काठमाडाैं : विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै नेपाल आज नेपाल बन्दको घोषणा गरेको छ ।
विप्लवले हिजो एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोधको गर्नु पर्ने अनिवार्यता ठान्दै बन्दको घोषणा गरेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध नेपाल बन्दका रुपमा गरिएको छ ।’
विप्लवले मोदीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको राष्ट्रघात पटाक्षेप भएको दाबी गरेका छन् ।
यस्तो छ विप्लवको विज्ञप्ति
हाम्रो पार्टी नेपाल र नेपाली जनताको पूर्ण मुक्तिका लागि निरन्तर संघर्ष गर्दै आएको छ । यसरी संघर्ष गर्दैगर्दा हाम्रा कैयौं नेता र कार्यकर्ताहरुलाई यो सरकारले दिनदिनै गिरफ्तार गर्ने, बेपत्ता बनाउने, चरम यातना दिइरहेको छ । यसरी एकातिर यो दलाल संसदीय व्यवस्थाका पहरेदारहरुले उनीहरुले आफै बनाएको संविधानमा किटान गरिएका जनताका अधिकारहरुलाई पनि कुल्चि रहेका छन् भनें अर्कोतिर आफूलाई राष्ट्रवादी भन्ने गरेको यो केपी प्रचण्डको सरकारले नेपालको राष्ट्रियता, राष्ट्रिय खण्डतामा गम्भीर आघात पुग्ने काम गरिराखेको छ ।
यसैको पछिल्लो ृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त, भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।
आज मोदीको भ्रमण र केपी नेतृत्वको सरकारको मोदीका सामू परेको लम्पसारको सामाजिक सञ्जालमा मात्र नभएर देशैभरी प्रतिवाद भैराखेका छन् । जनताको स्तर र केही संघ÷संगठनहरुले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ ।
मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात, नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोधको गर्नु पर्ने अनिवार्यता ठान्दै हाम्रो पार्टीले यही वैशाख ३० गते आइतबारका दिन नेपाल बन्दको घोषणा गरेका छ ।
केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध नेपाल बन्दका रुपमा गरिएको छ । उक्त नेपाल बन्दलाई सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीको सहयोग, समर्थन र ऐक्यबद्धताको अपेक्षा राखेका छौं ।
बन्दमा कहाँ के भयो
आजको नेपाल बन्दको आह्वान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता भएको भन्दै नेकपाले नेपाल बन्दको आह्वान गरेको हो ।
बन्दकर्ताले आइतबार विहानै देखि सडकमा गुडिरहेका सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड गरेका छन् । आज बिहानै राजधानी काठमाडौँमा दुई ट्याक्सीमाथी तोडफोड गरेका छन् ।
त्यस्तै झापा जिल्लाको मेचिनगर नगरपालिकामा को सुर्योदय यातायात प्रा।लि।को बसमा अज्ञात समूहले बम विस्फोट गराएका छन् ।
बिस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यस्तैगरी झापाको बुट्टाबारिमापनि बम फेला परेको छ । त्यस्तै झापाकै सुरुङ्गामा बम विस्फोट भएको छ । बिस्फोटबाट क्षति भने नभएको जानकारी प्राप्त भएको छ ।
बन्दकर्ताहरुले झापामा चल्ने लामो र छोटो दूरीमा सवारी साधान चलेका छैनन् । त्यस्तै माइखोलाको पुलमा बन्दकर्ताहरुले अबरोध राखेपछी प्रहरीले गाडी चलाउन दिएको छैन । झापकै सितापुरीमा पनि बन्दकर्ताहरुले एउटा बस र एउटा ट्रकमा ढुङ्गा प्रहार गरेका छन् ।
त्यसैगरी देशभर विहानैबाट सवारी साधान चलेका छैनन् । बन्दकर्ता राजमार्ग र छोटो दुरीका सडकमा निस्केर अवरोध गरिरहेका छन् ।



















































