उन्नतिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नरेन इलामेली

इलाम :उन्नति समावेशी वृद्धि कार्यक्रम अन्तर्गत इलाम जिल्लामा सञ्चालित परियोजनाहरूको प्रगति र समिक्षा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा समपन्न भएको हो।

उन्नति समावेशी वृद्धि कार्यक्रम अन्तर्गत पूर्वी पहाडका सात जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा, संखुवासभा र तेह्रथुम गरी १५९ वटा परियोजनाहरु संचालन गरिरहेको छ। उन्नति समावेशी वृद्धि कार्यक्रम अन्तर्गत डेनमार्क सरकारको सहयोगमा इलाममा मात्रै १२ वटा सडक निर्माण तथा स्तरोन्नति परियोजना सहित १ सय १६ वटा  परियोजनाहरु सञ्चालन भइरहेको छ। जसमध्ये १२ वटा सडक, ५६ वटा चिया, २९ वटा दुग्ध डेरी, ३ वटा अदुवा र १५ वटा अलैंची सम्वन्धी कार्यक्रमहरु सञ्चालन भइरहेको छ भने कूल ४३ करोड, ३० लाख, ४४ हजार ९ सय ८४ रुपैयाँ लगानी गरिरहेको छ।

उक्त कार्यक्रममा प्रस्तुत गरिएको प्रगति प्रतिवेदन अनुसार कृषिका क्षेत्रमा सन्तोषजनक काम भइरहेको भए पनि सडक निर्माणको क्षेत्रमा काम एकदमै सुस्त भएको देखाइएको छ। प्रतिवेदनका अनुसार ठेक्का सम्झौता भएको लामो समयमा पनि सबैभन्दा कम काम भएको दुई सडक परियोजना छन – फिक्कल गुप्ति नयाँबजार सडक र बरबोटे माझगाउँ कोलबोटे सडक। जम्मा १९ कि. मि दुरी रहेको फिक्कल गुप्ति नयाँबजार सडकको काम हाल सम्म ४५℅ मात्र काम सम्पन्न भएको छ भने ५ कि मि दुरी रहेको बरबोटे माझगाउँ कोलबोटे सडकको काम  ३६℅ मात्र समपन्न भएको छ। दुवै सडकको सम्झौता मिति भने ३० जुन २०१८ मा सकिँदै छ।

फिक्कल गुप्ति नयाँबजार सडक खण्डको स्तरोन्नतिको काम एकदमै सुस्त भएको भन्दै सरोकारवालाहरुले आक्रोस समेत व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी अधिकांश सरोकारवालाहरुले ठेकेदारको लापरबाही र जिम्मेवारी बोधको अभावले समयमा काम सम्पन्न हुन नसकेको बताए।

सहभागीहरुको जिज्ञासाको जवाफ दिदै सवारी साधनको चाप र बर्षाका कारण कामले गति लिन नसकेको फिक्कल गुप्ति नयाँबजार सडक खण्डका इन्जिनियर चन्द्र कुमार ओझाले बताए। तर सरोकारवालाहरुले भने सवारीको चाप र बर्षाका कारण देखाएर जिम्मेवारीबाट पन्छिन नपाउने भन्दै कि त समयमा काम सम्पन्न गर्न कि त कारबाहीको भागीदार हुन चेतावनी समेत दिएका छन्। कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमूख गणेश बराल,  प्रदेश सांसदहरु राम बहादुर राना, काजिमान कागते, खिनु लङ्वा लिम्बू, धिरेन्द्र शर्मा रमण दश वटै स्थानीय तहका प्रमुख उपप्रमुख सहित पत्रकारहरुको सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार