती काट्ने गरेको छ ।” धेरै स्थानमा सडक बत्ती काटिसकिएको उनले वताए । कसैले हेरचाह नगरेपछि यसरी राखिएका बत्तीहरु विग्रदै गएको खत्रीले वताए । सडक बत्ती जोडिएदेखि यताकै रकमको बक्यौता बाँकी रहेको खत्रीको भनाई छ ।
फिदिम नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले सडक बत्तीका विषयमा नगरपालिका जानकार नरहेको वताए । उनले सडक सौर्य बत्ती जडानका लागि टेण्डर भइसकेको जानकारी दिए । फिदिम बजार र बजार आसपासका क्षेत्रमा सौर्य सडक बत्ती जडानका लागि टेण्डर भइसकेको उनको भनाई छ ।
पाँचथर उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय लगायत निकायको पहलमा फिदिम बजार आसपासमा ३२ ओटा सीसी क्यामेरा जडान भएका छन् । तर, अन्धकार सडकमा यस्ता सीसी क्यामेराले काम गर्न सक्ने अवस्था छैन ।
फिदिम नगरपालिमा जनप्रतिनिधिले काम थालेको वर्षदिन पुग्न लाग्दासमेत फिदिमलाई अन्धकारबाट उज्यालो बनाउने भरपर्दो प्रयास समेत हुन सकेको छैन । सदरमुकाम रातभर अन्धकारमय हुनु जिल्लावासीकै लागि लज्जाजनक विषय त हो नै यस अतिरिक्त अपराधिक घट्ना, चोरी, लुटपाट वृद्धिमा अन्धकारले सहयोग गरिरहेको छ ।



















































