नरेन इलामेली
माइजोगमाई : इलाम जिल्लाको सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिका जोड्ने मुख्य सडक फिक्कल गुप्ती नयाँबजार सडक स्तरोन्नतिको चर्चा चलेसँगै उत्साहित बनेका यहाँका स्थानियबासी। यहाँ उत्पादित कृषि उपजलाई सहजै बजारसम्म पुर्याउने र पर्यटन प्रबर्दनमा समेत सहयोग पुग्ने अपेक्षा थियो तर अन्तिम समयमा आइपुग्दा फिक्कल गुप्ती नयाँबजार सडक स्तरोन्नतिको काम समपन्न नहुने देखिएको छ।
उन्नति समावेशी वृद्धि कार्यक्रम अन्तर्गत डेनमार्क सरकारको सहयोगमा सञ्चालित उक्त सडक स्तरोन्नतिका लागि नागर्जूङ कन्सट्रक्सन कम्पनीले कुल लागत १४ करोड ४६ लाख ३४ हजार ७ सय ३६ रुपैयामा समपन्न गर्ने गरी २८ नोभेम्बर २०१६ मा ठेक्का सम्झौता गरेको थियो। कुल १९.०३३ किलोमिटर लम्बाई रहेको उक्त सडक स्तरोन्नतिको काम आगामी ३० जुन २०१८ मा समपन्न गर्ने समझौतामा उल्लेख गरिएको छ।
तर काम समपन्न हुने अवधि सम्म आइपुग्दा आधा पनि काम समपन्न भएको छैन केहि दिन अगाडी इलाममा प्रस्तुत गरिएको उन्नति समावेशी वृद्धि कार्यक्रम अन्तर्गत संचालित परियोजनाहरुको प्रगति प्रतिबेदनका अनुसार उक्त सडक स्तरोन्नतिको काम हाल सम्म ४५ प्रतिशत मात्र समपन्न भएको देखाइएको छ भने अहिले सम्म ४ करोड ५२ लाख ५४ हजार १ सय ५५ रुपैया निकासा भइसकेको देखाइएको छ।
सडकको माटो काट्ने काम समपन्न भएको छ भने ग्याविनको काम २४ प्रतिशत, कल्भर्ट निर्माण ४५ प्रतिशत र नाली निर्माण १९ किलोमिटर मध्ये १५ किलोमिटर मात्रै समपन्न भएको छ भने ग्राभेलको काम बाँकी नै रहेको छ। तर भएको काम पनि गुणस्तरीय नभएको स्थानियको गुनासो रहेको छ ।
सडक हिलाम्य हुँदा आवतजावतमा समस्या हुने गरेको छ भने बनाइएको नाली काम समपन्न नहुँदै भत्किन थालेको छ। त्यसो त सडक स्तरोन्नतिको काम समयमै समपन्न गर्ने उद्धेश्यले अनुगमन समिति गठन नगरिएको पनि हैन सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने साँघुबेसीमा अनुगमन समितिको कार्यालय नै खडा गरि सूर्योदय नगरपालिका वडा नं ३ का वडा अध्यक्ष होम बहादुर कार्कीको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ।
अनुगमन समितिले निरन्तर अनुगमन समेत गरिरहेको छ तर अनुगमनका क्रममा भेटिएका कमी कम्जोरीलाई ठेकेदार कम्पनीले नसच्याएको र अनुगमन समितिको सल्लाह सुझाबको बेवास्ता गरेको समितिका संयोजक कार्कीले बताए। अहिले सडकको अवस्था के छ भन्ने नयाँ बुलन्दको प्रश्नमा संयोजक कार्कीले भने- ” सडकको अवस्था भयाबह छ, हिँडिसक्नु छैन।पटक पटक ठेकेदार कम्पनीलाई हामीले सल्लाह सुझाब दियौँ तर हाम्रो सुझाबको पालना गरिएन। सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको संयुक्त पहलमा अनुगमन समिति गठन गरेर पटक पटक ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग बैठक बस्यौँ समस्या के हो पहिचान गरी समाधानको उपाय खोजी गर्यौ तर ठेकेदार कम्पनी बिभिन्न बाहनाबाजी गरेर पन्छिन खोजिरहेको छ। ठेकेदार कम्पनीले कम लागतमा ठेक्का सम्झौता गरेर घाटा लाग्ने अवस्था देखिएको पछि पन्छिन खोजेको हो कि भन्ने हामीलाई आशंका तागेको छ।
तर यसरी पन्छिन पाइँदैन कम्पनी कालोसूचीमा पर्छ भन्ने उहाँहरुलाई थाहै होला! यस सडकलाई समयमै समपन्न गर्ने उद्धेश्यले हामीले हामी बिभिन्न समयमा जिल्ला प्राविधिक कार्यालय देखि सडक बिभाग र मन्त्रालय सम्म पुग्यौ तर सडक समयमा समपन्न नहुने देखिएको छ। ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक स्तरोन्नतिको काममा ढिलाई भइरहेको छ ४० प्रतिशत पनि काम समपन्न भएको छैन।
सडक स्तरोन्नतिको काममा ढिलाई हुँदा सडक हिलाम्य छ, आवतजावतमा समस्या हुनुका साथै सहज यातातात आवतजावत गर्न नसक्दा कृषि उपजहरु बजारसम्म पुर्याउने कठिनाई भएको छ भने सो सडक स्तरोन्नतिको काम समपन्न नहुँदा परियोजना अलपत्र पर्ने र फेरी सरकारको योजनामा उक्त सडक नपर्ने हो कि भन्ने स्थानियको चिन्ता रहेको छ। तर बर्षा र यातायायको चापका कारण काम गर्न नसकिएको फिक्कल गुप्ती नयाँबजार सडकका इन्जिनियर चन्द्रकुमार ओझाले बताउँदै आएका छन।