पाँचथर उद्योग वाणिज्य संघको अधिवेशन सुरु

फिदिम : पाँचथर उद्योग वाणिज्य संघको ११ औं अधिवेशन शनिबारदेखि सुरु भएको छ। प्रतिनिधि सभा सदस्य बसन्तकुमार नेम्बाङले  अधिबेशनको उद्घाटन गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले वाणिज्य संघ सम्पूर्ण व्यवसायीको साझा संस्था भएकाले सबैलाई नेतृत्व गर्न सक्ने सक्षम नेतृत्व चयन गर्नुपर्ने बताए।

‘साझा संस्थाको नेतृत्व सहमतिबाट चयन गर्ने पहल गर्नुपर्छ,’ नेम्बाङले भने ‘सहमतिबाट चुनिएको नेतृत्वले मात्रै सबैलाई समान ढंगले नेतृत्व प्रदान गर्न सक्छ।’ उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कार्यक्रमको उद्घाटन गर्ने कार्यतालिका रहेपनि उनी उपस्थित नभएपछि नेम्वाङले उद्घाटन गरेका हुन्।

सोमबार हुने मतदानका लागि व्यवसायी दुई प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्।  युवा व्यवसायी दिपक नेपाललाई प्रजातान्त्रिक धारका व्यवसायीले अध्यक्षको उम्मेद्वार बनाएका छन् भने वामपन्थी धारका व्यवसायी तुलसीदास श्रेष्ठलाई अध्यक्ष बनाएर चुनावी मैदानमा छन्।

एक अध्यक्ष, चार सदस्य, एक महासचिव, एक सचिव , एक कोषाध्यक्ष  र १२ सदस्यका पदका लागि ४१ जनाको उम्मेद्वारी परेको छ। दुवै प्यानलका आधिकारीक उम्मेद्वार बाहेक तिलक ढकालले उपाध्यक्ष पदका लागि स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन्। अधिवेशनमा आइतबार बन्द सत्र र सोमबारदेखि मतदान गर्ने कार्यतालिका छ। सोमबार हुने मतदानमा एक हजार आठ सय ३६ जना व्यवसायीले मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार