काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पौने तीन घण्टा वार्ता भएको छ । पार्टी एकता अन्तिम चरणमा पुर्याएका दुवै नेताले कार्ल माक्र्स जयन्तीमा एकता घोषणा गर्ने गरी वार्तालाई निर्णायक मोड दिएका हुन् । शनिबार बालुवाटारमा भएको वार्तामा ओली र दाहालबीच सबै विषयको टुंगो लागे पनि आफ्नै पार्टीभित्र सहमतिबारे मनाउन केही दिन प्रयास गर्ने सहमति भएको छ ।
‘दुई नेताबीच एकताको विषयमा सबै कुरा मिल्यो, तर दुवै पार्टीभित्र मनाउनका लागि दुई दिनको समय लिने कुरा भएको छ,’ खुमलटार स्रोतले भन्यो । स्रोतका अनुसार केन्द्रीय समितिको आकार, पोलिटब्युरो, स्थायी कमिटी, प्रदेश र जिल्ला कमिटीको आकारबारे समेत दुई नेताबीच सहमति भएको छ । तर, अहिलेसम्म माओवादीतर्फबाट केन्द्रीय समितिको आकार एकिन बुझाउन नसक्दा केही समस्या परेको छ ।
माओवादीले यति नै संख्यामा केन्द्रीय कमिटी रहेको बताएको छैन । दुई नेताबीचको सहमतिलाई पार्टीभित्र सहमत गराउनसके आगामी २२ वैशाखमा पार्टी एकता हुनेछ । तर, एमाले अध्यक्ष ओलीमाथि पछिल्लो समय हैसियतभन्दा बढी लचिलो बनेको भन्दै केही नेताहरूले आवश्यकताभन्दा बढ्ता झुक्ने काम नगर्न दबाब परेको छ । शुक्रबारको वार्तामा ओलीले पार्टीभित्रको दबाबबारे दाहाललाई सविस्तार बताएका छन् ।
‘पार्टी एकता आत्मसमर्पण गरेर हुँदैन भन्ने तपाईंकै कुरामा हामीले विशेष ख्याल गर्नुपर्नेछ, एमाले र माओवादी दुवैतर्फका नेता कार्यकर्ताले आत्मसमर्पण गरेर एकतामा हस्ताक्षर गर्यो भन्ने महसुस हुनु हुँदैन, दुवैतिरको सम्मान ख्याल गर्नुपर्छ,’ दाहालसँग ओलीको भनाइ उधृत गर्दै बालुवाटार स्रोतले भन्यो । दुई नेताबीच यसअघि नै लेनिन जयन्तीमा एकता हुन नसकेपछि माक्र्स जयन्तीको अवसर पारेर २२ वैशाखमा एकता गर्ने गरी काम अघि बढाउने सहमति भइसकेको छ ।
एकताको विषयमा दुई नेताबीच सहमति भइसके पनि सुरुका दिनमा माओवादीभित्रबाट अवरोध आएको थियो । केही दिनयता एमाले नेताहरूले सम्मानजनक एकताको परिभाषा खोज्दै एमाले–माओवादीको हैसियत के हो भन्दै अध्यक्ष ओलीमाथि प्रश्न तेस्र्याएका छन् । एकता भाँडिए आफैँमाथि सबैले दोष थोपर्ने पूर्वसंकेत पाएका ओलीले एकताका लागि देखाएको उदारतालाई आवश्यकताभन्दा बढी लचिलो बनेको भन्दै साइजमा राख्न दबाब बढाइएको छ ।
माओवादी अध्यक्ष दाहालबाटै प्रधानमन्त्री ओली एकताका लागि सब काम गर्न तयार रहेको र आफूहरूले सोचेभन्दा निकै बढ्ता उदार बनेको बताएपछि एमाले नेताहरूले दबाब बढाएको स्रोतको भनाइ छ । ‘तपाईंहरू र मैले सोचेभन्दा पनि ओलीजी लचक हुनुभयो, कसरी मिलाउने भन्ने समस्या नै रहेन, उहाँले हामीले चाहेको भन्दा बढी लचकता देखाउनुभयो भन्ने प्रचण्डको कुरा के हो ?’ भन्दै केही युवा नेताहरू आन्तरिक बैठकमा समेत लागेको स्रोतले बतायो ।
पार्टीभित्रको यही अवस्थाबारे ओली र दाहालबीच शुक्रबार पौने ३ घण्टा वार्ता भएको हो । अपराह्न सवा तीन बजेदेखि ६ बजेसम्म दुई नेताबीच एकताको विविध पाटो र पार्टीभित्र आइपर्ने समस्या र चुनौतीबारे छलफल भएको हो । ‘छलफलले निकास दिएको अनुमान गरिएको छ,’ बालुवाटार स्रोतले भन्यो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्रका शीर्ष नेतासँग सहमतिबारे जानकारी गराई सुझाव लिएपछि अन्तिम रूप धारणा गर्नेछ । आजको सौर्य दैनिकमा खबर छ ।






















































