एमाले र माओवादी मिलेपछि साख फिर्ता गराउन कांग्रेस के गर्छ ?

काठमाडौं : एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि सबैभन्दा ठूलो चुनौती कांग्रेसमाथि परेको छ । संघीय संसद्मा प्रतिपक्षी भए पनि नेकपाको गठनपछि कांग्रेस कमजोर मात्रै बनेको छैन, अबको झन्डै पाँच वर्ष सत्ताबाट बाहिरै बस्नुपर्ने अवस्थामा पुगेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एमाले र माओवादी नमिल्दा कुनै विषयमा राजनीतिक खटपट आउने र सरकारको समीकरण फेरिन सक्दा यसमा खेल्ने छिद्र पनि कांग्रेसका लागि बन्द भएको छ ।कांग्रेस केन्द्रदेखि सातवटै प्रदेशमा प्रतिपक्षी छ । यी सबैमा एमाले र माओवादी मिलेपछि प्रतिपक्षी भूमिका अंकमा झनै कमजोर बन्न पुगेको छ । योभन्दा बढी संघीय संसद् र प्रदेश सभाको निर्वाचनमा अनपेक्षित परिणाम आएपछि कांग्रेस हारको ‘तनाव’ र ‘दबाब’बाट माथि उठ्न सकेको छैन ।

मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी मिलेपछि पुरानो साख र सामथ्र्य फर्काउन कांग्रेसले अब के गर्छ भन्ने चासो सर्वत्र छ ।केही समयअघि १४ दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा निर्वाचनमा व्यहोरेको हारको जिम्मा कसले लिने भन्नेमा कांग्रेस रुमल्लियो ।

वाम गठबन्धनका कारण हारेको र यसको जिम्मा केन्द्रीय समितिले लिने निर्णय त ग-यो, तर, निर्वाचनमा जाँदा विधानविपरीतका समिति खडा गर्दै टिकट बाँडेको, टिकटको किनबेच भएको, इमान्दारलाई पाखा पारिएको र यसमा नैतिक दोषी पार्टी नेतृत्व भएको भन्दै विषय उठेपछि कांग्रेसभित्रको विवाद झन् छताछुल्ल भयो ।

१४ दिनसम्म केन्द्रीय समितिमा बहस हुँदा गुटगत बहस पनि उत्तिकै भए । हारको जिम्मा आफूले मात्रै नलिने र अर्काे पक्षले लिनुपर्ने आरोप प्रत्यारोप चलिरहेको छ ।केन्द्रीय समितिको समीक्षाबाट निस्किए पनि चुनावी हारका विषयबाट कांग्रेस उत्रिसकेको छैन । जिल्ला सभापति भेला यही जेठमा र महासमितिको बैठक आगामी भदौमा डाकिएको छ । आन्तरिक समस्याकै विषयमा रुमल्लिरहेको कांग्रेसले आगामी दिशा समात्न सकिरहेको देखिन्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार