माईभ्याली गोल्डकप : उपाधिका लागि मनाङ र थ्रीस्टार भिड्दै

नयाँ बुलन्द

इलाम : यस वर्षको पहिलो सिजनको चौथो अन्र्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको उपाधिका लागि सोमबार थ्रीस्टार र मनाङ मस्र्याङदी भिड्दैछन् ।

माईभ्याली गोल्डकपमा पहिलो पटक यी दुई टिम आमने सामुन्ने हुँदैछन् । दुवै टिम सिजनको सुरुवातको प्रतियोगिता जितेर उपाधि चुम्ने दाउमा छन् । थ्रीस्टारले मनाङ विरुद्ध लगातार छैठौं जित रेकर्ड कायम गर्ने दाउमा छ भने मनाङले यसअघिका हारको वदला लिदैं इतिहास कायम गर्ने दाउमा छ । यसअघि बुटवलको दुई र इटहरीको एक सहित ५ भेटमा सबै थ्रीस्टारले जितेको थियो ।

यसपटको माईभ्याली दुवै टिमले आफ्नो पक्षमा पर्ने दावी गरेका छन् । आइतबार सदरमुकाममा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमले उपाधिका लागि आफू नै सक्षम रहेको दावी गरे ।

मनाङका प्रशिक्षक फुजा टोपेले मनाङका खेलाडीहरु सबै रुपमा उपाधि जित्न सक्षम भएको बताए । ‘मैले भारतको मोहम्मदिन क्लबमा हुँदादेखी नै नेपालको खेल हेरेको थिएँ । मनाङ युवा खेलाडिले भरिएको अब्बल टिम हो । तसर्थ हामीलाई उपाधि हत्याउन कुनै शंका छैन’ उनले भने ।

यता थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले इतिहासले खेलको आधार तय नगर्ने बताए । ‘फुटबल खेलमा इतिहासले हुन्न एउटा गल्तीले पनि खेलको नतिजामा प्रभाव पर्न सक्छ । मनाङ युवा खेलाडीले भरिएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ’ उनले भने । कप्तान निराजन खडकाले शारिरिक र मानसिक रुपमा आफ्नो टिम उपाधिका लागि तयार भइसकेको बताए ।

फाइनल पुग्न मनाङले पहिलो संस्करणको च्याम्पियन त्रिभुवन आर्मीलाई १–० र थ्रीस्टारले सशस्त्र प्रहरीको एपिएफलाई २–० गोल अन्तरले सेमिफाइनलबाट पाखा लगाएको थियो । माइभ्याली गोल्डकपमा दोश्रो पटक सहभागीता जनाएको थ्रीस्टार पहिलो संस्करणमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मीसँग फाइलनमा सडनडेथमा ७–६ गोल अन्तरले पराजित बनेको थियो । मनाङ भने माईभ्यालीमा फाइनल पुगेको पहिलो पटक हो ।

फाइनलमा मनाङ नेपाली राष्ट्रिय टिमका कप्तान विराज महर्जनको कप्तानीमा अन्जान बिष्ट, विशाल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ सहित मैदान उत्रदैछ । थ्रीस्टार पनि निराजन खडकाको कप्तानीमा नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्ती मगर, सुनिल बल, एलन न्यौपाने र ३ जना विदेशी अफ्रिकी मुलका नाइजेरियन खेलाडी सहित मैदान उत्रनेछ ।

माइभ्याली फुटबल क्लबको आयोजनामा ६ वैशाखदेखि सञ्चालित प्रतियोगितामा नेपाल, भारत र बंगलादेशकाका गरी १२ टिमको सहभागिता थियो  । पूर्वी पहाडि क्षेत्रकै सर्वाधिक राशी मानिएको प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन्  । त्यस्तै उत्कृष्ठ खेलाडिले १५० सिसिको यामाहाको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार