करिब ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । सुन तस्करीबारे छानविन गरिरहेको उच्चस्तरीय समितिले मंगलबार पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको छ । लगत्तै, सुन तस्करी र सनम शाक्य हत्याको मुद्दा चलिरहेको जिल्ला अदालत मोरङमा उनलाई उपस्थित गराइएको छ ।
गोरेलाई गौरीघाटबाट बिहान करिब ५ः३४ बजेको समय पक्राउ गरिएको छानविन समितिले बताएको छ । मोरङ उर्लाबारी–४ का गोरेको काठमाडौं–८ स्थित गौरीघाटमा घर छ । उनलाई त्यहीं क्षेत्रबाट पक्राउ गरिएको समितिले बताएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरप्रसाद पौडेलले भने “हामी सुक्ष्म संयन्त्र परिचालन गर्दै नेपाल र भारतमा खोजी कार्य जारी राखेकै थियौं । नेपाल आएको सूचनाका आधारमा मंगलबार बिहान पक्राउ गरिएको हो ।” समितिका अनुसार गोरेसँग प्रारम्भिक सोधपुछ भएको छ र उनले सुन तस्करी र त्यसमा संलग्नहरुबारे केही सूचना दिएका छन् ।
“उनीहरुको विषयमा समेत गोरेबाट पुष्ट्याइ प्रमाण, तथ्य र सूचना प्राप्त भएको छ” संयोेजक पौडेलले भने “गहिराइका साथ तथ्यपरक ढंगले अनुसन्धान गर्नै क्रम जारी राख्नेछौं ।” समितिको अनुसन्धानका क्रममा चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी भएको ठहर गरेको छ । त्यस आधारमा ९ प्रहरी अधिकारीसहित ६५ जनाविरुद्ध मुद्दा चलिरहेको छ । गोरे समूहले तस्करी गरेर ल्याएको साडे ३३ किलो सुन हराएपछि खोजविनका क्रममा सनम शाक्यको हत्या भएको थियो । त्यसको छानविनका क्रममा गोर र उनको समूहले गर्दै आएको सुन तस्करीको पोल खुलेको हो ।
के हो साढे ३३ किलो सुनकाण्ड ?
माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको गाइँगुइँ चलेको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो । घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ ।
यसबारे छानविनका क्रममा पूर्व डिआईजी गोविन्द निरौला, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् । एसएसपी श्याम खत्री अझै फरार छन् । घटनामा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ । घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।
भारतको भगौडा आर्मीदेखि सुन तस्करीसम्म
चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त हन, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ भन्न थालिएको छ । प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए ।
यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए । उनी मध्यम वर्गीय परिवारमा हुर्किएका थिए । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।
त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । स्वदेशमा छँदा मोरङ–११ फुटबल क्लबमा समेत आबद्ध उनको जीवनमा दूबई गएपछि भने एकाएक परिवर्तन आएको थियो । उनी निकट उर्लाबारीका एक व्यवसायी भन्छन “दूबई गएपछि एकाएक आर्थिक हैसियत फेरियो ।”
दूबई प्रहरीमा काम गर्दा नै उनले सुन तस्करी उपायको बारेमा जानकारी लिएको देखिन्छ । त्यसपछि दूबई प्रहरीको जागिर छाडेर तस्करीलाई धन्दा बनाएका थिए । जसलाई सफल बनाउन उनले प्रहरी अधिकारीसँग सम्बन्ध बढाए । दूबईमा प्रहरीको जागिर छाडेपछि निरन्तर नेपाल आउजाउ गर्न थाले ।
नेपालमा रहेका वेला उर्लाबारीका प्रतिष्ठित भनिएकाहरुसँग ‘मन्डे होटल’ मा दिनहुँ पार्टी चल्ने गरेको थियो । “उसले हाम्रो लागि प्रायः एउटा कोठा रिजर्भ गर्ने गरेको थियो” स्रोतले भनेको छ “उनले कतिपयलाई स्कोर्पियो गाडीमा दिएका थिए ।” देखिने गरी उनको उर्लाबारीमा डेढ विगा जग्गा र दुई तले पक्की घर बनाएका थिए ।
