देशैभर बदली र वर्षा

काठमाडौं : मनसुनी गतिविधि सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण सोमबार देशैभर बदली र वर्षा भएको छ ।पूर्वमनसुन (प्रि–मनसुन) गतिविधिसँगै बाहिरबाट आएको वायुले बदली र वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनकाअनुसार भारतको उत्तर प्रदेश र विहार क्षेत्रमा न्यूनचापीय क्षेत्रको विकास तथा देशको पूर्वी क्षेत्रमा प्रवेश गरेको बंगालको खाडीको जलवाष्पयुक्त हावा र पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभावले समग्र भू–भागमा असर पुगेको छ । जसका कारण आइतबार रातिदेखि सोमबार दिउँसोसम्म बदली र वर्षा भएको हो ।

अहिले वर्षा रोकिएपनि मध्य र पूर्वी भेगमा बदली रहेको तथा सोमबार राति र मंगलबार (भोलि) खासगरी पहाडी भेगमा वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ ।रातिदेखि सुरु भएको मौसमी प्रणालीमा बुधबारबाट क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौंमा २१ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी नेपालगन्जमा ३९, वीरेन्द्रनगरमा ३७, दाङमा ३५, सिमरामा ३२, पोखरामा ३५ मिलिमिटर वर्षा भएको छ ।यस्तै, विराटनगरमा २२, ओखलढुंगामा २० र सबैभन्दा कम दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ ।सोमबार काठमाडौंको न्यूनतम् १५ र अधिकतम् तापक्रम २६ डिग्रिसेल्सियस रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार