पाल्पा : स्थानीय तहको निर्वाचन भएको १ वर्ष पुगे पनि पाल्पाका अधिकांश स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ ।
दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राहीले सेवा नपाएका मात्रै छैनन् कार्यालयको दैनिक कामकाज समेत अवरोध हुन थालेको छ । गाउँगाउँमा सिंहदरबार भन्ने नारासहित स्थानीय निकायको निर्वाचन भएको १ वर्ष पुगिसक्यो । निर्वाचित भएर जनप्रतिनिधि त आए तर गाउँपलिका र नगरपािलकमा कर्मचारीको अभाव छ ।
सरकारले अनुनय विनय गरी कर्मचारीलाई गाउँगाउँमा गई सेवा गर्न अनुरोध पनि गरिरहेको छ । तर १० स्थानीय तह भएको पाल्पामा कर्मचारीको अभाव हुँदा एकातिर जनप्रतिनिधिले सोचेअनुसारको काम गर्न सकेका छैनन् भने अर्कोतिर सेवाग्राहीले सहज र सुलभ रुपमा सेवा पाउन सकेका छैनन् ।
कर्मचारीको शहरमुखी प्रवृति भएका कारण उनीहरु गाउँगाउँमा पुगेर सेवा गर्न अटेर गरिररहेका छन् तर त्यसको मारमा भने जनता परेका छन् ।सरकारले शहरी क्षेत्रमा भएका नीति तथा कार्यक्रम ग्रामीण क्षेत्रमा पनि लागु गरेपनि कर्मचारी त्यसलाई सहज रुपमा स्वीकार्न तयार छैनन् । कर्मचारीको दरबन्दी खाली हुँदा प्राय काम ठप्प भएको छ ।
स्थानीय तहबाट स्वीकृत भएको नक्सामा मात्र घर बनाउन पाइने नियम भएपनि कर्मचारीका अभावमा यो नियम कागजमा मात्र सीमित भएको छ । माथागढी गाउँपालिकाका ८ वडामा ३ सचिवले काम गर्नुपर्ने बाध्यता छ ।एउटा सचिवले ३ देखि ३ वडाको काम हेर्नुपर्ने भएकोले जनताका काम सहज रुपमा गर्न नसकिएको माथागढी गाउँपालिकाका प्रमुख सन्तोष कुमार थापा बताउँछन् ।
बगनासकाली गाउँपालिकाका पनि ६ जना सुव्बाको दरवन्दी भएपनि अहिले १ जनाले काम चलाउनुपरेको छ ।प्रत्येक वडामा ९ जना सव ईन्जिनियर हुनुपर्नेमा १ जना पनि सव ईन्जिनियर नहुँदा वडाका कामहरु अवरोध भएको प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र अर्यालको गुनासो छ ।
रैनादेवीछहरा गाउँपालिकामा पनि कर्मचारीको चरम अभाव रहेको गाउँपालिका प्रमुख राम बहादुर कार्की बताए ।त्यसो त पाल्पाका १० ओटै स्थानीय तहमा कर्मचारीको अभाव छ । जसले गर्दा महत्वपूर्ण कामहरु प्रभावित भइरहेका छन् ।
जसको कारण जनतालाई सास्ती र असुविधा भएको छ । तसर्थ सरकारले अटेरी गर्ने कर्मचारीलाई कारबाही गरी तोकिएको ठाउँमा जसरी भएपनि कर्मचारीलाई तुरुन्त पठाउन जरुरी छ ।






















































