यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष कर्माचार्यसहित पाँचजना पक्राउ

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन् ।

सरकारले यातायात क्षेत्रमा जारी ‘सिन्डिकेट’ प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौंको नयाँबानेश्वरको एक होटलबाट शनिबार पक्राउ गरेको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र एक व्यवसायीसहित पाँचजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

पक्राउ परेका पाँचैजनालाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ ।

सिन्डिकेट खारेज गर्ने सरकारको नीतिविरुद्ध लागेकाले उनीहरुलाई पक्राउ गरिएको पोखरेलले बताए ।

सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रामबहादुर थापाले यातायात संघ र समितिका पदाधिकारीसहित सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार