फिदिम : पर्यटकीय क्षेत्रहरु भएर पनि पर्यटकको गन्तब्य बन्न नसकेको पाँचथरको हिलिहाङ गाँउपालिकालाई पर्यटकीय गन्तब्यको रुपमा उभ्याउन पाँच दिन लामो महोत्सव सम्पन्न गरिएको छ ।
तत्कालीन लिम्बुवान राज्य अन्तर्गतको याङवरक थुमको राजधानी हिलिहाङ दरबार, पूर्वाञ्चलकै पहिलो गुम्बा आगेजुङ, चर्चित सन्तहरुले तपस्या गरेर ज्ञान प्राप्त गरेको जोरपोखरी, याङवरक थुमले पटक–पटक युद्ध लडेको भोटेगढी जस्ता पर्यटकीय क्षेत्रहरु भएपनि यीनको प्रचार–प्रसार हुन सकेको थिएन । हिलिहाङ गाँउपालिकाको संयोजनमा हिलिहाङ दरबार क्षेत्रमा ५ दिन लामो महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा देश तथा विदेशबाट पयर्टकहरु भित्र्याउने लक्ष्य राखिएको थियो । तर, महोत्सवमा विशेषतः स्थानीयवासीको चाप मात्रै ठूलो देखियो ।
मेची राजमार्गले घेरेको हिलिहाङ क्षेत्र पर्यटकहरुको गन्तब्य बन्न सकेको छैन । राजमार्गसँगै रहेको जोरपोखरी स्थानीय पर्यटक तथा श्रद्धालुको गन्तब्य मात्रै बनेको छ । प्रदेश १ का धेरै स्थानको अवलोकन गर्न सकिने आगेजुङ गुम्बा र भोटेगढीले पर्यटकलाई लोभ्याउन सकेका छैनन् । अझ नेपाल एकीकरणअघिको इतिहास, लिम्बुवान राज्यको सभ्यता र संस्कृतिको गाँथा बोकेको हिलिहाङ दरबार पर्यटक, अध्येता तथा खोजकर्ताहरुको आकर्षण बनिसकेको छैन् ।
हिलिहाङ गाँउपालिकाले गाँउपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचार गर्ने, हिलिहाङ दरबारलाई अध्ययनको केन्द्र बनाउने, स्थानीय लोकसंस्कृतिको प्रचार र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको हो ।
महोत्सवको पहिलो दिन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले महोत्सव उद्घाटन गरे । सोही दिन उनले याङवरक राज्यमा ३० वर्ष शासन गरेरका राजा हिलिहाङ योङहाङको शालिक अनावरण गरे । हिलिहाङ दरबार क्षेत्रको संरक्षणमा सकृय हिलिहाङ फाउण्डेसनले राजा हिलिहाङको शालिक निर्माण गरेको हो । महोत्सवको दोश्रो दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुति गरे । साङ्गीतिक, साँस्कृतिक कार्यक्रममा स्थानीयवासीको ठूलो उपस्थिति थियो ।
तेश्रो दिन सानो पाथीभरा मन्दिर डोबकिले, जोरपोखरी, आगेजुङ गुम्बा हुँदै गोपेटारसम्मको पदयात्रा सम्पन्न गरियो । पदयात्रामा जिल्ला समन्वय समितिका प्रमुख, राजनीतिक दलका नेताहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीयवासी लगायतको सहभागिता थियो । महोत्सव आयोजकले जोरपोखरीदेखि आगेजुङ, गोपेटार, भोटेगढी हुँदै हिलिहाङ दरबार पुग्ने एक दिन पदमार्गलाई आकर्षक पदयात्राको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । महोत्सवको चौथो दिन गाँउपालिका भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरिनुका साथै कलाकारहरुले प्रस्तुति गरे । अन्तिम दिन विभिन्न कार्यक्रमसहित महोत्सव समापन गरियो ।