काठमाडौंको गोेरीघाटमा पनि आलिसान बंगला ठड्याएका उनले बानेश्वरमा दुई वटा कोठा भाडामा लिएर सुन स्टोर गर्ने गोदाम बनाएका थिए । हाल उनका भाइ र श्रीमती दुवै यूएईमा छन् । उनका परिवारका अधिकांश सदस्य उर्लाबारीबाट हिँडिसकेका छन् ।
गोरेको बयान ः एसएसपी खत्रीलाई पक्रनुस्, सबै खुल्छ
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रारम्भीक बयानमा वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पोलेका छन् । सार्वजनिक गर्नुअघि समितिले गोरेसँग बयान लिएको थियो । त्यस क्रममा उनले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो नेक्सस खुल्ने बताएका छन् ।
गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।
खत्री तिनै प्रहरी अधिकारी हुन, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो । फेरि सुनकाण्डमा उनको संलग्नता देखिएपछि छानविन समितिले वैशाख पहिलो साता बयानका लागि पत्र काटेको थियो । तर, बयानका लागि नगएका उनी फरार छन् ।
पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी खत्री र एसपी विकासराज खनाल ०७२/०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यसवेला नै गोरेले तस्करीको सेटिङ मिलाए । खत्रीबाहेक ६ प्रहरी अधिकारीलाई जिल्ला अदालत, मोरङले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । तर, उनका ड्राइभर र अंगरक्षक धरौटीमा छुटे ।
बयानका क्रममा गोरेले विमानस्थलका प्रहरी अधिकारीसँग सेटिङ मिलाएर सुन कटाउने गरेको स्वीकारेका छन् । उनको डायरीमा उल्लेखित विवरण अनुसारको रकम पूर्व डिआईजी निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाल लगायतलाई दिएको स्वीकारेका हुन् । “बयानका क्रममा उनी निकै त्रसित देखिन्थे” गृह मन्त्रालयका एक अधिकारीले भने “कहिले रुँदै मलाई हान्दिनु भन्थे त कहिले हाँस्ने गर्थें ।”
गोरेल बयानका क्रममा आफ्नो काम सेटिङ मिलाउने र कमिशन लिने भएको बताएका छन् । “दिनमा ८६ केजीसम्म सुन भित्र्याएका छौं । यत्रो सुनमा लगानी गर्ने मेरो हैसियत पनि छैन” उनले दिएको बयानलाई उदृत गर्दै स्रोतले भन्यो “मेरो पनि लगानी हुँदै नहुने चाहिँ होइन । अलिअलि पैसा कमाएको थिएँ । कहिले काहीँ थोरै परिमाण आफैं पनि ल्याउँथे ।”
उनले लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका छन् । साथै, केही भारतीय पनि रहेको तर, उनीहरुसँग समन्वय अग्रवालले गर्ने गरेको उनको दाबी छ । “सुन हराएपछि मलाई दबाब थियो । त्यसैले सुन खोजीमा व्यापक रुपमा लागेका हौं” उनले भनेका छन् ।
गोरेलाई थियो ‘इन्काउन्टर’ मा पर्ने डर !
साढे ३३ किलो सुन र सनम शाक्यको हत्याबाट सुरु भएको छानबिन मुद्दा दर्तासम्म आइपुग्दा ३८ क्वीन्टल सुन तस्करीको निष्कर्षमा पुगिसकेको थियो । र, यो सबैको केन्द्रमा थिए ‘गोरे’ । अनुसन्धानका दायरमा आएकाहरुले पनि प्रकरणका नाइके गोरे हुन् भने । प्रहरीले पनि उनलाई नै मुख्य अभियुक्त बनाएर मोरङ जिल्ला अदालतमा मुद्दा चलाएको छ । तर, यो मुद्दामा वादी प्रतिवादीको बहस सकिएर आदेश हुने दिन नै अनपेक्षित रुपमा गोरे पक्राउ गरे ।
बिहान ११ बजेतिर गृह मन्त्रालयबाट सुन तस्करीबाट छानबिन गरिरहेको समितिले पत्रकार सम्मेलन आयोजना गरेको खबर आयो । तर, त्यस अघि नै गोरे पक्राउ परेको सूचना चुहियो । गोरे मंगलबार बिहान करिब ५ः३४ बजेतिर काठमाडौं गौरीघाट क्षेत्रबाट पक्राउ गरेको छानविन समितिका संयोजक गृहका सह–सचिव ईश्वरप्रसाद पौडेलले बताएका छन् । उनी कोलकाता, नयाँ दिल्ली लगायतका ठाउँमा लुकेर बसे । तर, पछिल्लो समय उनलाई आफू कुनै पनि बेला मारिने डरले सताउन थालेको अनुसन्धानबाट देखिएको छ ।