महोत्सवमा तत्कालीन याङवरक थुमका राजा हिलिहाङ तथा उनको राज्यले प्रयोग गरेका हात हतियारहरु विशेष आकर्षणको रुपमा रहेका थिए । यहाँ ठूलो परिमाणमा हतियार रहेको भएपनि हिलिहाङ तथा याङवरक क्षेत्रका अगुवा सुब्बाहरुले लगेका कारण सिमित मात्रामा मात्रै हतियार राखिएको थियो । ढाल, तरबार, तोप लगायत हतियार प्रदर्शनमा थिए । हिलिहाङ गाँउपालिकामा उत्पादित चिया, राडी, पाखी, दुग्धजन्य उत्पादनहरु, खोर्सानी, कागती लगायतबाट उत्पादित सामग्रीहरु, घरेलु हात हतियारहरु, ढाकाका कपडाहरु तथा जनजाति समुदायका भेषभुषाहरु, पाखन्वेद, बुढो ओखती, हड्चुर, चिम्फिङ, चिराइतो, याङ्बे लगायत जडिबुटीहरु, हाते कागज, बाँसबाट निर्भित सामग्रीहरु, परम्परागत स्थानीय सामग्रीहरु, कपासमा उत्पादित लत्ता कपडाहरु, स्थानीय परिकारहरु लगायत प्रदर्शनका लागि महोत्सवमा राखिएको थियो ।
महोत्सवको मुख्य आकर्षण एवं संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य लिइएको हिलिहाङ दरबारको भने भग्नावशेष मात्रै बाँकी छ । उक्त दरबार तिब्बतबाट इटा ल्याएर बनाइएको जानकार तथा स्थानीय जेष्ठ नागरिकहरुको भनाई छ । उक्त दरबार क्षेत्रको २०७१ सालमा पुरातत्व विभागले उत्खनन गरेको थियो । विभागले उक्त दरबार क्षेत्रलाई पुरातात्विक क्षेत्रको रुपमा सूचिकृत समेत गरेको छ । तर, स्थानीय जानकारहरु दरबार क्षेत्रको उत्खनन गर्ने क्रममा दरबार क्षेत्रका पुरातात्विक तथा ऐतिहासिक प्रमाणहरु नष्ठ भएको वताउँछन । यस्तै राजनीतिक रुपले प्रेरित भएर यस क्षेत्रका हात हतियारहरु गायब पारिएको सरोकारवालाको आरोप छ ।
महोत्सवले हिलिहाङ गाँउपालिका क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा स्थापित गर्न सघाउ पु¥याएको सरोकारवालाहरुको भनाई छ । सांसद् आशारत्न जबेगूले हिलिहाङ अव पर्यटकीय गन्तब्यको रुपमा स्थापित हुनेमा आफू विश्वस्त रहेको वताउँछिन् । पर्यटक भित्र्याउने पूर्वाधारको अभाव पूर्ति गर्नुपर्नेमा सांसद् जवेगूको जोड छ । उनले यातायात सुगमताका कारण यस क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन कठीन नरहेको उल्लेख गरिन । एमाले पाँचथर अध्यक्ष राजकुमार भण्डारी धार्मिक, ऐतिहासिक, पुरातात्विक स्थलहरुको संगम रहेको हिलिहाङ पर्यटकीय गन्तब्य बन्ने वताउँछन् ।
काँग्रेस क्षेत्रीय सभापति एवं स्थानीय तह निर्वाचनमा गाँउपालिकाको अध्यक्ष पदमा प्रत्यासी समरबहादुर अधिकारी हिलिहाङ क्षेत्रको आकर्षण महोत्सवबाट झल्किएको वताउँछन् । गाँउपालिका अध्यक्ष भूवानीप्रसाद लिङ्देनले उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने तथा पर्यटकीय विकासबाट स्थानीयको आय आर्जनमा वृद्धि गर्ने योजनाअनुसार महोत्सव सम्पन्न गरिएको वताए । महोत्सव सम्पन्न गर्न करिब ५० लाख रुपैँया लाग्ने तथा महोत्सवमा करिब १० हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको थियो ।