जब ९ माघमा नेपाल भित्रिएको ३३ किलो तस्करीको सुन हरायो, लगानीकर्ताले गोरेमाथि प्रश्न उठाए । यो सुनको लगानीकर्ता मोहनकुमार अग्रवालसहितको समूह भएको गोरेको दाबी छ । “सुन गायब भएपछि खोज्नलाई उसलाई चर्को दबाव दिइएको देखिन्छ” छानबिन समितिका एक सदस्यले भने “त्यसपछि उनलाई कि साढे ३३ केजी सुन बराबरको रकम तिर्नु पर्ने कि सुन लुट्ने समूह पत्ता लगाउनु पर्ने दबाव पर्यो । त्यसैले उनले भरियाहरुलाई यातना दिइएको भेटिएको छ ।”
यातनाकै क्रममा गोरेको आर्थिक कारोबारका व्यवस्थापक एवं भरिया सनम शाक्यको मृत्यु भयो । उनले शव व्यवस्थापन गरिदिन महागरीय अपराध महाशाखाका प्रहरी समक्ष प्रस्ताव राखे । र, महाशाखाका अधिकारी गोरेलाई पक्राउ पर्ने दाबीसहित धरान पु¥यायो । तर, प्रहरी त्यहाँ पुग्दासम्म गोरे भागिसकेका थिए ।
१९ फागुनमा गोरे भागेर भारत पुगे । उनी कोलकाता, नयाँ दिल्ली लगायतका ठाउँमा लुकेर बसे । तर, पछिल्लो समय उनलाई आफू कुनै पनि बेला मारिने डरले सताउन थालेको अनुसन्धानबाट देखिएको छ । उनी नेपालमा प्रहरीको खोजी सूचीमा थिए । उनको नाममा डिफ्युजन नोटिस पनि जारी भएको थियो ।
त्यति मात्र होइन, हिजो सुन तस्करीमा साथ दिएका अन्य प्रहरी अधिकारीहरू नै आफ्नो पोल खुल्ने डरले कुनै पनि वेला आफूलाई इन्काउन्टर गर्न सक्ने डर गोरेलाई थियो । “छानबिन समितिले प्रहरी अधिकारीहरुलाई धमाधम पक्राउ गरिरहेका थियो” समितिका एक अधिकारी भन्छन “घटनामा अन्य प्रहरी पनि संलग्न थिए । उनीहरुको नेक्सस खुल्ने डरले प्रहरीबाट इन्काउन्टरमा पर्ने त्रास पनि उसमा थियो ।”
यस्तै, उनी जसका लागि सुन तस्करी गर्थे, उनीहरुबाट पनि गोरेले खतरा महसुस गरेका थिए । पक्राउ परेको अवस्थामा पोल खुल्छ भनेर आफूलाई कुनै पनि बेला मार्न सक्ने डर उनमा थियो । पूर्वप्रहरी समेत रहेका उनका बाबुले पनि त्यो खतरा देखेको थिए ।
त्यसैले परिवारले पनि गोरेको जीवन रक्षाका लागि पनि पक्राउ गराउन चाहेको थियो । गोरेका बावुले विभिन्न च्यानल प्रयोग गरेर यो खबर कहिले सुन तस्करीको रिपोर्टिङ गरिरहेका पत्रकारलाई पु¥याउँथे त कहिले अनुसन्धान टोलीका सदस्य निकटलाई । यो थाहा पाएपछि अनुसन्धान टोलीले नेपाल र भारतका विभिन्न स्थानमा खोजी पनि ग¥यो । तर, गोरे भेटिएनन् ।
गोरेको परिवारले जीवनरक्षासहित आत्मासमर्पण गर्न ‘नेपाल मानवअधिकार संगठन’ सँग सहयोग मागेको थियो । संगठनका प्रदेश १ का संयोजक केपी सुवेदीले आफन्तले आफूलाई सम्पर्क गरेको स्वीकार गरे । उनले भने “आत्मसमर्पण गर्ने हो कि भनेर कुरा भएको हो ।” त्यसबारे आफूले संगठनलाई जानकारी गराएको तर, प्रक्रिया अघि नबढेको उनले बताए ।
सुवेदी भन्छन “गोरेलाई म चिन्दिनँ । उहाँहरुको आफन्तबाट कुरा आएपछि यस्तो यस्तो छ है भनेर केन्द्रलाई भनेको थिए तर, माहोल बनेन ।” गोरेले मानवअधिकार संगठनलाई लेखेको पत्र भनेर सार्वजनिक पनि भएको छ । तर, संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र प्रदेश संयोजक सुवेदी दुबैले त्यसलाई अस्वीकार गरे ।
गोरेको परिवारसँग सम्पर्कमा थियो प्रहरी
अनुसन्धानका क्रममा छानबिन समितिले गोरेको परिवारलाई विश्वास लिने प्रयास गरेको थियो । समितिका एक सदस्यले गोरेकी श्रीमती नर्वदा उप्रेतीलाई पटकपटक फोन सम्पर्क गरेका थिए । स्रोत भन्छ “प्रहरी र गोरेकी श्रीमतीबीच १९ पटकसम्म संवाद भयो । यो गोरे नमारिने विश्वास दिलाउने प्रयास हो ।”



















































